गाउँपालिका वडाध्यक्षको भारतमा ४ वटा कोठी

320

काठमाडौं, महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका छन् ।

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष भएको खुलेको कार्कीले जानकारी दिए । ‘सुनबहादुर मानव बेचबिखनको आरोपमा पक्राउ परेका हुन् । उनी वडाध्यक्ष हुन् । उनको कहाँ के छ, त्यस सम्बन्धमा अनुसन्धान हुँदै छ,’ कार्कीले भने ।

कहाँ–कहाँ छन् कोठी ?

प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।

‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।

मुद्दा खेपिरहेका वेला कांग्रेसबाट विजयी

स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ४९ वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

१० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए । ३१ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले बताए । तामाङको अर्को तारेख आगामी ११ पुसमा छ ।

यस्तो छ सुनबहादुरको विगत

०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । उनीहरूले नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए । सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे ।

नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरविरुद्ध उजुरी गरे । प्रहरीले उनलाई पक्राउ प¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् ।

छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै

प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।