निर्वाचनैपिच्छे लालपूर्जाको आश्वासन

352

बर्दिबास । रामेछापका विष्णु कार्की बर्दिबासको गौरीबासमा बस्न थालेको झन्डै ५२ वर्ष बित्यो । तर, उनको हातमा अहिलेसम्म लालपूर्जा छैन । रामेछाप पुख्र्यौली घर भएका उनी औलो उन्मूलन क्षेत्र घोषणा भएपछि  बर्दिबास झरेका हुन्, पितापुर्खासहित  ।

“सुरूमा त्यसै बस्यौँ । पछि पञ्चभलाद्मी राखेर कागज गरेर जग्गा किनबेच र साटफेर हुन थाल्यो,” उनी भन्छन्, “यहाँ कसैको पनि नम्बरी जग्गा छैन ।”

२०२२ सालदेखि ०४८ सालसम्म जग्गा नापी होला र लालपूर्जा पाइएला भनेर आशैआशमा बसेका उनी २०४८ सालदेखि हरेक चुनावमा मुख मिठ्याउँदै आएका छन् ।

बाटोघाटोदेखि चुल्होचौकोसम्म भोट माग्न आउने नेताहरूले निर्वाचनैपिच्छे लालपूर्जाको आश्वासन नदिएका होइनन् । तर ती आश्वासन पूरा भएनन् ।
बर्दिबास–३ की इन्दिरा लामाले त लालपूर्जा आउने आश मरिसकेको बताइन् । “चुनावमा उठ्नेजत्ति उमेदवारले लालपूर्जा दिन्छौँ भन्दै भोट माग्न आउँछन्, तर लालपूर्जा दिन सक्दैनन्,” उनले भनिन् ।

बर्दिबास नगरपालिका–३ को सिंगै वडा लालपूर्जाविहीन छ भन्दा हुन्छ । स्थानीय तह निर्वाचनताका त्यहाँको मतदाता संख्या ४ हजार ०४८ थियो । ती मतदाताको मुख्य माग नै लालपूर्जा बनेको छ यतिबेला ।

बर्दिबास–३ कै तीर्थ श्रेष्ठले पनि नम्बरी जग्गा नभएकालाई लालपूर्जा दिलाउँछु भन्दै भोट माग्ने बाटो भएको आक्रोश पोखे ।

“लालपूर्जा नहुँदा जग्गा धितो राखेर गाह्रो फुकाउन पाइएको छैन । सहजढंगबाट बिक्रिसमेत हुँदैन, निकै अप्ठ्यारो झेलेका छौँ,” उनले भने ।
ऐलानी जग्गाको समस्या झेल्ने गौरीबास एक्लो होइन । कालापानी, रानीबासलगायत ठाउँमा पनि ऐलानी जग्गाको समस्या छ । तर, यी चुनावका मसलामात्रै बन्ने गरेको मतदाताको गुनासो छ ।

कूल ८० हजार ५६३ मतदाता रहेका महोत्तरी–१ मा प्रतिनिधिसभातर्फ १२ जना प्रत्यासी छन् । र, ती गौरीबास आउने ती सबैजसो उमेदवारले लालपूर्जा दिलाइदिन्छौँ भनेर आश्वासन दिने गरेका छन् ।

के भन्छन् उमेदवार ?

०६४ बाट जनमोर्चाबाट र ०७० मा माओवादी पार्टीबाट चुनाव जितेका गिरिराजमणि पोखरेल ऐलानी जग्गामा बसोबास गरेकालाई लालपूर्जा दिलाउने वाचा गर्छन् । र, यसपटक पनि उनी महोत्तरी–१ बाट वाम गठबन्धनको उमेदवार बनेका छन् ।

गौरीडाँडामा नै ‘आधारशीला’ निर्माण गरी संयुक्त बसोबास गर्दै आएका पोखरेल विगतमा अस्थायी सरकार निर्माण हुँदा लालपूर्जा वितरण प्रक्रिया अघि बढाउन नपाइएको बताउँदै वामपन्थी गठबन्धनको सरकार बने लालपूर्जा वितरण गर्न सहज हुने आँकलन गर्छन् ।

त्यस्तै कांग्रेसका उमेदवार सीताराम भण्डारी चुनाव जिते पनि हारे पनि ऐलानी जग्गामा बसेकालाई लालपूर्जा बाँड्ने दाबी गर्छन् । “हामीले जित्यौँ भने सीधै लालपूर्जा बाँड्छौँ । जितेनौँ भने पनि ताकेता गर्छौं, लालपूर्जा दिलाई छाड्छौँ,” उनको प्रतिवद्धता थियो ।

मतदाता भने ०४८ सालदेखि नै उमेदवारहरूले प्रतिवद्धता जनाए पनि आश्वासन पूरा नहुनेमा विश्वस्त छन् ।

निर्वाचनको अंकगणित

महोत्तरी क्षेत्र नम्बर १ मा २०४८ देखि २०५६ सम्म लगातार कांग्रेसले जित्दै आएको थियो । ०४८, ०५१ र ०५६ मा महेन्द्र यादवले चुनाव जितेका हुन् ।

०६४ को पहिलो संविधानसभाको निर्वाचनमा गिरिराजमणि पोख्रेलले १० हजार १९६ मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी एमालेका अरुणकुमार सिंहले ८ हजार ८४६ मत ल्याए । त्यस्तै कांग्रेसका कमलाकुमारी ढुंगेलले ६ हजार ६१ मत ल्याएकी थिइन् । मधेस, पहाडी मूलको मिश्रित बसोबास रहेको उक्त क्षेत्रबाट तमलोपाका रामकृष्ण महतोले ५ हजार ६३३ मत ल्याएका थिए ।

त्यस्तै ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीका गिरिराजमणि पोखरेलले १० हजार ८१५ मत ल्यायी विजयी बने । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चिरञ्जीवी हमालले ८ हजार ९१९ मत पाए । राष्ट्रिय मधेस सद्भावना पार्टीका तर्फबाट शरदसिंह भण्डारीले ७ हजार ०४९ मत ल्याउँदा एमालेका दुर्गाकुमारी दहालले २ हजार २७७ मत पाएकी थिइन् ।

पछिल्लो संरचनाअनुसार महोत्तरी–१ बर्दिबास नगरपालिका, गौशाला नगरपालिका, भँगाहा नगरपालिकाका वडा नम्बर ३, ४, ५, ९ समेटिएर बनेको छ ।

स्थानीय तहमा पाएको मतको विश्लेषण गर्ने हो भने एमाले– माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको २३ हजार ८८४ मत रहेको छ । त्यस्तै कांग्रेस– राप्रपा गठबन्धन पनि कमजोर छैन । उनीहरूको २३ हजार १७० मत रहेको देखिन्छ । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टीको १० हजार १२ हजार ६३५ मत रहेको छ ।

अक्षर काका / शिवनारायण गिरी