नेपाली औषधि लिमिटेडले पायो पुनर्जीवन,

548

 आजबाट औषधि उत्पादन सुरु

काठमाडौँ: सरकारको लापरबाहीका कारण बन्द अवस्थामा रहेको नेपाल औषधि उद्योगले आइतवारबाट औषधि उत्पादन सुरु गरेको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि उद्योग लिमिटेड केही वर्षदेखि बन्द अवस्थामा थियो । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आफ्नो कार्यभार सुरु गरेलगत्तै बन्द रहेका सरकारी स्वामित्वका रकारी उद्योग पुनसंचालन गर्ने नीति लिएपछि यो उद्योगले पनि पुनर्जीवन पाएको हो ।

उद्योग मन्त्री जोशीकै पहलमा सरकारले औषधि उत्पादनको लागि विश्व स्वाथ्य संगठनले तोकेको शर्तअनुसार यो उद्योग सुचारु गर्न सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैयाँ ऋण दिइएको थियो ।

यो उद्योग खोल्न पहिलो किस्तामा ६ करोड ४८ लाख रुपैंया निकासा भई नेपाल औषधी लिमिटेडले पहिलो चरणमा आजबाट जीवन जलको उत्पादन शुरु गरेको हो ।

आगामी तीन महिना भित्र सिटामोल लगाएत ट्यावलेटहरु उत्पादन गरी बजारमा पुर्‍याउने लक्षका साथ नवीकरण र आवश्यक मेशिनहरु खरिद गर्ने ठेक्का सम्झौता गरी द्रुतगतिमा कार्य अगाडी बढिरहेको छ ।

दोस्रो चरणमा लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढी भएका १५ भन्दा बढी प्रकारका नयाँ औषधिसमेत उत्पादन गर्ने लक्ष लिएको छ ।

यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन ग्रुपका औषधि, झोल तथा मलमहरु उत्पादन गर्ने योजना बनाएको छ । यसले शाखा समेत खोलेर स्लाईन तथा अन्य अतिआवश्यक औषधिहरुको उत्पादनलाई समेत अगाडी बढाउने उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधि तथा सरकारले सूचीकृत गरेका अत्यावश्यक औषधिहरु नेपाल औषधि लिमिटेडबाट उत्पादन गरी सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडी बढाइएको मन्त्री जोशीले बताए ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्धेश्यका साथ कम्पनी ऐन २०२१ अन्तरगत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो ।

विगतमा नेपाल औषधि उद्योगले १२० थरी औषधिहरु उत्पादन गरी बेच्दै आएको थियो । २०६६ सालदेखि यो औषधि उद्योग पूर्णरुपमा बन्द थियो । नेपाल औषधि लिमिटेडले पुनउत्पादन शुरु गरेको जीवनजलको उत्पादनको उद्योग मन्त्री नवीन्द्रराज जोशीले आज एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।