के हो ‘वागनर समूह’, कहाँ–कहाँ छ परिचालन ?

108

रुसले सन् २०१४ को अप्रिलमा युक्रेनको क्राइमिया प्रायद्वीपमाथि कब्जा जमाएको केहीपछि युक्रेनका पूर्वी क्षेत्र दोनेत्स्क र लुहान्स्कमा सुरु भएको पृथक्तावादी युद्धका क्रममा ‘वागनर समूह पहिलोपटक सार्वजनिक भएको हो । पूर्वी युक्रेनमा रुस समर्थित पृथक्तावादी शक्तिलाई समर्थन गर्दै युक्रेनविरुद्ध लड्न भाडाका सैनिक परिचालन गरेर ‘वागनर समूह’को उदय भएको थियो । त्यसयता भाडाका सेना परिचालन गर्ने यो समूह केही अफ्रिकी देश र सिरियासमेतमा विस्तारित भएको छ । आधिकारिक रूपमा ‘पिएमसी (प्राइभेट मिलिटरी कम्पनी) वागनर ग्रुप’ नामले चिनिने यो समूहको नाम रुसी सेनाका स्पेसल फोर्सका लेफ्टिनेन्ट कर्णेल डिमित्री युत्किनको उपनाम ‘वागनर’बाट राखिएको हो । उनी पनि वागनर समूहको संस्थापक भएको ठानिन्छ ।

रुसले गृहयुद्धमा राष्ट्रपति वसर अल असदलाई समर्थन गरेको सिरियामा पनि वागनरका सेना परिचालित छन् । वागनर समूह लिबियामा खलिफा हिफ्टरका पक्षबाट लडिरहेको छ र मुअम्मर गद्दाफीका छोरालाई राष्ट्रपति बनाउन चाहन्छ । यो समूह सेन्ट्रल अफ्रिकन रिपब्लिक मालीमा पनि सञ्चालित छ । भाडाका सेना र हतियार उपलब्ध गराउने धन्दाबाट अफ्रिका छिरेको वागनरले त्यहाँका केही मुलुकमा सुन र हिराका खानी समेत सञ्चालन गर्ने गर्छ ।

पछिल्लो समय प्रिगोजिनले रोस्तोभ र बेल्गोरोडलगायत रुसका सीमावर्ती क्षेत्रमा आफ्ना सेना फिर्ता गरिरहेका थिए । प्रिगोजिनले अहिले आफ्नो कमान्डमा पूर्वी युक्रेनको भीषण लडाइँमा संलग्न २५ हजार सेना रहेको दाबी गरेका छन् । शनिबार बिहान टेलिग्राममा पोस्ट गरिएको एक सन्देशमा प्रिगोजिनले रक्षामन्त्री र रुसी सेना प्रमुखविरुद्ध उठाइएको यो कदममा आवश्यक परे वागनर समूहका सबै सदस्य मर्न तयार रहेको धम्कीसमेत दिएका छन् । ‘हामी सबै मर्न तयार छौँ । सबै २५ हजार र त्यसपछि अर्काे २५ हजार पनि मर्न तयार छौँ,’ प्रिगोजिनले भनेका छन् ।

को हुन् येवगेनी प्रिगोजिन ?

रुसको सैन्य नेतृत्वविरुद्ध देखिएका येवगेनी प्रिगोजिनको विगत सनसनपूर्णी र अविश्वसनीय छ । सेन्ट पिटर्सबर्गमा सन् १९६१ मा जन्मिएका येवगेनी १८ वर्षको उमेरमै चोरीको आरोपमा पक्राउ परी दोषी ठहर भएका थिए । तर, सन् १९८१ मा दोस्रोपटक पनि चोरी अपराधमा पक्राउ परेपछि भने उनलाई १२ वर्षको जेल सजाए सुनाइयो । उनी नौ वर्ष जेलमा बिताएर सन् १९९० मा जेलबाट छुटेका थिए । त्यसपछि आमासँग पाउरोटी बेच्न थालेका उनी थुप्रै रेस्टुरेन्ट र क्याटरिङ व्यवसायसहित यो क्षेत्रका अग्रणी बन्न पुगे ।

क्याटरिङ सेवाबाटै पुटिनसँग उनको सम्बन्ध स्थापित भयो । उनले क्रेमलिनलाई सेवा दिन थाले र ‘पुटिनका सेफ’ उपनामले समेत चिनिन थाले । पछि उनी मिडियालगायत अन्य क्षेत्रमा पनि विस्तार भए । उनको ट्रोल फ्याक्ट्री ‘इन्टरनेट रिसर्च एजेन्सी’ले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई प्रभावित गरेको भनेर अमेरिकाले प्रतिबन्ध नै लगाएको छ ।

गत मेमा दिएको एउटा अन्तर्वार्तामा उनले आफूसँग ५० हजार सेना रहेको र तीमध्ये ३५ हजार अग्रमोर्चामा रहेर लडिरहेको बताएका थिए । अमेरिकाले पनि युक्रेनमा वागनर समूहबाट ५० हजारले लडिरहेको आकलन गरेको थियो, जसमध्ये १० हजार भाडाका र अन्य ४० हजार कैदीबन्दी रहेको उसको आकलन थियो । बख्मुतको युद्धमा वागनर समूहले प्रतिमहिना १० करोड डलर खर्च गरेको बताइन्छ । बख्मुतमा वागनरका कम्तीमा २० हजार सेना मारिएको आकलन छ ।