पोखरा । बुधबार सरकारी वकिल र बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै छ । जिल्ला अदालत कास्कीका इजलास अधिकृत गुरुप्रसाद आचार्यले रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीतर्पmका वकिलहरूले बहस गर्ने बताए ।
जाहेरवालाको तर्फबाट बहस गर्न दुई दर्जन कानुन व्यवसायीले वकालतनामा भरेका थिए । वकालतनामा गरेकामध्ये केही वकिलले आफूले पनि बहस गर्न पाउनुपर्ने माग गरेका छन् । तर, शुक्रबार इजलासमा न्यायाधीश नीतिज राईले जाहेरवालाका वकिललाई ‘केही राख्न भए समय दिन सक्ने र त्यसपछि प्रतिवादीतर्फबाट वकिलहरूले बहस गर्ने आचार्यले बताए ।
‘शुक्रबारदेखि प्रतिवादीतर्फबाट बहस सुरु हुन्छ, तर सुरुमा कसको बहस हुन्छ भनेर निर्णय भएको छैन, न्यायाधीशबाट निर्णय भएपछि क्रमशः बहस सुरु हुन्छ,’ आचार्यले भने । लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा। नारायण घिमिरे, अधिवक्ताहरू डा। नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तलगायतले बहस गर्ने जनाइएको छ ।
१२१ जाहेरवालाको तर्फबाट बिहीबार ६ कानुन व्यवसायीले बहस गरे । तर, बचतकर्ताको रकम अपचलनमा प्रत्यक्ष जोडिएकाहरूका विरुद्ध बहस गर्नुपर्ने कानुन व्यवसायीहरू रास्वपा सभापति रवि लामिछानेविरुद्ध मात्रै खनिए । उनीहरूको एउटै स्वर थियो, ‘रविलाई जसरी पनि थुनामै राख्नुपर्छ ।’
काठमाडौंबाट बहस गर्न आएका अधिवक्ताद्वय डा। सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहसमा लामो समय लिएका थिए । दुवैको बहसको केन्द्रमा थिए लामिछाने । त्रिपाठीले रवि लामिछानेलाई बाहिर राख्दा उनी फेरि पावरमा पुग्ने र मुद्दासमेत प्रभावित हुने राजनीतिक अभिव्यक्ति दिए ।
‘रविलाई बाहिर राख्दा उनले सत्ताको बार्गेनिङ गर्ने, सत्ता समीकरण फेरबदल हुँदा फेरि पावरमा पुग्ने र उनी पावरमा पुग्दा मुद्दासमेत प्रभावित हुने अवस्था रहन्छ,’ त्रिपाठीको जिकिर थियो, ‘यदि रविलाई छाड्ने हो भने उनको दलका कार्यकर्ता र शुभेच्छुकले अदालतमा पनि प्रहार गर्छन् । त्यसैले उनलाई थुनामै पठाउनुपर्छ ।’
अधिवक्ता डा। भण्डारीले पनि अरू अभियुक्तको हकमा जेसुकै भए पनि रविलाई भने थुनामै पठाउनुपर्ने माग गरे । ‘रवि लामिछानेबाहेकको हकमा जेसुकै होस्, रविलाई भने थुनामै पठाउनुपर्छ,’ इजलासमा उनले आफ्नो इच्छा व्यक्त गरे । भण्डारीले ०६५ मा सूर्यदर्शन सहकारीको स्थापना नै ठगीको उद्देश्यमा भएको दाबी गरे । गोर्खा मिडियाले ऋण लिने र सूर्यदर्शनले ऋण दिने निर्णय गरेको, तर त्यो संस्थाले गरेका निर्णय लुकाइएको उनको उनको भनाई थियो । सूर्यदर्शनदेखि गोरखा मिडियाको स्थापनासम्म ‘फाइनान्सियल स्क्याम’अन्तर्गत नै रहेको उनले बताए ।
जाहेरवालाका तर्फबाट त्रिपाठी र भण्डारीबाहेक अधिवक्ताहरू युवराज पराजुली, बिबी ९वेदबहादुर० विष्ट, रामचन्द्र गौतम र हरि कट्टेलले बहस गरेका थिए ।
त्यस्तै, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ४४ विरुद्ध एक अर्ब १९ करोडको बिगो दाबी गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।