विकास निर्माणमा उदाहरणीय बन्दै सूर्यविनायक नगरपालिका

24

भक्तपुर । भौतिक साथसाथै आर्थिक र सामाजिक विकासलाई समेत प्राथमिकतामा राख्दै अगाडि बढिरहेको सूर्यविनायक नगरपालिका देशकै लागि एक उदाहरण बन्न सफल भएको छ । हरेक क्षेत्रमा ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को विचारधारालाई पछ्याउँदै नगरपालिकाले पुराना राम्रा कुरालाई साथै लिइ नराम्रालाई छोड्दै, असल नयाँ पक्षलाई समेत समेट्दै अघि बढिरहेको छ ।

पुराना मौलिक शैलीमा नयाँ संरचना निर्माण गर्दै सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको सुन्दर ‘फ्युजन’ सहितको विकासका कार्य गरिरहेको छ । ‘एक वडा एक फल्चा’ नारासहित नगरपालिकाले आफ्ना १० वटै वडामा पुरानो शैलीका फल्चा निर्माण गरेको छ । प्रतिक्षालय आवश्यक पर्ने स्थानमा फल्चाको निर्माण गरि आवश्यकता र मौलिकतालाई सँगसँगै लैजाने पक्षमा सबैका लागि अनुकरणीय बन्न सफल बनेको छ सूर्यविनायक नगरपालिका ।

नगरपालिकाले हाल भौतिक पूर्वाधार साथसाथै मानवीय विकासलाईसमेत प्राथमिकतामा राखेर अगाडि बढिरहेको सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताइन् । राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ का क्रममा उनले सो बारे बताएकी हुन् ।

‘दिगो विकार व्यवस्थित शहर,
स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने भिजन लिइ नगरपालिकाले दियो विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको उनले जानकारी दिइन् । सो योजनालाई वर्षैपिच्छे बजेट विनियोजन गरि कार्यान्वयनतर्फ लागिएको समेत उनले बताइन् ।

नगरभित्रका ग्रामीण बस्तीका उत्पादन बजारीकरण गरि सर्वसाधारणको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ग्रामीण सडकहरुको विकासका कार्यहरु थालिएको उपप्रमुख तिमसिना भट्टराईले जानकारी दिइन् । सडकको विकासले पर्यटनमा समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन् । सूर्यविनायक नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेको र त्यसमध्ये २८ किलोमिटर पिच भइसकेको र प्रायः सबै खोलामा पुलसमेत बनिसकेको उनले बताइन् । नगरपालिकाले आवस्यकता र मागअनुसार नै किास निर्माणका कार्यहरु गरिरहेको बताउँदै उनले सूर्यविनायक बाटोघाटोको विकासका लागि अन्य स्थानीय तहहरुका लागि उदाहरण बनेको दाबी समेत गरिन् ।

नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा समेत नगरपालिकाले योजना बनाएको उनले जानकारी दिइन् । नगरपालिकाभित्रका सबै विद्यालयहरुमा भौतिक पूर्वाधार पुर्याइसकेको उपप्रमुख सरिता तिमसिना भट्टराईले बताइन् । विद्यालयहरुमा विद्यार्थीको संख्याहरु बढ्ने क्रममा रहेको बताउँदै नतिजासमेत अब्बल आएको उनले दाबी गरिन् । ‘यसपटकको एसईईको नतिजामा ८५ प्रतिशत उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालयको केही कम ५६ प्रतिशत छ र निजी विद्यालयमा ९५ प्रतिशत छ ।’ उनले भनिन् ।

कार्यसम्पादनको मूल्यांकनका आधारमा विद्यालयको प्रधानाध्यापक नियुक्त गर्ने सूर्यविनायक नै पहिलो नगरपालिका रहेको उनले बताइन् । उक्त कदमको अन्य स्थानीय तह साथसाथै प्रदेश र संघले समेत सराहना गरेको र केही स्थानीय तहले अनुकरणसमेत गरेको उनले बताइन् ।

विद्यालय स्तरमा ‘सिक्दै पढ्दै’ को अवधारणा अनुसार अघि बढिएको उनले जानकारी दिइन् । त्यसका लागि चालू आर्थिक वर्षमा साथैसाथै आगामी आर्थिक वर्षका लागिसमेत बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् । ‘उपप्रमुखसँग किशोर किशोरी कार्यक्रम’ लगायतका विभिन्न कार्यक्रममार्फत् कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आवश्यक विभिन्न तालिमहरु दिइएको उनले बताइन् । सिक्दै पढ्दैलाई अझै अगाडि लैजाँदै ‘सिक्दै कमाउँदै’ को अवधारणलाईसमेत अगाडि बढाइएको उनले बताइन् ।

स्वास्थ्य क्षेत्र विकासका लागि पनि नगरपालिकाले कार्य गरिरहेको उनले जानकारी दिइन् । हाल नगरपालिकाका ४५ सय घरधुरी स्वास्थ्य बीमामा आवद्धसमेत रहेको उनले जानकारी दिइन् । स्वास्थ्य बीमामार्फत् स्वास्थ्य संस्थामा सहज र कम मूल्यमा पहुँच विस्तार गर्नका लागि नगरपालिकाले एक घरधुरीको एक हजार रुपैयाँ तिरिदिने गरेका कारण हाल नगरमा २५०० रुपैयाँमा स्वास्थ्य बिमा हुनेगरेको उनले बताइन् । सूर्यविनायक नगरपालिकाका अस्पतालमा हाल बर्थिङ सेन्टरसमेत उपलब्ध रहेका उनले जानकारी दिइन् ।

नगरपालिकाको योजनाअनुसारको कार्य सम्पादनका लागि वडाहरुले समन्वय गरिरहेका छन् । नयाँ पुस्तालाई पुराना समाजको बारेमा जानकारी दिनका लागि प्रत्येक वडामा फल्चा बनाउने कार्यक्रम होस् या सडकको स्तरोन्नति, सबैका लागि वडाले सहजीकरण गरिरहेको छ । नगरपालिका र सर्वसाधारणबीचको समन्वयकर्ताका रुपमा रहेका वडाहरुले सर्वसाधारणको माग नगरपालिकासम्म पुर्याउन र नगरपालिकाको सहयोयमा आवश्यकता अनुसार विकास निर्माणका काम गर्नमा सहयोग गरिरहेको छ ।

नगरपालिकाको २ नम्बर वडाले एक वडा एक फल्चा नीतिअनुसार गणेश मन्दिरमा फल्चा निर्माण गरेको वडा अध्यक्ष प्रदिप कार्कीले जानकारी दिए । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा १३ लाख र १७ लाख रुपैयाँ गरि ३० लाख बजेटमा फल्चा, चौतारी आदि निर्माण गरिएको उनले बताए । उक्त फल्चा रहेको स्थानमा पहिले पनि फल्चा रहेको र विभिन्न कारणले जीर्ण भइ भत्किएका कारण हाल निर्माण भएको फल्चा त्यसैको स्मारकको रुपमा समेत रहेको कार्कीले बताए । फल्चाको निर्माण सकिइएको छ तर रङरोगन लगायतका फिनिसिङका कार्यहरु बाँकी रहेको छ ।

सडक स्तरोन्नतिका लागि सूर्यविनायकको १ नम्बर वडा स्थित कौशलटार–बालकोट–बिरुवा सडकको २.२ किलोमिटर सडक चालू आर्थिक वर्षमा पिच गरिएको सो वडाका वडाध्यक्ष सानुकाजी कायस्थले बताए । संघको सहयोगमा समेत अन्य सडकहरुको कालोपत्रे भइरहेको उनले जानकारी दिए । नगरपालिकाको २ नम्बर वडामा रहेको चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीति अनुसार नै फल्चा बनाइएको उनले बताए ।

पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँमा ४९ लाख रुपैयाँ थप गरेर ४ नम्बर वडामा पानीट्याङ्कीदेखि गाम्छा निस्कने सडक कालोपत्रे गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिए । संघ र प्रदेशको सहयोगमा वडामा विभिन्न विकास निर्माणका कार्यहरु भइरहेको उनले बताए । सो वडामा सडकको निर्माण र स्तरोन्नतिका लागि नगरपालिकाले यथासक्य सहयोग गरेको समेत उनले बताए । ढल साथै खानेपानीको क्षेत्र सुधारका लागि समेत सो वडाले कार्यहरु गरिरहेको न्यौपानेले बताए ।

नगरपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले संघीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा विगत २ वर्षदेखि केही कमी आएका कारण अपेक्षा अनुसारका विकास निर्माणका कार्य गर्न नसकिएको बताए । त्यसको भपाइ गर्न नसकेतापनि नगरपालिकास्तरबाट भने प्रयास गरिरहेको उनले बताए । नगरपालिकाको बजेटबाट नै ७ नम्बर वडामा विभिन्न नयाँ सडक बनाइएका र बस्ती भित्र जाने सडक कालोपत्रे समेत गरिएको उनले जानकारी दिए । वडामा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्तिसमेत बनाउने योजना रहेको उनले जानकारी दिए ।

सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पुर्याउनका लागि पनि कार्यहरु गरिरहेको छ । दिगो विकासको योजना २०१५–२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत मानिसहरुमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य पुरा गर्नका लागि नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको छ । प्रत्येक वडा एक सदस्य रहनेगरि पाण्डुबजारमा निर्माण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुष्ठ पैसा तिर्नेगरि योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।