झण्डै दोब्बर मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमलाई किन घाटा ? (कुरा यस्तो छ )

312

काठमाडौं । पटक–पटक इन्धनको मूल्यवृद्धि गरिएको भन्दै केही विद्यार्थी संगठनले सडकमा आन्दोलन जारी राख्दै गर्दा करिब एक महिनाको अवधिमा तीनपटक मूल्यवृद्धि गर्दा पनि नेपाल आयल निगमले आफूलाई मासिक २६ करोड ४० लाख रुपैयाँ नोक्सान रहेको दाबी गर्दै आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको पछिल्लो मूल्यसूचीअनुसार जनवरी १६ तारिखसम्म निगमको मासिक घाटा २६ करोड ४० लाख रहने दाबी गरिएको छ । आईओसीले हरेक अंग्रेजी महिनाको १ र १५ तारिख अन्तर्राष्ट्रिय मूल्यअनुसारको नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सरकारले केही समय स्वचालित मूल्य प्रणाली लागू गरेको भए पनि हाल त्यसको समसामयिक प्रयोग हुन सकेको छैन । स्वचालित मूल्य प्रणालीअन्तर्गत नयाँ मूल्य आउने बित्तिकै त्यसका आधारमा इन्धनको मूल्य घटबढ गर्नुपर्ने हुन्छ । तर, निगमले पुरानो ऋण चुक्ता गर्ने निहुँमा केही महिना अघि इन्धनको मूल्यमा भारी गिरावट आउँदा पनि मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो । त्यस्तै इन्धनको मूल्य अत्याधिक वृद्धि हुँदा पनि निगमले निर्वाचन तथा विभिन्न बाहनामा सरकारले अवरोध गर्दा त्यसअनुसार मूल्यवृद्धि गर्न पाएको छैन । यस अर्थमा अहिले स्वाचालित मूल्य प्रणाली निष्कृयजस्तै छ ।

निगमलाई कुन इन्धनमा नाफा घाटा के छ ?

नेपाल आयल निगमको पछिल्लो तथ्यांकअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८३ पैसा नाफा रहेको छ । जसका कारण पेट्रोलबाट मासिक १० करोड ८६ लाख रुपैयाँ नाफा रहेको छ । त्यस्तै डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७१ पैसा नोक्सान हुँदा निगमलाई मासिक ३७ करोड ४६ लाख रुपैयाँ घाटा रहेको छ ।

मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ ८० पैसा नाफा हुँदा निगमलाई मासिक ३ करोड २२ लाख रुपैयाँ नाफा रहेको छ । हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १५ रुपैयाँ नाफा हुँदा निगमलाई ७ करोड ९० लाख रुपैयाँ नाफा रहेको छ । साथै अन्तर्राष्ट्रियतर्पm प्रतिलिटर २९ रुपैयाँको दरले मासिक ३५ करोड ७४ लाख रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । तर, एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ ३० पैसा नोक्सान हुँदा मासिक ४६ करोड ४६ लाख रुपैयाँ नोकसान भई कुल घाटा मासिक २६ करोड ४० लाख रुपैयाँ रहेको निगमको दाबी छ ।

इन्धनको खरिद मूल्य कति छ ?

निगमले आईओसीसँग पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ २६ पैसा, डिजेल ५४ रुपैयाँ २४ पैसा, मट्टितेल ५४ रुपैयाँ ३७ पैसा, हवाई इन्धन ५३ रुपैयाँ १० पैसाका दरले खरिद गर्दै आएको छ । त्यस्तै एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १ हजार ६६ रुपैयाँ ४५ पैसा रहेको निगमले जनाएको छ।

खरिद मूल्यभन्दा झण्डै दोब्बरमा बिक्री गर्दा पनि किन घाटा ?

सामान्यतया निगमले खरिद गरेको मूल्यभन्दा बिक्री मूल्य झण्डै दोब्बर रहेको छ । यो अवस्थामा निगमलाई किन घाटा ? सबैतिरबाट उठ्ने प्रश्न हो । निगमभित्रको अनियमितता तथा चुहावटका कारण निगम घाटामा जाने विषय त छँदै छ । त्यसमा पनि इन्धनमा कयौं थरीका कर लगाउने भएकाले उपभोक्तासम्म पुग्दा इन्धनको मूल्य उच्च हुने गरेको छ ।

कति लाग्छ त कर ?

नेपाल आयल निगमको तथ्यांक अनुसार पेट्रोलमा प्रतिलिटर भन्सार शूल्क १५ रुपैयाँ २३ पैसा, सडक मर्मतसम्भार कर ४ रुपैयाँ, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपैयाँ, प्रदूषण शूल्क ५० पैसा, मूल्य स्थिरिकरण कोष १ रुपैयाँ २ पैसा, मूल्य अभिवृद्धि कर ११ रुपैयाँ ७३ पैसा, ढुवानी खर्च २ रुपैयाँ २२ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ६९ पैसा गरी कुल ४१ रुपैयाँ ९९ पैसा कर लाग्दै आएको छ ।

यस्तै डिजेलमा प्रतिलिटर भन्सार शूल्क २ रुपैयाँ ३ पैसा, सडक मर्मतसम्भार कर २ रुपैयाँ, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपैयाँ, प्रदूषण शूल्क ५० पैसा, मूल्य स्थिरिकरण कोष ७९ पैसा, मूल्य अभिवृद्धि कर ९ रुपैयाँ ९ पैसा, ढुवानी खर्च ३ रुपैयाँ ३८ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ५१ पैसा गरी कुल २३ रुपैयाँ ९१ पैसा कर लाग्दै आएको छ ।

मट्टितेल प्रतिलिटर भन्सार शुल्क २ रुपैयाँ ३ पैसा, मूल्य स्थिरिकरण कोष ७९ पैसा, ढुवानी खर्च २ रुपैयाँ २२ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३७ पैसा गरी कुल ६ रुपैयाँ १७ पैसा कर लाग्दै आएको छ ।

यसैगरी हवाई इन्धन (आन्तरिक) प्रतिलिटर भन्सार शुल्क २ रुपैयाँ १३ पैसा, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपैयाँ, मूल्य स्थिरिकरण कोष ९० पैसा, मूल्य अभिवृद्धि कर १० रुपैयाँ ३५ पैसा, ढुवानी खर्च २ रुपैयाँ २७ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३९ पैसा र फ्युल कर २४ पैसा गरी कुल २१ रुपैयाँ ९१ पैसा कर लाग्दै आएको छ ।

त्यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर भन्सार शुल्क शून्य दशमलव १३ पैसा, बूढीगण्डकी जलविद्युत्को लागि पूर्वाधार कर ५ रुपैयाँ, मूल्य स्थिरिकरण कोष ९२ पैसा, मूल्य, ढुवानी खर्च २ रुपैयाँ २७ पैसा र बीमा खर्च शून्य दशमलव ३ पैसा, प्रशासनिक खर्च शून्य दशमलव ६० पैसा, प्राविधिक नोक्सानी शून्य दशमलव ३५ पैसा र फ्युल कर २८ पैसा गरी कुल ९ रुपैयाँ ४७ पैसा कर लाग्दै आएको छ ।

एलपी ग्यास प्रतिसिलिन्डर भन्सार शुल्क ५७ रुपैयाँ ४५ पैसा, मूल्य स्थिरिकरण कोष १३ रुपैयाँ ७५ पैसा, मूल्य अभिवृद्धि कर १ सय ५४ रुपैयाँ ५० पैसा, बीमा खर्च १ रुपैयाँ २३ पैसा, प्रशासनिक खर्च ८ रुपैयाँ ५२ पैसा गरी कुल २ सय ३५ रुपैयाँ ४५ पैसा कर लाग्दै आएको छ ।