घर बनाउँदै हुनुहुन्छ ? सिमेन्टको उत्पादन मिति र प्रयोग गरिसक्नुपर्ने अवधि कसरी थाहा पाउने ?

643

उपभोक्ताले सिमेन्ट किन्दा सबैभन्दा पहिले उत्पादन मिति थाहा पाउन यसको ब्याच नम्बर हेर्नुपर्छ। कम्पनीले उत्पादन गर्दा बोरामा वर्षमा ५२ हप्ताअनुसार ५२ वटा ब्याच नम्बर राखेको हुन्छ। २०७३ वैशाख १ गतेखि ७ गते सम्मको समयमा उत्पादित सिमेन्टमा २०७३र१ लेखिएको हुन्छ। त्यस्तै यदि बोरामा २०७२र५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७२ चैतको अन्तिम हप्तामा उत्पादित हो भन्ने बुझ्नुपर्छ।

विनाशकारी भूकम्पका कारण भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य अघि बढिरहँदा सिमेन्टको माग पनि बढ्दो छ।

उपत्यका लगायत ३२ जिल्लामा क्षति भएका ६ लाख भन्दा बढी भौतिक संरचना पुनर्निर्माण गर्नुपर्दछ। भूकम्पबाट अति प्रभावित १३ जिल्लामा अहिले सरकारले उपलब्ध गराएको अनुदान रकम र आफ्नै खर्चमा निर्माण कार्य तिव्रताको साथ सुरु भएको छ।

सरकारले पनि अति प्रभावित जिल्लामा भूकम्प प्रतिरोधक भवन तथा घर निर्माणका लागि २५ सय भन्दा बढी प्राविधिक इन्जिनियर खटाइसकेको छ। सरकारले भूकम्पले भत्काएको संरचना निर्माणको लागि सर्वसाधरण जनतालाई भूकम्प प्रतिरोधक घर टहरा निर्माणका लागि किस्ताबन्दीमा रकम समेत उपलव्ध गराउन थालेको छ।

कतिपय भूकम्पपीडितले सरकारले पैसा नदिए पनि पुरानै शैलीमा घर बनाइ सकेका छन्। सरकारले भने भूकम्प प्रतिरोधक घर नबनाउने अर्थात तयारी १७ घरको मोडेल अनुसार नबनाए अनुदान रकम नपाउने भनेपछि कतिपय पुनः भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सोच सोचमा छन्।

कुनै पनि भौतिक संरचना निर्माण गर्दा सिमेन्ट आवश्यक हुन्छ। यसको गुणस्तर र मात्राले संरचनाको बलियोपन निर्धारण गर्छ।

अन्य खाद्य सामग्री जस्तै सिमेन्ट पनि उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरी सक्नुपर्छ। यसको पनि मिति र प्रयोग गर्ने अवधि सकिन्छ। धेरैले यसको बारेमा ख्याल नराख्दा निर्माण गरिएका संरचनाहरु कमजोर हुने गरेको छ।

हाल नेपाली बजारमा स्वदेशी र विदेशी गरी झण्डै ३० भन्दा बढी कम्पनीले सिमेन्टको उत्पादन गरी रहेका छन्। यसरी उत्पादन गरिएका सिमेन्टहरु मध्ये धेरैमा दैनिक उपभोग्य गर्ने सामानमा जस्तो प्रत्यक्ष रुपमा उत्पादित र म्याद सकिने मिति लेखिएको हुँदैन। तर यसमा ध्यान दिएर खोजियो भने सो मिति थाहा पाउन सकिन्छ।
कम्पनीले सिमेन्ट उत्पादनको समयमा बोरामा ब्याच नम्बर उल्लेख गर्छ। यही ब्याच नम्बरका आधारमा सिमेन्टको उत्पादन र प्रयोगका लागि अन्तिम मिति पत्ता लगाउन सकिने नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्व बाबु पुडासैनीले बताए।

उपभोक्ताले सिमेन्ट किन्दा सबैभन्दा पहिले उत्पादन मिति थाहा पाउन यसको ब्याच नम्बर हेर्नुपर्छ। कम्पनीले उत्पादन गर्दा बोरामा वर्षमा ५२ हप्ताअनुसार ५२ वटा ब्याच नम्बर राखेको हुन्छ।

जस्तै २०७३ वैशाख १ गतेखि ७ गते सम्मको समयमा उत्पादित सिमेन्टमा २०७३र१ लेखिएको हुन्छ। त्यस्तै यदि बोरामा २०७२र५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७२ चैतको अन्तिम हप्तामा उत्पादित हो भन्ने बुझ्नुपर्छ।

सिमेन्ट सही तरिकाले स्टोर गरेर राखिएको छ भने उत्पादित मितिको ६ महिनाभित्रमा प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ। त्यस्तै, सिमेन्ट किन्दा ब्याचनम्बर हेरेर पछिल्लो समयमा उत्पादन गरिएको किन्नु राम्रो हुने पुडासैनीले बताए। जहिले पनि ब्याचनम्बर हेरेर मात्र सिमेन्ट किन्ने हो भने म्याद सकिएको सिमेन्ट लिनबाट जोगिन सकिन्छ। यसका लागि उपभोक्ता आफैं सचेत हुनुपर्छ।

त्यस्तै किन्ने बेलामा पसलले सिमेन्ट कसरी स्टोर गरेर राखेको छ भन्नेमा पनि ध्यान दिनुपर्ने विभागको सुझाव छ। यो कुराको सचेतना आवश्यक रहेको पुडासैनीले बताए। चिसो ठाउँमा राखिएको सिमेन्टमा ओस आउने र डल्ला पर्ने हुनसक्छ।

नेपाल गुणस्तर चिन्ह प्राप्त नेपाली सिमेन्ट सबैलाई विभागले ३३ ग्रेडको मान्यता प्राप्त प्रमाणपत्र दिएको छ। कम्पनीले पनि उत्पादन समयमा उक्त सिमेन्टमा गुणस्तर पुरा भए नभएको परीक्षण गर्नुपर्छ। यदि कम्पनीले तोकिएको मापदण्ड पुरा नगरेमा ईजाजतपत्र खारेज समेत गर्न सकिने विभागले जानकारी दिएको छ।

यसअघि विभागले २०७२ चैत महिनादेखि उत्पादित सबै सिमेन्टको बोरामा स्पष्ट रुपमा उत्पादन मिति र प्रयोग गर्नुपर्ने अन्तिम मिति राख्ने बताएपनि अहिलेसम्म यो लागू् गर्न सकेको छैन। विभागका महानिर्देशक पुडासैनीले प्राविधिक समस्याको कारणले चैत महिनादेखि लागू गर्न नसकेपनि अब आउने आर्थिक वर्ष देखि लागू गर्ने तयारी रहेको बताए।

विभागले गरेको तयारीमा सिमेन्ट उत्पादक कम्पनीहरुले पनि स्वागत गरिसकेको छन्।