उपत्यकाकै नव पर्यटकीय केन्द्र बन्दै कोन्ज्योसोम

66

ललितपुर । कोन्ज्योसोम गाउँपालिका काठमाडौँको उपत्यकाको नव पर्यटकीय केन्द्र बन्दै गएको छ । उपत्यकाको नजिकको पर्यटकीय क्षेत्र भएकाले पनि अहिले कोन्ज्योसोम गाउँपालिका नव पर्यटकीय केन्द्र बन्दै गएको हो ।
पर्यटकीय गन्तव्य बनेको छ । राजधानी काठमाडौंबाट नजिकै पर्ने सुन्दर पर्यटकीय क्षेत्र कोन्ज्योसोममा पछिल्लो समय पर्यटकको आकर्षण बढेको हो ।
ललितपुरको फूलबारी डाडाँमा कोन्ज्योसोम प्रतिमा अर्थात बुद्धको तीन मूर्ति छन् । राजधानी नजिक रहेको कोन्ज्योसोम गाउँपालिका यहि प्रतिमाको नामबाट नामाकरण भएको हो । हराभरा जंगल, थरीथरीका वनस्पति, जीवजन्तु, जडीबुटी अनि सांस्कृतिक र धार्मिक पहिचानले कोन्ज्योसोम भरिपूर्ण छ । यहाँको नल्लु भन्ज्याङबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो मन्दिर दर्शन गर्नेको उत्तिकै भिड लाग्छ ।
ललितपुर जिल्लाको दक्षिणी भेगमा पर्ने कोन्ज्योसोम प्रकृतिको अनुपम उपहार जस्तै छ ।
कोन्ज्योसोम पुग्न सातदोबाटोबाट बाइस किलोमिटरको यात्रा तय गर्नुपर्ने छ । लगनखेल, चापागाउँबाट सार्वजनिक बस पनि यो रुटमा सञ्चालनमा छ । निजी सवारी साधन हुनेले पैंतालीस–पचास मिनेटको यात्रापछि सजिलै कोन्ज्योसोम पुग्न सकिन्छ । फूलबारी डाडाँमा रहेको कोन्ज्योसोम प्रतिमा (बुद्धको मूर्ति) दुई हजार सात सय मिटर अग्लो स्थानमा रहेको छ ।
भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान बोकेको कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको छ । जानकारहरुका अनुसार ‘कोन्ज्योको अर्थ भगवान् हो भने सोमको अर्थ त्रिवेग हो । त्रिवेग भनेको ब्रह्मा, विष्णु र महेश्वर हो । लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन् । बुद्धरत्न, धर्मरत्न, संघरत्न हो । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ । बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिको समूह मात्र बौद्ध संघ हुन्छ । बौद्ध सभ्यताको यसै नामबाट कोन्ज्योसोम गाउँपालिकाले पहिचान पाएको छ । यस्तो ऐतिहासिक परिचय र छुट्टै पहिचान बोकेको कोन्ज्योसोमलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सरकार जुटेको छ । पालिकाभित्रका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर कोन्ज्योसोमलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताए ।
राजधानी नजिकको कोन्ज्योसोम गाउँपालिकाका रूपमा रहेको यो पालिकाले पर्यटन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषिजस्ता क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।
फूलचोकी नजिकै रहेको फुलबारी डाँडासम्मको पद यात्रा नै रमणीय रहेको छ । सो डाँडामा वर्षेनी भारी हिमपात हुने गर्छ । फूलबारी डाँडाबाट अलि तल गुप्तेश्वर गुफा रहेको छ । गाउँको भाषा, गाउँकै भेष, स्थानीय उत्पादनलाई जोड दिएर पर्यटक तान्न सकिने प्रशस्तै सम्भावना बोकेको कोन्ज्योसोममा आउने पर्यटक हर्षित भएर फर्किन्छन् ।
तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोममा आउने पर्यटकलाई थप मोहित बनाउँछ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार यहाँ रहेको छ । यसरी यहाँ मानवजीवनका लागि अत्यावश्यक खाना र भगवानप्रतिको उच्च सम्मान देखिन्छ । मनमोहक डाँडाकाँडामा बसेका तामाङ बस्तीले यहाँ आउने पाहुनालाई मनग्यै सत्कार र परिकार पस्कन्छन् । कोन्ज्योसोम प्रतिमा र तामाङ संग्रहालय पर्यटकका मुख्य आकर्षण त छँदै छन् । हरेक शुक्रबार र शनिबार आन्तरिक र बाह्य पर्यटकहरूले दल्चोकीका होमस्टे भरिभराउ हुन्छन् ।
यहाँ आउने पर्यटकलाई दुध, कुराउनी, खुवाजस्ता परिकारबाट आकर्षित तुल्याइन्छ । गाउँले रहनसहन यहाँ अर्काे थप आकर्षण हो ।