नेपालमा पहिलाे पल्ट टोर्नाडो : जहाँ छुन्छ, त्यहाँ ध्वस्त

375

काठमाडौं एक साताअघि बारा र पर्सामा ठूलो जनधनको क्षति हुनेगरी आएकोे आँधीबेहरीसहित वर्षा हुनुका कारण टोर्नाडो भएको पुष्टि भएको छ । मौसमविद्हरूको अध्ययन टोलीले घटनापछि गरेको अध्ययनबाट ठूलो रूपमा आएको आँधीबेहरी टोर्नाडो नै भएको निष्कर्ष निकालेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलोपटक टोर्नाडो आएको पुष्टि गरेको हो । मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् । सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणालीको विकास हुँदा टोर्नाडो बन्छ ।

मौसमविद् श्रेष्ठका अनुसार टोर्नाडो आउँदा सुक्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जंदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिँदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ । टोर्नाडो सिधा जमिनमा आउने तीव्र गतिको वायु हो । यो ४ सय किलोमिटर प्रतिघटाका दरले आउने गरेको पाइन्छ । बारा र पर्सामा क्षति पुग्ने गरी आएको टोर्नाडो एक दशमलव ६ किलोमिटर चौडाइको भएको अध्ययनले देखाएको छ । यसको लम्बाइ एकीन गर्न नसकिए पनि ८० किलोमिटर लम्बाईसम्मको हुने गरेको पाइन्छ ।

मौसमविद् श्रेष्ठले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारीसाधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए । यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । ‘फोटो हेर्दा जहाँजहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ,’ उनले भने, ‘टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रस्ट देखिन्छ ।’

टोर्नाडो हावाको गति र दिशामा आउने अवरोधका कारण उत्पन्न हुने गर्छ भने दुई प्रकारका हावा जुध्दा भुमरी परेर जमिनतर्फ जाने गर्छ । न्यूनचापीय क्षेत्रमा कम वायु प्रवाह हुने गरेकाले यो जमिनमा सिधै जाने गर्छ । यो विशेषगरी गर्मीयाममा हुने गर्दछ । विश्वका विभिन्न मुलुकमा आएको टोर्नाडोको अध्ययन गर्दा यो अपराह्नपछि मात्रै उत्पन्न हुने र जमिनमा आउने गरेको पाइएको छ । यो जमिनमा आउँदा ठूलो संरचनाहरू नै ध्वस्त पार्ने गरी आउँछ । दिउँसो ३ बजेदेखि राति ९ बजेको अवधिमा मात्रै यस्तो प्रकारको टोर्नाडो आउने गरेको पाइएको छ ।

नेसनल जोग्राफीका विज्ञहरूले गरेको एक अध्ययनअनुसार टोर्नाडो १६ देखि ३२ किलोमिटर प्रतिघण्टाको दरमा आकाशमा वहने गरेको पाइएको छ । दुई वायु ठोक्किएपछि यसको गति बढेर ११३ किलोमिटर प्रतिघण्टासम्म पुग्ने गर्दछ । यसको मतलब आकाशमा हुने वायुको गतिभन्दा १० गुण बढीको गतिमा जमिनमा आउने भएकाले यसले ठूलो क्षति पु¥याउने गरेको पाइएको छ । टोर्नाडो ठोकिएको स्थानमा ७० प्रतिशतभन्दा बढीको ज्यान जान सक्ने नेसनल जोग्राफीको अध्ययनले देखाएको छ ।

टोर्नाडोको पूर्वानुमान गर्ने कुनै माध्यम नै नहुने अध्ययनले देखाएको छ । नेपालका मौसमविद्हरूले पनि बारा र पर्साको वायुको विषयमा पूर्वानुमान गर्न नसकिएको बताउँदै आएका छन् । तर, नेसनल जोग्राफिकका अध्ययनकर्ताहरूले भने यसको पूर्वानुमान १३ मिनेटअघि मात्रै गर्न सक्ने बताएका छन् । छोटो समयमा गरिएको पूर्वानुमानले गर्दा झन् ठूलो बस्ती भएको ठाउँमा भने भागदौड भएर जनधनको ठूलो क्षति पुग्न सक्ने मौसमविद्हरू बताउँछन् ।