काठमाण्डौ । भारवहन क्षमता बढी भएका ट्रकहरू गुड्दा पनि सम्बन्धित निकायले कारबाही गर्न सकेको छैन ।
कोरोना भाइरसको मौका छोपेर भार क्षमता बढी भएका ट्रकहरू गुड्दा पनि कारबाही हुन नसकेको हो ।
बढी भारका कारण सडक बिग्रने, भासिने गर्दछन् भने पुलहरूमा पनि क्षति पुग्ने गर्दछ ।
सरकारले भारबहन क्षमतालाई निर्धारण गर्नका लागि सरकारले भारवहन कार्यविधि २०७४ ल्याएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । उसो त सरकारले कार्यविधि ल्याउनुपूर्व नै ट्रक व्यवसायीहरूको छाता संगठन नेपाल ट्रक यातायात व्यवसायी महासंघको पहलमा देशका विभिन्न स्थानहरूमा भारवहन क्षमता मापन गर्ने धर्मकाटाँहरू पनि राख्ने काम भयो । हाल देशका विभिन्न १६ स्थानमा धर्मकाँटा राखिएको छ । देशका विभिन्न स्थानहरूमा राखिएका धर्मकाँटामा जोखिएका ट्रकहरूले बढी भार बोकेको पाइए पनि कारबाही भने हुन सकेको छैन ।
भरबहन क्षमता भन्दा बढी सामानहरू बोकेका ट्रकहरूलाई कारबाही गर्न यातायात व्यवस्था विभागमा उजुरी गरिएपनि कारबाही हुन नसकेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँ बताउँछन् । “सरोकारवालाहरूको उदासिनताको कारण पछिल्लो समय झनै बढी क्षमताको सामान बोकेर ट्रकहरू गुड्न थालेका छन् ।” यातायात टाइम्ससंगको कुराकानीमा उनले भने ।
कोरोना भाइरसको मौका छोपेर ट्रकहरूले भारवहन क्षमता भन्दा दुईगुणा बढी सामान बोक्दा पनि कारबाही गर्न नसक्नु लज्जास्पद् विषय भएको जानकारहरू बताउँछन् ।
यस्ता गतिविधि तराई क्षेत्रमा झनै बढ्दो देखिन्छ । तराईका सर्लाही, हेटौंडा तथा बुटवल क्षेत्रमा ट्रकहरू मापदण्ड भन्दा दुईगुणा बढी भार लिएर सडकमा यत्रतत्र गुड्दा पनि सरकारी पक्ष मौन नै देखिन्छ ।
त्यस्ता ट्रकहरूलाई कारबाही गर्नु त कहाँ हो कहाँ झनै संरक्षण दिएको पाइएको छ । हर्ताकर्ताको हालीमुहाली रहेको क्षेत्रमा त धर्मकाँटा नै निकाल्ने सम्मका गतिविधि भएका छन् । जसले गर्दा बढी भार बोक्ने ट्रकहरू झनै निष्फिक्री गुड्न पाएका छन् ।
नियमन गर्नुपर्ने निकाय नै संरक्षणकर्ता बन्दा झनै भयावह स्थिति आएको तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर कुमार विष्टले यातायात टाइम्सलाई बताए ।
यही अवस्था रहिरहे भोलीका दिनमा देशको सडक तथा पुलहरूमा नराम्रोसंग क्षति पुग्नुका साथै पहिरोको समस्या पनि भोग्नु नपर्ला भन्न सकिन्न । यसलाई गहन रुपमा लिएर कारबाहीको प्रक्रिया अघि बढाउनु आवश्यक छ ।