नेपालमा यसरी भएको थियो गाडीको सुरुवात

164

नेपालमा हाल १७ लाख गाडीहरू सडकमा गुड्छन् । सडक बिस्तारको काम पनि उत्तिकै तीव्र गतीमा भइरहेको छ । तर नेपालमा गाडी भित्रँदाको अवस्थाबारे यातायात टाइम्सले पाठकहरूका लागि केही जानकारी लिएर आएको छ ।

नेपालमा गाडी भित्रिएको झण्डै एक शताब्दी भइसकेको छ । गेहेन्द्र शम्शेरले काँधमा बोकाएर पहिलोपटक काठमाडौं उपत्यकामा गाडी भित्राएको इतिहास छ । हुन त नेपालमा गाडी चढ्ने पहिलो राणा प्रधानमन्त्री श्री ३ वीर शम्शेर हुन् पनि भनिएको छ । तथापि यसमा फरक मतहरू पनि रहेका छन् । जे होस् राणा शासकहरूले विलासिताको लागि नेपालमा गाडी भित्राएका थिए ।

सबैभन्दा पहिला बेलायतका राजकुमार एडवर्ड शिकार खेल्न गाडी लिएर नेपाल आएका थिए रे । तत्पश्चात् राणा शासकहरूमा पनि गाडीको मोह जागेको बताइन्छ । गाडी चढ्ने मोह भएपनि गाडी गुड्ने बाटो भने नभएको अवस्थामा राणा शासकहरूले नेपालमा पहिलो पटक काठमाडौंमा मोटर ल्याउन वीरगञ्जदेखि मकवानपुर जिल्लाको भीमफेदीसम्म मोटर मार्ग निर्माण गरेका थिए ।

भीमफेदीबाट भने भरियाहरूले काँधमा गाडी बोकेर काठमाडौं उपत्यका भित्राएका थिए । काँधमा बोकेर ल्याएको गाडी जुद्धसडक देखि सिंहदरवार सम्म र अन्य केही स्थानमा श्री ३ राणा प्रधानमन्त्रीहरूले चढ्ने गरेका थिए ।

बिलासिता पूरा गर्न राणा तथा शाह शासक र तिनका परिवाहरूले चार दर्जन गाडीहरू भित्र्याएको इतिहास छ ।

मकवानपुर जिल्लाको चित्लाङ, कुस्ले चौर, मार्खु, पौवा, कुलेखानी र फाखेल क्षेत्रका तामाङ जाति र नेवार समुदायका बलामी थरका भरियाहरूले काँधमा बोकेर गाडीलाई उपत्यका भित्र्याएका थिए । त्यसबेला भीमफेदी देखि काठमाडौं उपत्यका सम्म गाडी बोकेर भित्र्याए वापत उनीहरूले बढीमा ५ आना पारिश्रमिक पाउने गर्दथे । भरियाहरूलाई काँधमा गाडी बोकेर काठमाडौं उपत्यका सम्म ल्याइ पुर्‍याउन ७ देखि ११ दिन लाग्ने गर्दथ्यो ।

वि।सं २०१३ सालमा त्रिभुवन राजपथ काठमाडौंसँग जोडिएपछि काँधमा गाडी बोकेर ल्याउन छाडिएको थियो । यसरी शुरुवात भएको सडक यातायात विकासको क्रममा अहिले हुम्ला र डोल्पा सदरमुकाम बाहेक ७३ जिल्ला सदरमुकाममा सडक सञ्जाल जोडिएको छ ।

पहाडी क्षेत्रमा चार र तराई क्षेत्रमा दुई घण्टाको पैदल यात्रापछि सडक यातायातमा पहुँच पुग्ने गरी सडक बिस्तार भइरहेको छ ।