माटोलाई माया गर्न सिकौं भन्दै विश्व भूसंरक्षण दिवस मनाईदै

952

अगस्त ८ तारिखका दिन विश्वभरि भूसंरक्षण दिवसका रुपमा मनाइन्छ ।
बढ्दो मरुभूमिकरणले ब्यापक असर कम गर्नकालागि माटोलाई माया गर्न सिकौं भन्दै यो दिवस मनाईने गरिएको छ ।

छोटो समयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि अनावश्यक हानीकारक विषादी तथा प्रबिधीले कृषिगर्ने चलन, अनेक खानीको दोहन र अव्यबस्थित प्लटिगं लगायतका गतिविधिले दिनानुदिन भूमिको गुणस्तर घटाइरहेको छ । जमिन सकिदो अवस्थामा छ ।

बढ्दो तापक्रम, जलवायू परिवर्तनका असरहरू हामी यतिकै महशुस गर्न सक्छौं । सेताम्य हुने हिमश्रृंखलाहरू कालापत्थर हुँदै जानू, वर्षा कम हुने ठाउँमा बढि, बढि हुने ठाउँमा कम हुनु, गर्मी याममा चिसोको अनुभूती तथा चिसोमा समेत गर्मीको अनुभूति हुँदै गईरहेका छन् ।

भूमिको संरक्षण गरेर दीर्घकालिन भविष्य निर्माणकालागि आज विश्वभर बिभिन्न कार्यक्रम र भेला आयोजना गरिन्छ ।

संसारमा सबै कुराहरु भूमिसँगै गाँसिएको छ, स्मरण रहोस् विश्वका ठूल्ठूला बिकास निर्माण र आविष्कार गर्न सक्ने प्रबिधीले अहिलेसम्म एक चिम्टी माटो भनें बनाँउन सकेको छैन् । माटो अर्थात भूमि र यसको प्राकृतिक अवस्थिती प्रकृति र मानव सभ्यतामा अत्यन्त महत्वपूर्ण छ ।

विश्वमा जनसंख्या वृद्धि भएर अब आउने सन् २०५० सम्ममा अन्न र पानीको आवश्यक्ता अहिलेको भन्दा दोब्बर बढ्ने तथ्याङ्क छ । तथापि भूमिको असंवेदनशिल दोहनले अन्न र पानीको उपलब्धता दिनदिनै घट्दैगएको छ । संयूक्त राष्ट्र संघको प्रतिवेदन अनुसार लगभग विश्वभरिका १ दशमलव ५ अरब मान्छेहरु मरुभूमिकरण, अल्पवृष्टि या अनावृष्टि लगायत बिभिन्न भूमि सम्बन्धि प्रकोपका शिकार भएका छन् ।
यसपालीको भूमि संरक्षण दिवसको मुख्य मुद्दा नै ग्रामिण परिवेशमा यूवा र रोजगारमैत्री भूमिको उपलब्धता रहेको छ ।

अन्य बिभिन्न तथ्याङ्कका अनुसार लगभग ५० करोड हेक्टर उब्जाउ भूमिहरु अहिले मरुभूमीमा परिणत भएका छन् र यो मरुभूमिकरणको गति बढ्दो क्रममा छ । सिमसार लगायतका क्षेत्रहरुको संरक्षण अनि वन, नदी, खोलानालाहरुको संरक्षण हुन नसक्दा पृथ्वी मरुभूमिकरणमा परिणत हुँदैगएको हो ।

पृथ्वीलाई भोको र प्यासी ग्रह हुनबाट जोगाउन र हरीतग्रह बनाउन भूमिको संरक्षण जरुरी छ । आँउदा पुस्ताले प्रकृती र उब्जनी सहितको उत्पादक पृथ्वी हातमा पाउन पर्दछ ।

नेपालमा पनि कृषीयोग्य जमिनलाई घडेरीमा परिणत गर्ने चलन बढ्दो छ, डाँडाका डाँडा ताछेर अनि सम्याएर प्लटिङ्ग गर्ने चलन बढ्दो छ । बाक्ला जङ्गलहरु घडेरी र क्रमशः नयाँ शहरको रूपमा परिणत हुन थालेपछि भूमिको अवस्था कस्तो छ भन्ने बुझ्न सकिन्छ । घरका छाना भन्दा त रोटीका पाप्रा र दुई गाँस अन्न नै बाँच्नकालागि जरुरी छ ।

मैथिल नगरी जनकपुरमा सुकेका पोखरी माथिको जग्गा अतिक्रमण, काठमाण्डौं उपत्यकाको घट्दो देवालय, पोखरी र कुवाँहरु मिचेर बनाइएका घडेरी र घरहरु, घट्दो चारकोशे झाडी, प्राकृतिक श्रोत साधनको अति दोहनको शिकार चूरे अनि थलिएका महाभारत पर्वत श्रृखलाका नाँगा पहाडहरु हेर्ने हो भने नेपाली माटोको संरक्षणको कथा बदल्ने र माटोलाई संरक्षण गर्ने पुस्ताको आवश्यक्ता बढेको छ ।

नदीको बहाव नै परिवर्तन गर्ने गरि गरिएका भूमी अतिक्रमण र बालुवाकालागि दिनदिनै निर्वस्त्र पारिएकी नदीको अवस्थाले पनि नेपाली भूमीको वर्तमान समस्याको व्याख्या गर्दछ ।
माटोलाई माया गर्न सिकौं, मानव आँफैमा पनि माटोकै स्वरुप हो ।
अनियन्त्रित रुपमा भएको माटोको अनावश्यक दोहनको कमि गर्न सवै एक जुट हुनु पर्ने अवश्यकता रहेको छ ।
भुमाफियाहरुको चलखेलले उव्जाउ जमिन माथीका महल अनी वाँझो जमिन मरुभुमिकरणले गर्दा आगामी दिनमा भोक र रोगले नेपाललाई पनि नसताउला भन्न सकिन्न ।