मेनपावरका विज्ञापनमा फ्रि भिसा र टिकट, कामदारसँग भने ५ लाखसम्म असुली

564

काठमाडौं– अधिकांश म्यानपावर कम्पनीले पत्रपत्रिकामा विज्ञापन गर्दा फ्रि भिसा र फ्रि टिकटसहित रोजगारीमा जाने कामदारको माग गरेका हुन्छन्। म्यानपावर कम्पनीहरूले विज्ञापन फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरे पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग भने ५० हजारदेखि ५ लाख रूपैयाँसम्म असुल्ने गरेको उजुरी परेका छन्। सरकारले तीन वर्षअघि वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो।

तीन वर्ष अघिदेखि वैदेशिक रोजगार व्यवसायीले रोजगारदाता कम्पनीबाट डिमान्ड ल्याएपछि फ्रि भिसा र फ्रि टिकटको विज्ञापन गर्दै आएका छन्।

साउदी, कुवेत, ओमन, युएई, बहराइन, जोर्डन र मलेसियासहित सातवटा देशमा जाने कामदारका लागि फ्रि भिसा र टिकट लागू गरिएको हो। वैदेशिक रोजगार विभागमा आएका धेरै मुद्दामा सरकारले तोकेभन्दा बढी रकम म्यानपावरले लिने गरेका छन्।

काभ्रेका शम्भु थापाले कतार रोजगारीमा जान दीपज्योति ओभारसिज प्रालिमा १ लाख ५० हजार रुपैयाँ बुझाएका थिए। उनी २ महिनाअघि कतार गए, त्यहाँ पुगेपछि नेपालमा सम्झौता भएजस्तो काम र तलब सुविधा नपाएपछि स्वदेश फर्किए। उनले आफूले तिरेको रकम म्यानपावर कम्पनीमा पटक–पटक माग्न जाँदा वास्ता नगरेपछि विभागमा उजुरी गर्न आएको बताए। थापाले विभागमा मेनपावर कम्पनीलाई १ लाख ५० हजार दिएको मुद्दा दर्ता गराएका छन्। यस्तै, पोखराकी ममता गुरुङका श्रीमान् रानिए ओभरसिजबाट एक महिनाअघि युएई गएका थिए।

श्रीमानले सुरक्षा गार्डका लागि म्यानपावरमा ४ लाख २० हजार रुपैयाँ बुझाएको ममताले बताइन्। ममताका श्रीमानले त्यहाँ सुरक्षा गार्डमा काम त पाए, तर नेपालमा भनेजस्तो तलब र सेवा कम्पनीले दिएन। म्यानपावर कम्पनीमा ४ लाखभन्दा बढी रकम बुझाएर रोजगारीमा युएई गए पनि उनीसँग जम्मा १० हजार रुपैयाँ तिरेको प्रमाण मात्र छ।

गुरुङजस्तै म्यानपावर कम्पनीहरुले धेरै रकम लिएको भनेर उजुरी गर्न आउने धेरै हुने गरेको विभागले जनाएको छ। विभागमा फ्रि भिसा र टिकट लागू गरिएका देशमा जाने कामदारले ५ लाख रुपैयाँसम्म तिरेको उजुरी दर्ता भएका छन्। यस विषयमा विभागले तत्काल कारबाही अघि बढाउन सकेको छैन।

विगत ९ महिनामा म्यानपावर कम्पनीहरुले रोजगारीमा जानेहरुसँग १ लाख रूपैयाँभन्दा बढी रकम उठाएको ५ सयभन्दा बढी उजुरी परेका छन्। व्यवसायीले कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिँदा मौखिक वा अन्य सामान्य सम्झौता मात्र गर्ने गरेका छन्। जसका कारण बढी रकम तिरेको प्रमाण कामदारसँग हँुदैन। सरकारले वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न प्रयास गर्दै आएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्य बताउँछन्। विभागले प्रयास गरे पनि म्यानपावर र एजेन्टले कामदारलाई ठग्ने क्रम नरोकिएको उजुरीले देखाउने उनले बताए।

महानिर्देशक आचार्यले भने, ‘रोजगारीका नाममा हुने ठगी अन्त्यका लागि ठग्ने व्यक्ति तथा म्यानपावर कम्पनीमाथि कारबाही हुन्छ।’

म्यानपावर कम्पनीमाथि अनुगमन नहुँदा ठगी बढ्दै गएको वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन्। वैदेशिक रोजगारीमा जाने कामदारसँग रोजगार व्यवसायीले बढी रकम लिएको उजुरी विभागमा आउनासाथ अनुगमन र आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिनुपर्ने उनको भनाइ छ।

विभागमा चालू आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत र संस्थागत गरी २ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। त्यसमा व्यक्तिगततर्फ ७ सय १४ र संस्थागतमा १३ सय ६९ उजुरी परेको विभागको मुद्दा शाखाले जनाएको छ।

विभागको पछिल्लो तथ्यांअनुसार ७० करोड ६८ लाख ७ हजार रूपैयाँ बिगो दाबीसहित पीडितले उजुरी गरेका छन्। जसमा विभागले संस्थागत र व्यक्तिगत गरी ३७ करोड २० लाख रूपँया क्षतिपूर्ति भराएको छ। हालसम्म व्यक्तिगत १ सय ९८ र संस्थागततर्फ ६ सय ६७ उजुरी फरफारक गरिएको विभागले जनाएको छ।

त्यस्तै, अदालतमा २० करोड ५८ लाख ७७ हजार ६ सय २ रुपैयाँ बिगो दाबीसहितका मुद्दा पठाइएको विभागले जानकारी दिएको छ। अदालतमा संस्थागततर्फको बिगो दाबी परेको छैन। फ्रि भिसा र टिकट लागू भएयता ५ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्।nepallive