कांग्रेसको पराजयको प्रमुख कारण कमजोर आन्तरिक लोकतन्त्र

585

– जगत प्रजापति
मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । प्रत्यक्षतर्फको प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिटका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा नै वाम गठबन्धनसँग नेपाली कांग्रेस निक्कै पछि परेको थियो ।

यो क्रम अन्तिम मत परिणाम आउन लागेको बेलासम्म जारी छ । निर्वाचनको नतिजाले प्रत्यक्षतर्फ कांग्रेस तेस्रो ठूलो दल बन्ने निश्चित भईसकेको छ । उसले सात मध्ये कुनै पनि प्रदेशमा सरकार बनाउन सक्ने अवस्था देखिँदैन । यद्यपी समानुपातिकतर्फको मतगणनामा कांग्रेस अग्रस्थानमा रहेको छ । समानुपातिकतर्फको मतले कांग्रेसलाई दोस्रो ठूलो बनाउने झिनो आशा बाँकी रहेको छ ।
निर्वाचनको नतिजासँगै कांग्रेसभित्र हारको कारणका बारेमा लेखाजोखा हुन थालेको छ । कांग्रेसका केही नेताहरुले पार्टीको पुनःसंरचनाको आवाज उठाएका छन । यद्यपी नेतृत्व तहमा रहेका नेताहरुले यस बारेमा मुख खोलेको भने छैन ।
कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो ।

आवधिक निर्वाचन मार्फत जनताले आफ्नो शासक चुन्ने अवसर हो निर्वाचन । जनताले पार्टीले गरेका क्रियाकलाप र उनीहरुले लिएको नीतिका आधारमा दण्ड र पुरस्कार दिने माध्यम निर्वाचन हो । यसैलाई आधार मान्ने हो भने सम्पन्न निर्वाचनमा कांग्रेसको पराजयलाई जनताले कांग्रेसले लिएको नीति र योजना नरुचाएको संकेतको रुपमा लिन सकिन्छ । तर कांग्रेसका उम्मेदवारहरुले प्राप्त गरेको मतलाई हेर्ने र विष्लेषण गर्ने हो त्यही नै कारण हो भन्ने ठोकुवा गर्न सकिँदैन ।
अहिलेको परिस्थितीमा कांग्रेसको हार अस्वभाविक होईन स्वभाविक हो । किनकी नेकपा एमाले र माओवादी केन्द्रसँगै जनमोर्चा, मशाललगायतको गठबन्धन भएको बेला कांग्रेसले ऐजेण्डा र संगठन विहिन राप्रपासँग गठबन्धन गर्नु गलत थियो । मधेशवादी दलहरुसँग गठबन्धन गर्न नसक्नु अर्को कमजोरी हो । तिन वटा शक्तिशाली दलहरु मध्ये दुई वटाबीच गठबन्धन भएको अवस्थामा अर्को दलको हार निश्चित हो । यद्यपी कांग्रेसका धेरै उम्मेदवारहरु २ हजार भन्दा कम मतले पराजित हुनुले कांग्रेस कमजोर छैन, जनताबीच अलोकप्रिय छैन भन्ने तथ्य पनि स्थापित गरेको छ । घोषित मत परिणामले पनि नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन नभएको भए कांग्रेसको बहुमत आउन सक्ने सम्भावना देखिएको छ ।
यो निर्वाचनमा कांग्रेसका धेरै हस्ती नेताहरु पराजय भएका छन । उनीहरुको पराजयमा कांग्रेसको संगठन भन्दा पनि उनीहरुकै अहमता प्रमुख कारण हो । जहिले पनि आफ्नै हात माथि पर्नुपर्ने, जनताको भावना बुझ्न नसक्ने, आफ्नै आसेपासे र नातेदारलाई मात्र अवसर दिने यस्ता नेताहरुकै कारण कांग्रेसको छवी धुमिलिएको हो । तर डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, नविन्द्रराज जोशी जस्ता केही असल नेताहरुको पराजय कांग्रेसको लागि दुःखद पक्ष हो ।
यो चुनाव कांग्रेस हार्नुको अर्को कारण पार्टीका नेताहरुको दम्भ, अहमता र आसेपासे पोस्ने, टिकट वितरणमा अनियमिता पनि हो । अहिले कांग्रेस नेताहरुका दम्भ र अहमता पराजित भएको छ भन्दा अतिशयोक्ति नहोला किनकी पार्टीको लोकप्रियता समानुपातिकले देखाएको छ ।
कांग्रेसका नेताहरुले चुनाव हार्नुमा अरु पनि धेरै कारणहरु हुन सक्दछन । यसबारेमा थप छलफल र विष्लेषण हुने नै छ । कांग्रेसले निर्वाचनको नतिजाबाट पाठ सिकेर धेरै कुरामा सुधार गर्नुपर्ने देखिएको छ । गगन थापाले जितपछि प्रतिक्रिया दिँदै पार्टीमा तलदेखी माथिसम्म सुधारको खाँचो औंल्याउनुभएको छ । सुधार तलबाट माथि होईन माथिबाट तलसम्म खाँचो छ । सबैभन्दा पहिला नैतिकताको आधारमा पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिएर नयाँ नेतृत्वको लागि तत्काल विशेष महाधिवेशन गर्नुपर्छ । कांग्रेसले सबै भन्दा पहिले आफ्नो आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्नुपर्छ ।
लोकतन्त्रको हिमायती कांग्रेसको आन्तरिक लोकतन्त्र निक्कै कमजोर रहेको छ । कांग्रेसको विभाजनसँगै कांग्रेसमा आन्तरिक लोकतन्त्र ध्वस्त भएको छ । पार्टी विभाजन र एकिकरणपछि पनि कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास व्यक्तिवादमा रुपान्तरण गरेको छ भन्दा अतिशयोक्ति नहोला ।
पार्टी एकिकरणको अवस्थामा मुलुकको राजनैतिक अवस्थाका कारण तत्कालिन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको मियोको रुपमा रहेकोले तत्कालिन समयमा कोइरालाले लिएको नीतिका बारेमा कसैले विरोध गर्न सक्ने अवस्था थिएन । पार्टीको १२ औं महाधिवेशनसँगै स्व. सुशिल कोइराला कांग्रेसका सभापति बने तर उहाँले पाँच वर्षमा पार्टीको आन्तरिक संगठन बिस्तार गर्न सक्नु भएन । लोकतन्त्रको कुरा गर्ने कांग्रेसले पार्टीको केन्द्रिय कार्यसमितिलाई पूर्णता समेत दिन सक्नु भएन । उहाँले पटक पटक प्रयास गरेपनि तत्कालिन अवस्थामा कोइरालासँग पराजित वर्तमान सभापति शेरबहादुरले ४०÷६० को भागवण्डाको राजनीति शुरु गरेका कारण कोइराला सफल भएन । पार्टीको संगठन निर्माणको आधार भातृ संगठनहरु नेविसंघ, तरुण दल, महिला संघहरुको महाधिवेशन समेत गर्न सकेन ।
१३ औं महाधिवेशनका क्रममा देउवाले पार्टी कोइरालाप्रति पार्टीलाई विधि र विधान अनुरुप चलाउन नसकेको आरोप लगाए जुन सत्य थियो तर त्यो सत्यतामा आफुपनि भागिदार रहेको बिर्से । यद्यपी १३ औं महाधिवेशनले देउवालाई सभापति बनाए तर महाधिवेशन भएको दुई वर्ष बितीसक्दा पनि उनले पनि पार्टीलाई विधि र विधान अनुरुप चलाउन सकेको छैन । ६ महिनामा पूर्णता दिने र गठन गरिसक्नु पर्ने पार्टीको केन्द्रिय समिति, विभागहरुलाई पूर्णता र गठन गर्न सक्नु भएको छैन । निर्वाचनको मुखमा गठन गरेको संसदिय समिति समेत विधान विपरित गठन गरे । यस्ता हर्कतले कांग्रेसले लोकतन्त्रको जति माला जपे पनि जनताले कसरी पत्याउने ?
कांग्रेसले पराजय भोग्नुको विभिन्न कारणहरु मध्ये आफुलाई वाम गठबन्धन भन्दा अब्वल देखाउन नसक्नु नै हो । एकाएक एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएपछि कांग्रेसले पनि बेग्लै खालको रणनीति लिनु पर्दथ्यो जस्मा कांग्रेस असफल मात्र भएन उसले वाम गठबन्धनले जस्तो स्थायी सरकार जस्ता लोकप्रिय नारा समेत तय गर्न सकेन । वाम गठबन्धनले एकोहोरो रुपमा स्थायी सरकारका लागि मत मागिरहेको अवस्थामा कांग्रेसले रक्षात्मक शैलीमा वाम गठबन्धनको बहुमत आए अधिनायकवाद आउँछ भनेर उसलाई मत नदिन आग्रह मात्र गरे । जुन तर्कलाई जनताले पत्याएन ।
अबको पाँच वर्ष कांग्रेसले जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । वामपन्थी सरकारले ल्याउने योजनाको सुक्ष्म अध्ययन गरेर त्यसलाई चिरेर अघि बढ्न सक्ने नेतृत्व तयार गर्नुपर्छ । त्यसका लागि पार्टी लोकतान्त्रिक मूल्य र मान्यताका साथ सञ्चालन गर्न जरुरी छ । अहिलेको जस्तो व्यक्तिवादी चरित्र हावी हुँदैं जाने हो भने कांग्रेसको अस्तित्व प्रजा परिषदको जस्तो हुन धेरै समय लाग्दैन ।