काठमाडौं। नेपाल प्रेस युनियनको आयोजनामा वैशाख २७ गतेबाट सुरु भएको लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट मंगलबार २० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। समिटको उद्घाटन ललितपुरमा भए पनि समापन लोमन्थाङमा घोषणा पत्र जारी गर्दै गरिएको हो।
समिटको घोषणा पत्र युनियनका अध्यक्ष शिव लम्सालले लोमन्थाङमा आयोजित कार्यक्रममा सार्वजनिक गरे। उनले समिटमा नेपालको पत्रकारिता, लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटबारे गहन छलफल भएको बताए।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) को सहकार्यमा सम्पन्न समिटमा भारत, भुटान, बंगलादेश, श्रीलंका, बुलगेरियालगायतका देशका सञ्चारकर्मीहरू सहभागी थिए। करिब १४० स्वदेशी तथा विदेशी पत्रकारहरूको सहभागिता रहेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।
समिटमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र जलवायु संकटबारे व्यापक छलफल भयो। उपराष्ट्रपतिबाट उद्घाटन गरिएको समिटमा अन्तर्राष्ट्रिय पत्रकारहरूले पत्रकार सुरक्षा र मिडिया स्वतन्त्रतामाथिको बढ्दो खतबारे सामूहिक धारणा राखेका थिए।
घोषणा पत्रका मुख्य बुँदाहरू
-
लोकतन्त्रलाई विकासको अपरिहार्य आधार मानी अभिव्यक्ति, प्रेस तथा सूचनाको अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड।
-
लोकप्रियतावाद, अतिवाद र खराब शासनबाट लोकतन्त्रमा उत्पन्न खतरालाई चिन्नु र नागरिक स्थान सुदृढ गर्न आह्वान।
-
डिजिटल साक्षरताको प्रवर्द्धन र स्वतन्त्र मिडिया प्रणाली सुदृढ गर्न कानुनी र नीतिगत समर्थन।
-
जलवायु संकटलाई मानव अधिकार र सूचनामा पहुँचसँग जोडेर क्षेत्रीय तथा विश्वव्यापी चुनौतीका रूपमा सम्बोधन।
-
कालीगण्डकी करिडोर निर्माण र कोराला नाका सञ्चालनमा संघीय सरकारको ध्यानाकर्षण।
-
मुक्तिनाथ, दामोदर कुण्ड र कैलाश मानसरोवरबीच धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनको पहल।
लोमन्थाङ गाउँपालिका अध्यक्ष टाँसी नोर्बु गुरुङले जलवायु परिवर्तनसम्बन्धी विषय समावेश गरेकामा आयोजकलाई धन्यवाद दिए। सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू, वरिष्ठ पत्रकारहरू, राजनीतिक विश्लेषकहरू र पूर्व सञ्चारमन्त्रीहरूको पनि सहभागिता थियो।