नेपालको व्यापार चित्र: अमेरिकामा रु ३ अर्बको कुकुरको आहारा निर्यात, लगभग सबै देशसँग घाटाको व्यापार

345

वीवीसी । उच्च पहाडी भेगका चौँरी गाई तथा गाईको दूधबाट बनेका एक प्रकारका छुर्पीको निर्यातका कारण नेपालको अमेरिकासँगको व्यापारमा निर्यातको अंश वृद्धि भइरहेको छ।

लगातार पाँच वर्षसम्मको व्यापार घाटापश्चात् यसपालि अमेरिकासँगको व्यापार नाफामा गएको देखिएको छ।

अनि त्यसमा ‘डग चु’ भनिने कुकुरको आहाराको निर्यातको योगदान उल्लेखनीय छ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रले हालै प्रकाशित गरेको अन्तर्राष्ट्रिय व्यापारतर्फ आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन हेर्दा नेपालले सबभन्दा धेरै निकासी गरेको देशमा अमेरिका दोस्रो स्थानमा छ।

पहिलो स्थानमा रहेको भारतसँग आयात पनि अत्यधिक रहेकाले ९ खर्ब रुपैयाँभन्दा धेरैको विकराल व्यापार घाटा छ।

जबकि अमेरिकासँग भने १९ अर्ब ५७ करोडको निर्यात र १९ अर्ब ४२ करोडको आयातसहित १४ करोडभन्दा धेरैको नाफा भएको छ।

विगतका आँकडा हेर्ने हो भने अघिल्लो वर्ष अमेरिकासँग झन्डै ३२ अर्बको घाटा थियो भने आर्थिक वर्ष २०७४/७५ यता लगातार घाटा भइरहेको थियो।

सर्सर्ती हेर्दा अमेरिकामा नेपालबाट सबभन्दा धेरै निकासी हुने वस्तुमा ७ अर्बभन्दा धेरै रकम बराबरको गलैँचापछि दोस्रो स्थानमा झन्डै ३ अर्ब रुपैयाँ सहित कुकुरको आहारा परेको छ।

त्यसपछि मात्रै तयारी पोशाक, पश्मिना, हस्तकलाका सामग्री आदि आउँछन्।

अन्तर्राष्ट्रिय व्यापार

EPA
नेपालको घाटाको व्यापार

रुपैयाँमा

  • १४.५४ खर्बकुल व्यापार घाटा
  • १७.६८ खर्बकुल व्यापार
  • १.५७ खर्बकुल निर्यात
  • १६.११ खर्बकुल आयात

स्रोत: व्यापार तथा निकासी प्रवर्धन केन्द्र

सम्भावना बोकेको निकासी वस्तु

विगतमा नेपालबाट निकासी गर्न सम्भाव्य वस्तुहरूको सूचीमा ऊनी गलैँचा, तयारी पोशाक, चिया, मह आदि वस्तु पर्ने गर्दथे।

तीमध्ये धेरै वस्तुहरूको निकासी या त स्थिर रहन पुगेको छ या भने अपेक्षाकृत बढ्न सकेको छैन।

तर केही समय यता ‘डग चु’ भनिने कुकुरले मन पराउने छुर्पीले उक्त सूचीमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको देखिन्छ।

“यसको निर्यातको भविष्य उज्ज्वल देखिन्छ। अमेरिकाका साथै क्यानडा, मेक्सिको र युरोपका अन्य देशहरूमा पनि यसको माग रहेको छ,” कुकुरका आहारा डग चु को उत्पादन, प्रशोधन एवं निर्यातमा संलग्न एक अग्रणी व्यवसायी लतिका गोल्यानले बताइन्।

उनी अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेको कम्पनी लेकाली कर्पले खासगरी इलामका दुग्ध कृषकहरूसँग मिलेर काम गर्छ।

त्यहाँ उत्पादित कच्चा छुर्पीलाई काठमाण्डूस्थित कारखानामा प्रशोधन तथा प्याकेजिङ गरेर तिनको निर्यात गरिन्छ।

उनका अनुसार नेपालमा यस्ता ३०-४० निर्यातकर्ता छन्।

कुकुर

तस्बिर स्रोत,PA MEDIA

तस्बिरको क्याप्शन,दीगो व्यापारका निम्ति निर्यातकर्ताहरूले गुणस्तरमा ध्यान दिनु पर्ने बताइएको छ

चुनौती कस्ता?

नेपालमा विगतमा पनि कुनै समय गलैँचा त कुनै समय पश्मिना अनि कुनै समय तयारी पोशाकको अत्यधिक निकासी सम्भावना मानिन्थ्यो।

तर अन्तर्राष्ट्रिय परिवेशमा आएका परिवर्तन, आयातकर्ता देशले लगाइदिएका शुल्क वा गुणस्तरको कारण तिनले अपेक्षाकृत उडान भर्न सकेनन्।

अहिले उदाउँदै गरेको यो नयाँ सम्भावनाले पनि उस्तै चुनौती बेहोर्न सक्छ।

“हेर्नोस् कुनै समय हामी बाङ्ग्लादेशसँग पनि नाफाको व्यापार गर्थ्यौँ। तर अहिले लगभग सबै देशसँग घाटा छ। जोसँग नाफा छ त्यो पनि थोरै रकममा छ। त्यसैले यस्ता सम्भाव्य वस्तुबारे सरकार तथा नीति निर्माताहरूले ध्यान दिनुपर्छ,” पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने।

व्यवसायी लतिका गोल्यानले यस क्षेत्रमा रहेका तीन मुख्य चुनौती औँल्याइन्:

  • गुणस्तर नियन्त्रण
  • अस्वस्थ्य प्रतिस्पर्धा
  • रोगव्याधि

“मुख्य चुनौती त हामीले गुणस्तर कायम गर्नुपर्छ। तर यहाँ कतिपयले मूल्य घटाएर कमसल गुणस्तरको निकासी गर्न खोज्छन्। त्यसले अस्वस्थ्य प्रतिस्पर्धा ल्याउनुका साथै व्यापारमा हानि हुन्छ,” गोल्यानले भनिन्।

“अनि रोगव्याधिका कुरा पनि छन्। ह्यान्ड, फुट एन्ड माउथ डिजिज भनिने खोरेत रोग नेपालमा पाइने भएकाले युरोपेलीसहित कतिपय देशमा चाहेर पनि हामीले निर्यात गर्न पाएका छैनौँ। भारतमा यस्तो रोग भए पनि उनीहरूले विशेष डकुमेन्टेसन तथा सेग्रिगेसनको प्रक्रिया अपनाएर निर्यात गर्न पाएका छन्।”

त्यसका अतिरिक्त सरकारले नीतिगत रूपमा पनि केही सहयोगी कदम चाल्नु पर्ने व्यवसायीहरूले सुझाएका छन्।

निर्यातमा ५ प्रतिशतको प्रोत्साहन आवश्यक पर्ने, चीजमा जस्तै डग चु छुर्पीमा मूल्य अभिवृद्धि कर छूट तथा यस व्यवसायमा लाग्नेहरूका निम्ति कृषि कर्जामा सहज पहुँच हुनुपर्ने उनीहरू बताउँछन्।

“अमेरिकाका आयातकर्ताले सुरुमा पैसा नदिकन मगाउँछन् जसले गर्दा हामीलाई नगद प्रवाहको समस्या पर्छ। उनीहरू एलसी वा प्रतीत पत्र खोल्दैनन्, त्यसैले भारतमा एक्स्पोर्ट अस्योरेन्स दिए जस्तै व्यवस्था यहाँ गर्न सके राम्रो हुन्छ,” व्यवसायी लतिका गोल्यानले भनिन्।

एउटै देशमा मात्र भर नपरिकन बजार विविधिकरण गर्न पनि उत्तिकै जरुरी भएको ठानिन्छ।

“यस्ता विषयहरूमा सरकार चनाखो हुनुपर्छ। अहिले अमेरिकाले कुनै अतिरिक्त शुल्कविना सहज बजार पहुँच दिएको छ। त्यसलाई कायम राख्न नेपाल सरकारले अमेरिकी सरकारसँग हुने व्यापार कुराकानीमा उठाउनुपर्छ,” नेपाल अमेरिका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका महासचिव गान्धी पण्डितले बताए।

उनले खासगरी गुणस्तरमा निकै सजग हुनुपर्ने बताए। “भविष्यमा गुणस्तरका विषय उठ्न सक्छन्। नेपाल सरकारले यहाँबाट अनि हाम्रो वाशिङ्टनस्थित दूतावासले यसबारे पहल गरिरहनुपर्छ,” पण्डितले भने।

सबै तारतम्य मिलाउन सकेको खण्डमा व्यवसायी गोल्यानले भनेको जस्तै यसको निर्यातको भविष्य उज्ज्वल नै देखिन्छ।

किनकि विदेशमा यसको माग निकै उच्च छ। अमेरिकामा मात्रै घरपालुवा जनावरको आहाराको बजार सन् २०२२ मा ५८ अर्ब डलर ७५ खर्ब रुपैयाँ बराबरको रहेको अमेरिकन पेट प्रोडक्ट्स एसोसिएनले जनाएको छ।

कहालीलाग्दो व्यापार चित्र

इन्धन

तस्बिर स्रोत,NOC

तस्बिरको क्याप्शन,नेपालले सबभन्दा धेरै खर्च इन्धनको आयातमा गर्ने गर्छ

तपाईँलाई थाहा छ नेपालले कति देशसँग व्यापार गर्छ?

भन्सार विभागको आँकडामा नेपालको व्यापार १७० भन्दा धेरै देश तथा भौगोलिक क्षेत्रहरूमा फैलिएको छ।

तीमध्ये केवल ३७ देशसँग व्यापार नाफामा छ।

दक्षिण एसियामा नेपालको व्यापार केवल अफगानिस्तान र माल्दिभ्ससँग मात्र नाफामा छ – त्यो पनि थोरै परिमाणमा।

युरोपका अधिकांश ठूला अर्थतन्त्र भएका देशहरू – ब्रिटेन, फ्रान्स, जर्मनीसँग नेपालको व्यापार घाटा छ। डेनमार्क र नर्वेसँग भने केही नाफा छ।

नेपालले जति निर्यात गर्छ त्यसको १० गुना आयात गर्छ।

यस्तो अवस्था अर्थतन्त्रको स्थायित्वका निम्ति सधैँ जोखिमपूर्ण रहने बताइन्छ।