भक्तपुरमा मतदाता संख्या १ लाख ६१ हजार ५ सय २९

442

आगामी ३१ वैशाखमा हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चार नगरपालिकाका ३८ वडामा ७८ मतदान केन्द्र निर्धारण गरेको हो ।निर्वाचन कार्यालयका अनुसार कुल मतदाता १ लाख ६१ हजार ५ सय २९ रहेकामा सबैभन्दा बढी भक्तपुर र सबैभन्दा कम मतदाता चाँगुनारायण र सबैभन्दा बढी मतदान केन्द्र सूर्यविनायकमा छन् ।

कार्यालय प्रमुख उमेश राईका अनुसार भक्तपुर नगरमा रहेका १७ मतदान केन्द्रमा कुल मतदाता संख्या ५२ हजार ९ सय ३० रहेको छ । भनपामा स्थानीय तहको नयाँ संरचनाअनुसार १० वटा वडा छन् ।यसैगरी, सबैभन्दा बढी मतदान केन्द्र रहेको सूर्यविनायक नगरपालिकामा ३७ हजार ९ सय ५७ मतदाता रहेका छन् । सो नगरमा २३ मतदान केन्द्र तोकिएको छ । नयाँ संरचनाअनुसार सूर्यविनायकमा १० वटा वडा छन् ।

मध्यपुर थिमी नगरपालिकामा रहेका १७ मतदान केन्द्रमा ३६ हजार ५४ मतदाता रहेको निर्वाचन प्रमुख राईले राजधानीलाई जानकारी दिए । उनका अनुसार स्थानीय तहको नयाँ संरचनाअनुसार थिमी नपामा ९ वटा वडा छन् ।चारमध्ये चाँगुनारायण नगरपालिकामा भने सबैभन्दा कम मतदाता छन् । नगरमा तोकिएका २१ मतदान केन्द्रमध्ये कुल मतदाता संख्या ३४ हजार ५ सय ८८ रहेको छ । सो नगरमा स्थानीय तहको नयाँ संरचनाअनुसार नौवटा वडा छन् ।

त्यस्तै, स्थानीय तह निर्वाचनका लागि भक्तपुरमा ३५ राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार साना÷ठूला, संसद्मा प्रतिनिधित्व गर्ने÷नगर्ने गरी कुल ३५ दलले निर्वाचनका लागि दल दर्ता गराएको निर्वाचन प्रमुख अधिकृत राईले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा कार्यक्रम सुरु गरी तयारी तीव्र बनाएको छ । पहिलो चरणमा मतदाता शिक्षाअन्तर्गत १ सय ९७ स्वयंसेवकलाई तालिम प्रदान गरिसकिएको छ ।‘कसरी मतदान गर्ने ?’ भनेर प्रत्येक घर तथा टोलमा प्रशिक्षण र निर्वाचनका पोस्टर पम्पलेट टाँस्ने कार्य थालनीसमेत भएको छ ।