सार्क स्याटेलाइट प्रक्षेपण,

785

नेपालसहित सार्क देशलाई १० हजार करोड फाइदा 

काठमाडौँ: भारतले शुक्रवार साउथ एसिया स्याटेलाइटको प्रक्षेपण गरेको छ । यसलाई भारतले मोदीको तर्फबा सार्क देशका लागि उपहारका रुपमा ब्याख्या गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार, सञ्चार उपग्रह (जीस्याट-९) को प्रक्षेपण आज जीएसएलबी-०९ रकेटबाट श्रीहरिकोटाको अन्तरिक्ष उडानस्थलबाट गरिएको हो ।

यो स्याटेलाइटले सार्क देशबीच सञ्चार र सम्पर्कलाई बढाउनका लागि ठुलो सहयोग गर्ने भारतको दाबी छ । यस उपग्रहको उद्देश्य दक्षिण एसियाका देशबीच सम्पर्क, सञ्चार र आपतकालिन सहयोग उपलब्ध गराउने काममा सहयोग गर्नु रहेको छ।

यस सफलतापछि सार्क देशका ६ राष्ट्राध्यक्षले एकसाथ भिडियो कन्फ्रेन्सिङ्गमार्फत विश्वलाई एउटा सन्देश दिएका छन् । यस अवसरमा अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जीस्याट-९ बाट भारत, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, भुटान र मालदीभ्सलाई फाइदा पुग्ने बताए । यसले अन्तरिक्षमा दक्षिण एसियाको क्षमता बढ्ने उनले जिकिर गरेका छन् ।

यस योजनालाई प्रधानमन्त्री मोदीको महत्वकांक्षी योजनाकारुपमा हेरिएको छ । यसलाई इसरोले कम्तिमा १२ वर्षसम्म चल्ने बनाएको छ । यस परियोजनामा भाग लिने देशहरूले ३६ देखि ५४ मेगाहर्ज क्षमताको ट्रान्सपोन्टर पठाउन सक्छन् ।

यसको प्रयोग आन्तरिक प्रयोजनका लागि गरिनेछ । परियोजनामा सहभागी देशहरूले भारतलाई १२ वर्षमा ९६ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । यो स्याटेलाइटका लागि भारतले ४५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

“साउथ एसिया स्याटालाइटको सफल प्रक्षेपणले यहाँको पुरै क्षेत्रलाई फाइदा मिल्नेछ । आजको दिन ऐतिहासिक हो। यसबाट सार्क देशको विकासमा सहयोग मिल्नेछ”, मोदीले भनेका छन्, ”म अफगानिस्तान, भुटान, मालदीभ्स, श्रीलंका, बंगलादेश र नेपालका प्रमुखलाई धन्यवाद दिन्छु । यो हामी सबैको मिलिजुली प्रयास हो । जसले सबै देशका मानिसबीच राम्रो प्रशासन, बैंकिङ, सञ्चार सम्बन्ध, शिक्षा र मौसमको पनि जानकारी मिल्नेछ ।”

यो स्याटेलाइटले ८० किलोग्राम रसायन इन्धनबाट एक दशकसम्म पृथ्वीको चक्कर लगाउनेछ । सामान्यतया २००० देखि २५०० किलोसम्मको स्याटेलाइट प्रक्षेपण गर्न २०० देखि ३०० किलोसम्म रसायन इन्धन प्रयोग हुन्छ ।

भारतीय सञ्चारमाध्यमले यो स्याटेलाइट प्रक्षेपणपछि भारतले अन्तरीटक्षमा तीब्र फड्को मारिरहेको उत्तरी छिमेकी चीनको असर घटाउन खोजेको टिप्पणी गरेका छन् । चीनले सन् २००७ यता ‘स्पेस डिप्लोमेसी’ को माध्यमबाट विभिन्न देशसँग सम्बन्ध विस्तार गरिरहेको छ ।

चीनले आफ्ना लागि तथा भेनेजुएला, नाइजेरिया, पाकिस्तान र श्रीलंकासहित कयौँ देशका लागि स्याटेलाइट बनाएर प्रक्षेपण गरिसकेको छ । चीनले भने धेरै देशका लागि साझा स्याटेलाइट पठाउन चासो दिएको छैन । भारतले यो सार्क स्याटेलाइटमार्फत दक्षिण एसियामा चीनको प्रभाव घटाउन चाहेको बताइन्छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख ए एस किरण कुमारले पाकिस्तान यस सञ्चार उपग्रह परियोजनामा सामेल हुन नचाहेको बताए । पाकिस्तानलाई छाडेर यस परियोजनामा दक्षिण एसियाका सबै देश सामेल भएका छन् । यो स्याटालाइट १२ वर्ष भन्दा धेरै समयका लागि डिजाइन गरिएको हो ।

जीस्याट-९ बाट आउने डाटा नेपाल, भूटान, मालदीभ्स, बंगलादेश र श्रीलंकालाई पनि बाँडिने तयारी भारतले गरेको छ । यस योजनासँग आवद्ध हुन पाकिस्तानलाई पनि आग्रह गरिएको थियो । तर उसले आफ्नै अन्तरीक्ष योजना रहेको बताउँदै इन्कार गरिदिएको छ।

स्याटेलाइटको कमसेकम एक ट्रान्सपोन्डर सार्कका सबै देशका लागि उपलब्ध हुनेछ । जसबाट उनीहरुलाई एक दोस्रोसँग जोडिन मद्दत मिल्नेछ । यो परियोजनामा अफगानिस्तानलाई पनि जोड्ने योजना भारतले बनाएको छ ।

यस योजनामा भाग लिने सार्क देशलाई करिब १० हजार करोड रुपैयाँ भन्दा धेरैको फाइदा हुने अनुमान गरिएको छ । प्रत्येक देशले यसका लागि आफ्नो मूल आधारभूत ढाँचाको विकास गर्न जरुरी छ । भारतले यस परियोजनाबाट सार्क देशलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

यस स्याटेलाइट योजनामा भाग लिने देशलाई सुरक्षित हटलाइन उपलब्ध गराउने क्षमता पनि छ । यस क्षेत्रमा भूकम्प, चक्रवात, बाढी, सूनामी आदि आइरहन्छ । यी प्राकृतिक विपत्तिका बेला महत्वपूर्ण सञ्चारसम्बन्ध उपलब्ध गराउन मद्धत मिल्नेछ ।

२२३० किलोग्रामको उपग्रहलाई तीन वर्ष लगाएर बनाइएको यो यो पुर्णरुपमा एक सञ्चार उपग्रह हो।