दशैंका दशदिन, कुन देवीको पूजा गर्ने ?

353

विशेष गरी नवरात्रको नौ दिनमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजा गरिन्छ ।

यसमध्ये पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथिवीतत्वको प्रतीकको रूपमा लिन सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथिवी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।

दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसम अनुसार स्वस्थ रहन सदैव ब्रह्मचर्यको कति आवश्यकता पर्दछ भनिरहन पर्दैन । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिनु समीचिन हुनेछ ।

तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने कुरो माथि प्रस्ट भइसकेको छ । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकको रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यकता पर्दछ । चन्द्रघण्टाको उपासनाले पनि यथार्थमा यही नै वकालत गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।

चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिण्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि स्वरूप हो । यसको उपासनाबाट मानिसको खाद्य आहार समग्र वनस्पति जगतलाई नै रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ ।

त्यस्तै पाँचौ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । स्कन्दमाता भन्नाले वनस्पति जगतको पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्ष्यमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगतको अधिष्ठात्री शक्तिलाई नै मजबुत बनाउने प्रयास नभएर के नै होला र ।

छैठांै दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तत्व र सातौं दिन पूजा गरिने कालरात्री शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिको रूपमा लिन सकिन्छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैंमा नै प्रस्ट छ ।

आठांै दिन पूजा गरिने महागौरीलाई बुद्घि तत्व र नवौं दिन पूजा गरिने सिद्घिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ ।

 यसरी नौ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दशमीको दिन मान्यजन एवं गुरुजनहरूको हातबाट प्रसादको रूपमा टीका र जमरा लगाउनाले वर्षदिनसम्म दुःख, दुर्भिक्ष, दुर्भाग्य निवारण भई प्रेम, सद्भाव र आयु, आरोग्य वृद्घि हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।