भक्तपुरमै केवलकार !

469

भक्तपुर । केवलकार चढ्न वा हेर्नका लागि मात्र भए पनि गोरखाको मनकामना मन्दिर पुगेका छौं, हामीमध्ये धेरै । केवलकार चढ्न अनि हेर्नकै लागि गोरखा पुग्न नसकेकाहरु अनि त्यो ठाउँमा पुगेर पनि केबलकार चढ्ने धित नमारेकाहरुमध्ये कति त चन्द्रागिरीमा पनि पुग्ने गरेका छन् । तर सोमबार भने भक्तपुरमै केबलकार गुडेको छ । आफ्नै जिल्लामा केबलकार गुडेको थाहा पाएपछि केवलबार हेर्न थुप्रै जना झुम्मिएका छन् । उनीहरु केबलकार चढ्न नभएर मात्र हेर्नका लागि झुम्मिएका हुन् । यो वातावरण बनाउने काम गरेको हो भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजारस्थित रोशम इंिग्लस बोर्डिङ स्कुलले ।

स्कुलले ‘भक्तपुर जस्तो सुगम ठाउँमा पनि केबलकारको सम्भावना छ र ? अनि भक्तपुरको कुन ठाउँमा केबलकार चढी जानुपर्छ र ?’ भन्ने आम जिज्ञासालाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा आयोजना गरेको ‘प्रथम रोशम एक्जिबिसन २०७४’ले समाधान गरिदिएको हो । यतिमात्र नभएर उक्त प्रदर्शनीमा राखेको केबलकार स्कुल प्राङ्गणमाथि राखिएको केबलकार ओहोरदोहोर गरेपछि ‘केबलकार कसरी चल्दो रहेछ ?’ भन्ने पनि जिज्ञासा पनि थाहा पाएका छन्, प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थी तथा अभिभावकले ।

विद्यालयले शैक्षिक प्रदर्शनी आयोजना गर्न लागेको थाहा पाएपछि सोही विद्यालयको कक्षा ६ मा अध्ययन गरिरहेका तीन विद्यार्थीले केबलकार बनाएका थिए । उनीहरुले हप्तादिनको मिहिनेतबाट बनाएको उक्त केबलकार प्रदर्शनीमा राखेपछि केबलकार हेर्नेहरुको घुइँचो लागेको थियो । केबलकार विद्यार्थीहरु राजु लामा, उज्ज्वल श्रेष्ठ र विपिन बराइलीको टोलीले बनाएका थिए ।

प्रदर्शनीमा केबलकार बाहेक विद्यार्थीले रकेट पनि बनाएका थिए । विद्यार्थीहरुले नै अग्लो डाँडामा बनाइने टावर अन्तर्गत बाँसको तीनखुट्टे टावर बनाएका थिए । विद्यार्थीले डोरी र बाँसको भरमा बनाएको टावरमा विद्यार्थीमात्र नभएर अभिभावकहरु पनि चढेका थिए ।

प्रदर्शनीमा प्राथमिक तह तर्फको शैक्षिक प्रदर्शनीतर्फ शिक्षक तथा विद्यार्थीहरुद्धारा निर्मित शिक्षक सिकाइसँग सम्बन्धित शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । त्यस्तै कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले नेपाली भेषभूषा तथा संस्कृतिसम्बन्धी प्रस्तुतिहरु पनि प्रदर्शनीमा राखिएको विद्यालयका प्रिन्सिपल लोकेन्द्र अर्यालले बताए ।

बिद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीले बनाएका बिज्ञान तथा हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिएको सो प्रदर्शनीले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटनका लागि सहयोगी भूमिका खेलेको उनले बताए ।

‘विद्यार्थीले अतिरिक्त क्रियाकलापमा बनाएका थुप्रै महत्वपूर्ण शैक्षिक सामग्रीलाई विद्यार्थीमै सीमित नगरी अभिभावकलाई पनि जानकारी दिन तथा सरस्वती पूजालाई धार्मिक रुपमा मात्र नभएर सिर्जनात्मक तवरले सदुपयोग गराउनका लागि प्रर्दशनी गरेका हौं ।’ प्रिन्सिपल अर्यालले भने । विद्यालयले पहिलोपटक गरेको प्रदर्शनीमा अभिभावक तथा शिक्षाका सरोकारवालाहरुको उपस्थितिले विद्यार्थीमा अझ हौसला मिलेको उनको भनाइ छ ।