पढाउन छोड्दै, विहे गर्दै शिक्षिका

576

गर्भवती र सुत्केरी अर्काे समस्या

बलराम प्यासी
काठमाडौं ।
मंसीर विहेको लगन भएको महिना हो । मंसीरमा विहेको ६ वटा लगन परेको छ । ६ र ७ गतेको विहेको लगन सकियो भने १२ मंसीरदेखि २५ सम्म थप ४ वटा लगन बाँकी छ । त्यसपछि माघमा २४ गते एउटामात्रै विहेको लगन जुरेको छ भने यो वर्षको विहेको लागि अन्तिम लगन भएको महिना फागुन हो । फागुनमा ८ वटा विहेको लगन छ । त्यसो त वडादशैंको टिका अर्थात विजयादशमीको साइत पारेर कति जोडीले घरजम नै शुरु गरिसकेका छन ।

विहेको लगन या साइत जुर्नेहरुका लागि पति पत्निसंगै नयाँ घरबार शुरु हुन्छ । अपवाद वाहेक उनीहरु र उनीहरुका घरपरिवार विहेबारीमा खुसी नहुने कुरै हुँदैन । तर विहेको लगन या विहेको मौसममा दुःखी हुनेहरु पनि छन भन्दा अचम्म लाग्न सक्छ । विहेको मौसममा दुःखी हुने चाँहि शिक्षिकाहरुलाई रोजगारी दिँदै आएका नीजि विद्यालय र कलेज सञ्चालकहरु हुन भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।


कारण के हो भने विहेको मौसममा विद्यालयमा पढाईराखेका शिक्षिकाहरु विहेगरी नयाँघरमा प्रवेश गरेसंगै उनीहरु शिक्षण पेशा छाड्न वाध्य हुने गरेकोले नै हो । ‘करीव एकसयजना शिक्षिकामध्ये विहेपछि अध्यापनमा फर्किने २५ प्रतिशतमात्रै हुन्छन, ७५ प्रतिशत शिक्षिका त घरमै बस्छन’—विद्यालय सञ्चालकहरु गुनासो गर्छन ।

नयाँ शैक्षिक सत्रको शुरुका तीन महिना अर्थात विहे हुने लगन भएको महिनाहरु बैशाख, जेठ र असारमा विहे गर्ने शिक्षिकाहरुप्रति विद्यालय या कलेज सञ्चालकहरु जसरी सजिलोसंग शिक्षिकालाई विदा दिन राजी हुन्छन, त्यतिनै शैक्षिक सत्रको अन्तिम ताका अर्थात विहेको लगन भएका मंसीर, माघ र फागुनमा विहेको लागि विदा दिन कठिन ठान्छन ।

शिक्षकहरु विहेको लागि केही दिन विदा लिएतापनि उनीहरु फेरी काममा फर्किने गरेका छन, जवकि शिक्षिकाहरु भने पारिवारिक कारणले विवाहमा भित्रिएको नयाँघरबाट शिक्षणका लागि जाने अनुमति कमैमात्र पाउँछन । जसले गर्दा विद्यालय र विद्यार्थी दुवैलाई घाटा हुने गरेको विद्यालय सञ्चालक गुनासो गर्छन ।
नीजि तथा आवाशिय विद्यालय संगठन प्याब्सन भक्तपुरका अध्यक्षसमेत भईसकेका मेरीगोल्ड इंगलिस सेकेण्डरी स्कुल बालकोटका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठ भन्छन ‘शैक्षिक सत्रको अन्त्यताका विहेको कारण शिक्षिकाहरुले विद्यालय छोड्दा उनको ठाउँमा नयाँ शिक्षक पाउन कठिन हुन्छ ।’
हरेक वर्ष दोहोरिराख्ने यस्ता समस्याका कारण पठनपाठनमा समस्या देखिन थालेपछि सो विद्यालयले केहीवर्षदेखि विवाहिता शिक्षिकालाई मात्रै रोजगारी दिन थालेको छ ।


त्यसो त राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल हाइयर सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल राजु राई पनि विहेको लगन भएको महिनामा कुनै शिक्षिकाले पढाउन छोडेर विहे गर्नतिर लाग्छन कि भन्ने चिन्ता लाग्ने गरेको बताउँछन ।
शिक्षिकालाई नगर भन्न पनि नमिल्ने, तर विहेका कारण शैक्षिक सत्रको अन्त्यतिर कक्षाको अन्तिम परीक्षा सञ्चालन हुने समयमा नयाँ योग्य र अनुभवी शिक्षक पाउन समस्या हुने प्रिन्सिपल राई बताउँछन ।

उता मोतिटार टिकाथलीस्थित इन्श्राइन नेशनल सेकेण्डरी स्कुलकी संस्थापक प्रिन्सिपल सत्यवती थापा राना पनि अध्यापनमा दत्तचित्त भएर लाग्ने शिक्षिकाहरु विहेपछि जागीर छोड्नेमात्रै नभई पहिलो या दोस्रो बच्चा जन्माउने बेलामा पनि ३÷४ महिना गर्भवती र सुत्केरी विदा बस्नुपर्ने कारणले गर्दा अध्यापनमा निकै समस्या हुने गरेको बताउँछिन ।

त्यसो त आफु पनि महिला नै भएतापनि विद्यालय सञ्चालकको रुपमा हेर्नुपर्दा विद्यार्थीको पठनपाठनलाई पहिलो प्राथमिकता दिनुपर्ने आफ्नो वाध्यता रहेको उनी बताउँछिन । ‘त्यसैले अविवाहिता र गर्भवती शिक्षिका विद्यालयको लागि अप्ठेरो विषय हो’—उनी भन्छीन ।