काठमाडौंमा एउटा ट्राफिकको भागमा साढे ८ सय गाडी, रोकिएला हर्न निषेध ?

608

राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि ‘हर्न निषेध’ अभियान सुरु गरेको छ । महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पुर्‍याउने चेतनामूलक जानकारी समेत राखेर उक्त अभियान थालेको छ । घण्टौंको ट्राफिक जामले काठमाडौं उपत्यकाको सडक यातायात अस्तव्यस्त हुने गरेको छ ।

अत्यधिक सवारी संख्या, साँघुरो सडक, सडक विस्तार, पछिल्लो समय मेलम्ची खानेपानीका लागि भत्काइएको सडक लगायतका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएपपछि सडकमा हरनहर बढि बज्जे गरेका छन् । महानगरीय ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा एकजना ट्राफिकको भागमा झण्डै ८ सय ५० सवारी साधन पर्छ ।

उपत्यकाको सडकको लम्बाई १ हजार ५ सय ९५ किलोमीटर र बाग्मती अञ्चलमा दर्ता सवारीसाधन ९ लाख २३ हजार रहेको आधारमा एक ट्राफिक प्रहरीको कार्य क्षेत्रमा उक्त संख्याका सवारी साधन पर्न गएको हो ।

त्यस्तै, एक ट्राफिक प्रहरीको भागमा १ दशमलव ४६ किलोमिटरको सडक व्यवस्थापनको जिम्मेवारी पर्ने प्रहरीको भनाई छ । हाल उपत्यकामा १ हजार २ सय ट्राफिक जनशक्ति रहेका छन् । उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न २०६३ सालदेखि २३ इकाईमा १ हजार ८५ दरबन्दीसहित महानगरीय ट्राफिक प्रहरी रहेकोमा सवारी साधनको चापको कारण अस्थायी रुपमा १५ इकाई स्थापना गरी ३८ इकाईमा १ जना १५ काजमा रहेका छन् ।

सवारी साधनको चापअनुसार काठमाडौं उपत्यकामा जनशक्ति कम रहेको ट्राफिक प्रहरी बताउँछ । विशेषगरी काठमाडौं उपत्यकाको थापाथली, वल्खु, कलंकी, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, लैनचौर, सातदोबाटो, वालाजु लगायतका क्षेत्रमा अत्यधिक जाम हुने गरेको छ । त्यस क्षेत्रमा नै बढि हर्नहरु बज्ने गरेका छन् ।

दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइने
यो नियम लागू भएपछि दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइन्छ। एउटा घुमाउरो बाटो र अर्को दुर्घटना हुने जोखिम अवस्थामा मात्रै सवारीचालकलाई हर्न बजाउने नियममा छुट दिइएको छ।

यसबाहेक हर्न बजाए प्रहरीले कारबाही गर्ने व्यवस्था छ। हर्न बजाएमा पहिलोचोटिका लागि पाँच सय, त्यसपछि क्रमशः एक हजार, १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ। सडकमा गुड्ने सम्पूर्ण सवारीसाधनका लागि यो नियम लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। निजी, सार्वजनिक मात्र नभएर सरकारी र प्रहरी गाडीमा पनि यो नियम लागू हुनेछ।