दलित नेता रामनाथ कोविद भारतका राष्ट्रपति निर्वाचित

398

नयाँ दिल्ली : रामनाथ कोविद भारतका आगामी राष्ट्रपति निर्वाचित भएका छन्। सरकारपक्षीय उम्मेदवार कोविदले दुई तिहाई मत ल्याउँदै आगामी राष्ट्रपतिका लागि सिट सुरक्षित गरेका हुन्।

बिहारका पूर्व गभर्नरसमेत रहेका उनलाई सरकारले फलोअर र थप सुरक्षाकर्मी उपलब्ध गराएको छ। उनको उत्तर प्रदेशमा रहेको घरमा समेत सुरक्षाकर्मी परिचालन गरिसकेको छ। ७१ वर्षीय कोविदले जुलाई २५ मा राष्ट्रपतिको पद ग्रहण गर्नेछन् –

भारतका आगामी राष्ट्रपति कोविद को हुन् त? धेरैलाई चासोको विषय हुनु स्वभाविक हो।

पढ्नुस् कोविदका दश तथ्य

१.    ७० वर्षीय कोविद कानपुरका दलित नेता हुन्। उत्तर प्रदेशमा दलितको संख्या ठूलो रहेकाले उनको उम्मेदवारीलाई भाजपाको हिन्दी बाहुल्य भएको युपीमा पकड जमाउने रणनीतिका रुपमा लिएको छ। सन् १९९८ देखि २००२ सम्म भाजपाको दलित मोर्चाका अध्यक्षसमेत रहिसकेका छन् उनी।

२.    कोविद उत्तर प्रदेशबाट राज्यसभामा दुई पटक निर्वाचितसमेत भइसकेका छन्। पेशागत रुपमा अधिवक्ताका हैसियतले उनी भारतको सर्वोच्च अदालतमा वकालत गर्थे। सन् २००२ मा संयुक्त राष्ट्रसंघको महासभामा उनले सम्बोधनसमेत गरेका छन्।

३.    कानपुर कलेजबाट कानुनमा स्नातक गरेका उनी दिल्लीमा इन्डियन एडमिनिस्ट्रेटिभ सर्विस (आइएएस) को परीक्षा दिँदा दुई पटक फेल भएका थिए भने तेस्रो पटकमा सफल। तर, सफल भए पनि उनी सेवामा छिरेनन्।

४.     उनले कानपुरमा रहेको आफ्नो पुर्ख्यौली घर समुदायलाई सुम्पिएका छन्। समुदायले त्यसलाई वारात घर अर्थात् सामुदायिक भवनका रुपमा प्रयोग गरिरहेको छ।

५.    सन् १९७७ मा भाजपा प्रवेश गर्नुअघि उनले प्रधानमन्त्री मोरारजी देसाईका निजी सचिवका हैसियतमा काम गरेका थिए।

६.    कोविदका उम्मेदवारहरुले निर्वाचनमा महत्वपूर्ण सफलता पाएका छन्। सन् २०१२ को उत्तर प्रदेशको निर्वाचनमा राजनाथ सिंहले कोविदको सहयोगमा चुनावी अभियान गरेका थिए। युपीमा उनलाई लामो समयदेखि मायावतीको बलिया प्रतिपक्षीका रुपमा बिजेपीले स्वीकारेको थियो।

७.    बिहार गभर्नरका रुपमा उनको नियुक्तिलाई आगामी संसदीय निर्वाचनमा दलित समुदायको भोट तान्ने रणनीतिका रुपमा लिइएको थियो।

८.    बिहारका मुख्यमन्त्री नितीशकुमार भने उनको नियुक्तिलाई लिएर सन्तुष्ट थिएनन्। उनले संविधानविपरित नियुक्ति गरिएको आरोप लगाउँदै आएका थिए।

९.    बिहार गभर्नरका हैसियतमा कोविदले लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवलाई सपथ ग्रहण दोहोर्या उन लगाएका थिए। हिन्दी शब्द ‘अपेक्षित’लाई ‘उपेक्षित’ उच्चारण गरेको भन्दै कोविदले सपथ ग्रहण दोहोर्याएका थिए।

१०.    यद्यपि, विजेपीले दलित र पिछडिएको समुदायबाट उम्मेदवार पाएको छ जो पहिले उत्तर प्रदेशका कानुन व्यवसायीसमेत रहेका थिए। राष्ट्रपतिका रुपमा उनलाई उभ्याएपछि बिजेपीमाथि लाग्ने गरेको ‘माथिल्लो जातिको प्रतिनिधित्व गर्ने पार्टी’को इमेजलाई सन्तुलनमा ल्याएको छ।