असोज १ बाट आन्तरिक उडान खुलाउने तयारी

353

काठमाण्डौ । कोरोना भाइरसका कारण लामो समय देखि देशका विमानस्थलहरू बन्द अवस्थामा रहेका छन् । तथापि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार उडान तथा हाल केहीअन्तर्राष्ट्रिय उडानहरू भइरहेको छ । नियमित उडान हुँदा दैनिक ५५ वटा सम्म उडान हुने विमानस्थलमा हाल ५, १० वटा मात्र उडानहरू भइरहेको छ । हामीले नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीसंग कोरोना भाइरसका बाबजुत आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडानको सम्भावना तथा चुनौतीहरूबारे कुराकानी गरेका छौं । साथै त्रिभुवन विमानस्थललाई व्यवस्थित बनाउन के–कस्ता कार्यहरू भइरहेका छन् । सो बारे पनि जानकारी लिने प्रयास गरेका छौं ।

यहाँ नेपाल नागरिक उड्ययन प्राधिकरणमा लामो समयदेखी हुनुहुन्छ, हिजोको अवस्था र आजको दिनमा के फरक पाउनु हुन्छ ?
पहिला र अहिलेमा धेरै नै फरक छ । मैले जागिर खान सुरु गर्दा ४, ५ वटा मात्र अन्तर्राष्ट्रिय उडान हुन्थ्यो । अहिले सिजनमा दैनिक ५५ वटा सम्म उडान हुने गरेको छ । आन्तरिक अन्तर्गत नेपाल वायुसेवा मात्र थियो । तर अहिले निजी हवाई कम्पनी नै १० वटा छन् । पहिला र अहिलेमा त धेरै नै परिवर्तन भएको छ ।

कोरोनाका कारण विमानस्थलहरू पनि लामो समय रोकिए, अब नियमित उडानहरू कहिलेबाट हुन्छ ?
यतिबेला चार्टर उडानहरू संगै अन्तर्राष्ट्रिय उडानहरू भइरहेको छ । तर पनि कोरोना भाइरसका कारण त्यति धेरै उडानहरू हुन सकिरहेको अवस्था छैन । यसबारे सरकारले पुनर्विचार गरेको होला नै । विगतमा ५५ वटा सम्म उडान हुन्थे भने अहिले अन्तराष्ट्रिय उडानहरु ५, १० ओटा मात्रै भइरहेको छ । तर यो बिस्तारै बढ्ने क्रममा छ ।

अहिले अन्तर्राष्ट्रिय उडानहरू केही मात्रामा भइरहेपनि आन्तरिक उडानहरू चाहिँ भइरहेका छैनन् । अब आन्तरिक उडान कहिलेबाट सुचारू होला, के छ तयारी ?
यतिबेला नेपालभित्र तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण पनि आन्तरिक उडानहरू हुन नसकिरहेको हो । विशेष गरी तराई क्षेत्र तिर निकै नै फैलिरहेको छ । असोज १ गतेबाट आन्तरिक विमानस्थलहरू खोल्ने र आन्तरिक उडानहरू पनि गर्ने तयारी रहेको छ । शुरुमा पहाडी क्षेत्रमा सञ्चालन गर्न दिने जहाँ कोरोनाको प्रभाव अलि कम रहेको छ । त्यसपछि बिस्तारै तराईका जिल्लाहरू थप्दै जाने भन्ने पनि रहेको छ । अब सुरक्षाका मापदण्डहरू अपनाउँदै विमानस्थलहरू खोल्नु नै पर्ने हुन्छ ।

कोरोना भाइरस मानिस-मानिस बिच नै सर्ने रोग हो । अहिले विश्वभरी नै महामारीको अवस्था छ । यस्तो अवस्थामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू नियमित रुपमा सञ्चालन गर्न कत्तिको सम्भव छ ?
यसमा म दुईवटा कुराहरू भन्न चाहन्छु । पहिलो कुरा सुरक्षाको मापदण्ड अपनाउनु पर्छ र त्यसलाई निकै कडिकडाउ गर्नुपर्छ । अहिले दिनमा ५ वटा नियमित उडानहरू भइरहेका छन् भने अब १५ वटा सम्मलाई अनुमति दिनुपर्छ । त्यस्तै आन्तरिक तर्फ पनि सुरक्षाका मापदण्डहरू अपनाएर सञ्चालन गर्नुपर्छ । दोस्रो कुरा यात्रुहरू आफैं पनि सचेत रहनु पर्यो । यो खाली सरकारको मात्रै काम होइन । हामी नागरिक आफैं पनि सचेत हुन आवश्यक छ ।

अब थोरै प्रसंग बदलौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुँदा आन्तरिक तथा बाह्य उडानहरूको चाप निकै नै बढी छ । यस्तो अवस्थामा विमानस्थलको पार्किङ्गस्थलहरू पनि त थप्ने कुरा आउलान्, त्यस सम्बन्धमा के–कस्ता कामहौ भइरहेका छन् ?
त्रिभुवन विमानस्थलको पार्किङ्ग अलिकति साँघुरो भएर थप्ने कार्यहरू भयो । म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धक हुँदा मेरै कार्यकालमा विमानस्थलको पूर्वपट्टी दुईवटा पार्किङ्ग बनायौं । अर्को दक्षिणपट्टी ठूला–ठूला जहाज राख्ने पार्किङ्ग बन्दैछ । त्यो पनि चाँडै सञ्चालनमा आउँछ । काठमाडौंको ट्राफिक अब बढ्यो भने धान्न गाह्रो हुन्छ भनेर भैरहवामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगिसकेको छ । उक्त विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा अाएपछि धेरै सहज हुन्छ ।