गाउँ नै विस्थापित बिरामी र रोगीको बेहाल

559

वीरगन्ज

पर्साको पटेर्वा सुगौली गाउँपालिका (साबिक निचुटा गाविस–७) स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कक्षाकोठामा दरी माथि सुताइएका देवनाथ मुखिया हँहँ गरिरहेका छन् ।

चिकित्सकका अनुसार क्यान्सरबाट पीडित उनी सिकिस्त बिरामी हुन् । पैसावाल परिवारका सदस्य भए उनी यतिबेला सुविधा सम्पन्न अस्पतालको विशिष्ट कक्षमा उपचार गराइरहेका हुन्थे । तर एक वर्षबाट रोगले थलिएका मुखिया उपचार त के लगातारको पानीले घरबार बगाएका विस्थापित परिवारका सदस्य हुन् ।

यसपटकको वर्षाले समग्र तराई नै डुबानमा पर्दा मुखियासँगै सिंगो निचुटास्थित मोरटोलका १ सय २९ घरका  विस्थापित गएको शनिबारबाट विद्यालयमा आश्रय लिएर बस्न बाध्य छन् । स्थानीय गंगोली र ओरिया खोला उर्लिएर आएपछि उनीहरूको गाउँ नै उठिबास भएको छ । गाउँका अधिकांश घर पानीले बगाएको बिरामी कुरुवा लालपरी देवीले बताइन् ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कक्षाकोठामा दरीमाथि सुताइएका देवनाथ मुखिया । उनी क्यान्सरपीडित हुन् । तस्बिर: राजधानी

‘घर फर्कन सक्ने अवस्था अझै छैन,’ उनले भनिन् । शनिबार रातिबाट विस्थापित भएका उनीहरूले बुधबारबाट बल्ल राहत पाउन थालेका छन् । बुधबार स्थानीय रेडियो वीरगन्जले चामल, दाल र चाउचाउ दिएको अर्की विस्थापित सुदामादेवी बिनले बताइन् । ‘घर सबै बगरमा परिणत भएको छ, अब के खाने के लाउने,’ मलिन अनुहारमा उनले दुखोसो पोखिन् ।

बाढीबाट विस्थापित भई जिल्लास्थित रेल्वे मावि, शंकराचार्य गेट, हरपुरको दुर्गा प्रावि, बेलवाको रामजानकी प्रावि र मसिहानीको मधुवाहा प्राविमा आश्रय लिएका तथा बारा, रौतहटलगायतका जिल्लाका विस्थापितहरू पनि पर्याप्त राहतको पर्खाइमा छन् ।

विस्थापितमध्ये धेरै बिरामी पर्न थालेका छन् भने पहिलेदेखिका बिरामीहरू पनि विपत्मा जोखिम मोलिरहेका छन् । विस्थापितका स्वास्थ्यबारे समयमा नै ख्याल नगर्ने हो भने अर्को दुःखद घटना हुने पीडितहरू बताउँछन् ।

बाढी र कटानले गाउँ जाने धेरै सडक सञ्जाल छिन्नभिन्न भएको निचुटामा राहत लिएर गएका रेडियो वीरगन्जका सञ्चालक ध्रुव साहले बताए । ‘कति ठाउँमा सडक नै छैन अन्दाजले जानुपर्ने बाध्यता छ,’ उनले भने ।

ठोरीसँग सडक सम्बन्ध विच्छेद

बाढी र डुबानबाट दर्जनौं स्थानमा सडक भत्किएपछि पर्साको ठोरीलगायतका क्षेत्र सदरमुकामबाट सम्पर्क विच्छेद भएका छन् । भरतपुरबाट चितवनको माडी हुँदै ठोरी पुग्ने तथा वीरगन्जबाट ठोरी जाने सम्पूर्ण सवारीसाधन विगत ६ दिनदेखि त्यहाँ जान पाएका छैनन् ।

पर्साको जस्तै हालत तराईका अरू जिल्लाको पनि छ । धेरै गाउँहरूको सम्बन्ध सदरमुकामसँग टुटेको अञ्चल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताए ।

बाढीले दर्जनौं घर भत्काएको, सयौं बिघा जमिन बगाएको र सयौं व्यक्ति विस्थापित हुँदासमेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय बासिन्दा भने आक्रोशित छन् । उता पर्साको ठोरीमा हेलिकोप्टरले मंगलबार केही पोका चाउचाउ र बिस्कुटलगायतका राहत सामग्री दिएपछि सडक सञ्जाल र नदीको कटानबाट पीडित बनेका ठोरीवासीले आफूहरूलाई पोके राहतभन्दा पनि सडक सञ्जाल जोडिदिन र नदीको कटान रोक्ने उपाय खोजिदिन राज्यसँग अनुरोध गरेका छन् ।

अझै पाएनन् पीडितले राहत

रौतहट –  लगातारको वर्षपछि आएको बाढीबाट विस्थापितहरूले राहत नपाएको गुनासो गरेका छन् । एकद्वार प्रणालीबाट वितरण गर्ने नाममा बुधबारसम्म राहत वितरण नभएपछि पीडितहरू आक्रोशित भएका हुन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले बुधबारबाट बल्ल राहत वितरण प्रक्रिया सुरु गरेको छ ।  दैवी प्रकोप उद्धार समितिले बुधबार विभिन्न गाउँपालिका तथा नगरपालिकामा त्रिपाल तथा प्लास्टिकजन्य समानहरू पठाएको छ । इलाका प्रशासन कार्यालय गरुडाका प्रमुख अमृतकुमार श्रेष्ठले दिएको जानकारीअनुसार गौर नगरपालिकालाई २ हजार थान, दुर्गा भगवती गाउँपालिकालाई १ हजार ५ सय थान, राजपुर गाउँपालिकालाई १ हजार ७ सय त्रिपाल पठाइएको छ ।

त्यस्तै ईशनाथ गाउँपालिकालाई १ हजार ५ सय, परोहा गाउँपालिकालाई १ हजार ५ सय, फतुवा विजयपुर गाउँपालिकालाई १ हजार, कटहरिया गाउँपालिकालाई १ हजार ४ सय, गढीमाई र माधवनारायण गाउँपालिकालाई १५÷१५ सय, गरुडा नगरपालिकालाई १ हजार ५ सय, मौलापुर गाउँपालिकालाई १४÷१४ सय थान र मौलापुर गाउँपालिकालाई १ हजार ३ सय थान त्रिपाल पठाइएको छ ।

त्रिपाल पाएपछि खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु उपलब्ध नगराइएको पीडितहरू बताउँछन् । पीडित परिवारलाई आएको राहत इलाका प्रशासन कार्यालय गरुडामार्फत तत्काल प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । यता गढीमाई गाउँपालिकाका कार्यकारी अधिकृत किरणनिधि तिवारीले भने केही राहत गाउँपालिकामा आइसकेको बताएका छन् । आएको राहतलाई बिहीबारदेखि पीडित परिवारलाई व्यवस्थित रूपमा वितरण गरिने बताए । पीडितको तुलनामा राहत सामग्री कम भएकाले अरू धेरै राहत सामग्री आवश्यक रहेको कार्यकारी अधिकृत तिवारीले गुनासो गरेका छन् । एउटा रोचक कुरा के छ भने घण्टामा लाखौं रुपैयाँ तिरेर हेलिकोप्टर ल्याउनेहरूले नाम मात्रको राहत ल्याएको पीडितहरू बताउँछन् ।

हेलिकोप्टरमा आएका नेताले हजारौं पीडित भएको क्षेत्रमा दुई÷चार बोरा चामल तथा चिउरा राहत छोडेर गएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्थमणि जयसवालले बताए । शुक्रबारदेखि सोमबारसम्मको अविरल वर्षाका कारण हालसम्म जिल्लामा १९ जनाले ज्यान गुमाइसकेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ ।