भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको अध्यक्षमा साङगाछेँ

16
भक्तपुर ।  भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग सङ्घको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायीहरूले सरकारले सेवा र सुविधा नदिने तर तीन तहको सरकारबाट तेब्बर कर असुलेर व्यवसाय धराशायी बनाएको वक्ताहरूले बताएका छन् । कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष तेवीन्द्ररत्न शाक्यले सरकारले साना व्यवसायीलाई करको चाङ्ग थोपरेको तर ठुला व्यवसायीलाई भने जे गरे पनि छुट दिएर विभेद गरेको बताउनुभयो । उहाँले सरकारले लगाएको करले डरलाग्दो अवस्था आएको बताउँदै भन्नुभयो, “गिद्धले सिनो हरेर बसेजस्तै गरी आन्तरिक राजस्व कार्यालय बसिरहेको छ, हरेक शीर्षकमा थर थोपरिरहेको छ, अवस्था डरलाग्दो छ । अब अन्तःशुल्क कर ९५०० पनि तिर्ने कि नतिने अन्योलमा परेका छौँ ।”
उहाँले व्यवसाय बचाउन गुणस्तरीय खाना दिनुपर्ने बताउँदै गुणस्तर विभागले पनि अनावश्यक अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले देशैभरि ८ हजार पार्टी प्यालेसहरू रहेको बताउँदै सङ्घले करिब ८० हजार नागरिकलाई रोजगारी दिएको बताउनुभयो । उहाँले व्यवसाय बचाउन र सरकारलाई झकझक्याउन पनि व्यवसायीहरू एक ढिक्का हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरकी अध्यक्ष रोशनीमैया धौबञ्जारले अनुगमनको नाममा बेइमान भइरहेको भन्दै उद्यमी व्यवसायीमैत्री अनुगमन हुनुपर्ने बताउनुभयो । पार्टी प्यालेस सङ्घले सामाजिक कार्यमा सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका बागमती प्रदेश संयोजक एवं प्रवक्ता गोकुल देसारले राज्य पक्षबाट एक पछि अर्को कर थोपरेर व्यवसाय नै धरापमा पार्ने कार्य सबत्र भइरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्घका ललितपुर अध्यक्ष एवं सङ्घका केन्द्रीय महासचिव हिमकशोर कामदाङ राईले सामाजिक सुरक्षा ऐन २०३३ मा ५१ जना भन्दा बढी उपस्थिति गराएर भोजभतेर गर्न नपाउने व्यवस्था तत्काल समयानुकूल परिमार्जन गर्नु पर्ने बताउनुभयो ।
उहाँले व्यवसाय धरापमा पार्ने काम राज्य पक्षले गरिरहेको भन्दै कर कार्यालयले भ्याट किन कम तिरिस भनेर ताकेता गर्ने गरेको, दसैँ आएपछि अनुगमन गरेर दुःख दिने गरेको गीत सङ्गीत रोयल्टी तिराउन पार्टी प्यालेसमा पत्राचार र ताकेता गरिरहेको बताउनुभयो ।
कार्यक्रम पार्टी प्यालेस सञ्चालकहरूलाई क्षेत्रफलको आधारमा वार्षिक २० हजार ३० हजार, ५० हजार र ७५ हजारको दरले लगाएको कर मान्य नहुने बताउनुभयो । यसै अवस्थामा सङ्घले रायल्टी नतिर्ने उहाँले बताउनुभयो । राज्यले क्याटरिङ्ग व्यवसायलाई रु. ६५०० र पार्टी प्यालेसलाई रु. ९५०० का दरले अन्तःशुल्क लगाउनु व्यवसाय धराप बनाउनु राज्य पक्षको षड्यन्त्र भएको भन्दै दशै‌तिहारमा स्थानीय सरकारदेखि विभिन्न निकायले गर्ने अनुगमनको आतङ्कले सबै व्यवसायलाई मारमा पारेको बताउनुभयो । अधिकार प्राप्त निकायले जुनसुकै बेलामा पनि अनुगमन गर्ने अधिकार भए पनि दसैँ र तिहारमा मात्रै अनुगमन गर्नुको पछाडि के छ भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “एउटा युट्युबेलाई क्यामरा बोकाएर स्थानीय सरकार, खाद्य संस्थान, गुणस्तर विभाग, आन्तरिक राजस्व कार्यालयले अनुगमन गर्नु, करोडाै‌ लगानी गरेर बनाएको व्यवसाय धरापमा पार्ने गरी गोप्य स्थानको समेत भिडियो खिच्ने, गोपनीयताको अधिकार हनन गर्ने र बन्द कोठामा निरीक्षण गरेर करोडाै लगानी गरेर वर्षौँ लगाए कमाएको साखलाई २ मिनेटमै सिद्ध्याउने गरी अनुगमन हुने गरेको छ, यो आपत्तिजनक छ ।”
 भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले कोभिडमा सङ्घले धेरै काम गरेको स्मरण गर्दै रोयल्टीमा आतङ्क मच्चाएर राज्यले माओवादी कालको चन्दा आतङ्कको झल्को दिएको बताउनुभयो ।
 उहाँले भन्नुभयो, “पार्टी प्यालेसमा गीत बजाएको भन्दै रोयल्टी उठाउने भन्दै जथाभाबी रोयल्टीको आतङ्क मच्चाएको देख्दा माओवादीको चन्दा आतङ्कको आभास भएको छ । यसको विरुद्ध आवाज उठाउनुपर्छ ।”
 कर छली गर्नेलाई राज्यले केही गर्न नसकेको तर नियमित कर तिर्नेलाई राज्यका तीन तहले विभिन्न कर थोपरेर आतङ्क मच्चाएको बताउनुभयो । उहाँले स्थानीय सरकारले बहाल करको नाममा ज्यादती गरेको र जथाभाबी करको दायरा बढाएर मारमा पारेको बताउनुभयो ।
पार्टी प्यालेसहरूले देशभरमा ५० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र अर्को एक लाखलाई अप्रत्यक्ष रोजगारी दिएको भन्दै सरकारले जबर जस्ती गरे सबै मजदुरलाई लगेर श्रम मन्त्रालय घेराऊ गर्ने भनाई राख्नुभयो। सरकारले पार्टी प्यालेस एवं क्याटरिङ्ग व्यवसायलाई पनि सेवा मूलक संस्थाका रूपमा सूचित गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष सचिन्द्र श्रेष्ठले संस्थाको प्रगति विवरण पेस गर्दै संस्थाको आवश्यक काम, समस्या समाधानका लागि संस्था मै क्रियाशील भएको बताउनुभयो ।
 उहाँले कार्यक्रममा सङ्घका सदस्यहरूको सहभागिता कम भएकोमा चासो व्यक्त गर्दै देशका लागि आवश्यक पर्दा सङ्घले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सङ्घले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन निर्माणका लागि रु. १ लाख ५० हजार र सडकमा सिसी क्यामरा जडान गर्नका लागि ८५ लाख सहयोग गरेको बताउनुभयो । कार्यक्रममा सङ्घको दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै सङ्घले अध्यक्ष सचिन्द्र श्रेष्ठलाई सम्मान गरेको छ । सङ्घका सचिव राजेन्द्र देउजाले सञ्चालन गर्नु भएको थियो ।
सङ्घमा नयाँ नेतृत्व चयन 
सङ्घको पाँचौँ अधिवेशनले सर्वसम्मत रूपमा शान्ताराम साङगाछेका अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सङ्घको उपाध्यक्षमा राजेन्द्र देउजा, सचिवमा इन्द्रभक्त श्रेष्ठ, सहसचिवमा मोहनलाल श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण चरण चौगुठी निर्वाचित हुनु भएको छ । त्यस्तै सङ्घको सदस्यहरूमा भक्तलाल श्रेष्ठ, विष्णु थापा, ईश्वर श्रेष्ठ, महेश प्रजापति र शिवभक्त ह्यजु निर्वाचित हुनु भएको छ ।