अधिवक्ता डा.खनाल भन्छन—‘क्षमताभन्दा चारगुना बढी वन्दी’ नै वाल सुधार गृहको घटनाको मुख्य कारण

183

बलराम प्यासी
काठमाण्डौ । अधिवक्ता डा.प्रभाकर खनालले भदौ ३ गते वाल सुधार गृह सानोथिमी भक्तपुरमा भएको घटनाको मुख्य कारण ७० जना क्षमताको सुधार गृहमा २९८ जना अर्थात ४ गुणा भन्दा बढी वन्दी भएको बताएका छन् ।

विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका र पुर्पक्षमा रहेका वाल विझ्याँईकर्ता (वाल अभियुक्त र वाल अपराधी) १८ वर्ष लागेपछि वयष्क उमेरका कैदी वन्दी सरह कारागारमा सार्नुपर्ने भनेर कानुनमा स्पष्ट उल्लेख नभएकोले ‘नावालक बन्दी’ भनिने उनीहरुको कैद भुक्तान गर्दाको उमेर २८÷३० वर्षसम्म पुग्ने गरेको अधिवक्ता डा.खनाल बताउँछन ।

यहि कारणले १० देखि २८ वर्षसम्मका वाल विझ्याँईकर्ताहरु सो सुधार गृहमा बस्न वाध्य भएको र उमेरबारेको अस्पष्ट कानून पनि अर्काे कारण हो, उनले भने ।

डा. खनाल ‘द्वन्दमा परेका वालवालिका सम्वन्धि कानूनको वास्तविकता’ विषयमा विद्यावारिधी गरि वालवालिकाको कानूनी हक र अधिकारको पक्षमा वहस पैरवी र वकालत गर्दै आएका छन् । कानूनमा विद्यावारिधि गर्ने उनी भक्तपुर जिल्लाकै पहिलो अधिवक्ता पनि हुन् । विद्यावारिधि गर्ने क्रममा उनले सोही सुधार गृहमा रहेका वाल विझ्याँईकर्ताको विषयमा अध्ययन अनुसन्धान पनि गरेका थिए ।

कानुनीरुपमा १० देखि १७ वर्ष ३६४ दिनसम्मको उमेरका कैद ठेकिएका या पुर्पक्षमा रहेका वाल विझ्याँईकर्ता मात्रै वाल सुधार गृहमा बस्न पाउँछन् । वयस्कले गर्ने गरेका अपराधको सजायँको तुलनामा उनीहरुलाई आधामात्रै सजायँ हुने कानुनी प्रावधान रहेकोले पछिल्लो समयमा वाल विझ्याँईकर्ताको संख्या बढीरहेको छ ।


वाल सुधार गृह सानोथिमीमा वलात्कार मुद्धामा कैद भुक्तान गरिरहेका वाल विझयाँईकर्ता (कमल बस्नेत)कोे आइतबार रहस्यमय मृत्युपछि भड्किएको हुलदंगा र झडपमा प्रहरीले अश्रुग्याँस र तीन राउण्ड गोली चलाउनु परेको थियो ।

आइतबार बस्नेतको अस्वभाविक मृत्युको घटनालाई सुधार गृह व्यवस्थापन र प्रहरी प्रशासनवीच समन्वय नभएको र दुवै पक्षले सो त्यसलाई हलुका रुपमा लिएकोले सोमबार गोली नै चलाउनु पर्ने अवस्था आएको उनको ठम्यार्ई छ ।

‘सुधार गृहबाट बाहिर निस्केका वाल विझ्याँईकर्तालाई समात्न प्रहरी प्रशासनले गोली र अश्रुग्याँस चलाउनु दुर्भाग्यपुर्ण हो’—अधिवक्ता डा.खनाल भन्छन् ।

प्रहरी प्रशासनले कमलको मृत्यु विरामी भएको र स्वभाविक भएको बताएतापनि उनका आफन्तले मृतकको शरीरमा निलडाम भएको र मृत्यु अस्वभाविक भएको भन्दै मंगलबारसम्म पनि शव बुझ्न अस्विकार गरिरहेका छन् ।

नेपालका ७४ जिल्लामा रहेका कारागारहरुमध्ये केही कारागारमा कैदी वन्दी र प्रहरी प्रशासनवीच झडप हुने गरेता पनि वाल सुधार गृहमा भएको यो नै पहिलो घटना हो । सानोथिमीसहित देशभरी यस्ता ८ वटा वाल सुधार गृह छन् ।

न्यूनतम सुविधावीहिन वालवालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपाल संस्थाको हातामा निर्माण गरिएको यो वाल सुधार गृह नेपालको पहिलो सुधार गृह हो र गृह मन्त्रालयको निर्देशनमा युसेप नेपालले यसको व्यवस्थापन गर्दै आएको छ ।

२०५७ सालताका स्थापित सो सुधार गृहको क्षमता ७० जना मात्रै हो । त्यहाँ अहिले ४३ जना वालिका-किशोरी छन भने बाँकी २५५ जना वालक÷किशोर वाल विझयाँईकर्ता छन् । अर्थात क्षमताभन्दा ४ गुणा बढी वन्दी छन् ।

२९८ जना वाल विझयाँईकर्ताको लागि एकजना मात्रै मनोचिकित्सक÷मनोवीज्ञ या परामर्शदाता छन भने बढ्दो उमेरका वालवालिका र किशोर किशोरीको मनोविज्ञान अनुसारको कुरा बुझाउने अरु कोही नभएको अधिवक्ता डा.खनालको भनाई छ ।

अर्काे कुरा क्षमताभन्दा चार गुणा बढी संख्या हुने वित्तिकै उनीहरुको भौतिक अवस्था, खानपान, स्वास्थ्य, शिक्षा र अन्य दैनिकी विषयमा वाल सुधार गृह व्यवस्थापनले ध्यान दिएर समयमै सम्वोधन गर्न नसक्नु घटनाको अर्काे मुल कारण भएको अधिवक्ता डा.खनाल बताउँछन् ।

सुधारगृहमा रहेका वाल विझ्याँईकर्ताको संख्याको तुलनामा सुरक्षाकर्मी कम हुनु र सुधारगृह रेखदेख गर्ने जिम्मेवार व्यक्तिको लापरवाही पनि घटना हुनुको अर्काे कारण भएको उनको विचार छ ।

सानै उमेरमा जान अन्जानमा भए गरेका अपराधको कैद भुक्तानका लागि वाल विझ्याँईकताको लागि सर्वाेच्च अदालतको आदेशपछि नेपाल सरकारले सानोथिमीमा पहिलो वाल सुधार गृह स्थापना गरेको हो ।

हाल युसेपले भक्तपुरको सानोथिमीको साथै कास्कीको सराङ्गकोटमा र मोरङ्गको विराटनगरमा रहेको वाल सुधार गृह सञ्चालन गरिरहेको छ भने पर्सा, डोटी, रुपन्देही, मकवानपुर र बाँकेमा गृह मन्त्रालय आफैंले सञ्चालन गर्दै आएको छ । देशभर १ हजार १३९ जना वाल विझ्याँईकर्ता रहेको कारगार व्यवस्थापन विभागको तथ्यांक छ ।

१० देखि १७ वर्ष ३६४ दिनसम्म उमेरका वालवालिकाले अपराध गर्ने गरेता पनि भविष्यमा उनीहरुलाई कुनै समस्या नहोस् भनेर अदालतले उनीहरुको वास्तविक परिचय गोप्य राखि संकेत नम्बर र वास्तविक नाम परिवर्तन गरि मुद्धा चलाउने र फैसला गर्ने गर्छ ।