बलराम प्यासी
काठमाडौ । डिभिजन सडक कार्यालय काठमाडौंका डिभिजनल इन्जिनियर मुकुन्द अधिकारीले विदेशमा कुनैपनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुंग खनेर सडक बनाएको आफुले नदेखेको बताउँदै यस्ता सुरुंग सडक नेपालमा पनि बनाउन सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने बताएका छन् ।
काठमाडौं महानगरपालिका ३२ नं वडा कार्यालद्वारा सम्वन्धित सरोकार वालासंगको छलफल कार्यक्रममा डि.ई अधिकारीले यस्ता सुरुंग बनाएर सडक जाम हटाउन सकिएतापनि यो राष्ट्रिय सुरक्षासंग सम्वन्धित संवेदनशील विषय भएकोले ‘माथि’ (प्रधानमन्त्रीस्तर) बाटै पहल गर्न आग्रह गरे ।
पछिल्लो समयमा विदेशका विमानस्थललाई लक्षित गरी आतंककारी हमला भईराखेको अवस्थामा यस्तो सुरुंगमार्गले सुरक्षामा खतरा पैदा गर्ने अधिकारीको विचार थियो ।
पुर्वको नाकाको रुपमा दिनप्रतिदिन व्यस्त बन्दै गएको कोटेश्वरचोकदेखि जडिबुटी र पुरानो सिनामंगल चोकसम्मको सडक जाम हटाउन ३२ नं वडाका अध्यक्ष नवराज पराजुलीले सरकार समक्ष ५ वटा विकल्प प्रस्तुत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मुनीबाट दुईवटा सुरुंग खनेर सडक छिचोल्नुपर्ने माग राखेका थिए ।
गत २१ मंसीरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अघि स्थानीय जनताले उठाएको सो मागलाई वडाध्यक्ष पराजुलीले सम्वन्धित अधिकारी सामु राखेका थिए ।
वडाध्यक्ष पराजुलीको मागमा नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक बाबुराम पौडेलले सोे विषय तत्कालका लागि कार्यान्वयन गर्न नसकिएतापनि अन्तराष्ट्रिय उड्डयन नीतिसंग सम्वन्धित महत्वाकांक्षी योजना भएको बताए ।
३२ नं वडाभित्रको पुर्वाधार विकासमा प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरु संगको छलफल कार्यक्रममा अध्यक्ष पराजुलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग मुनीबाट पुरानो सिनामंगल चोकदेखि नया सिनामंगल चोक (केएमसी अस्पताल) सम्म र वडा कार्यालय अगाडि पाल्पाकोट देखि तीनकुनेको मुनिभैरव मन्दीरसम्म टनेल बनाइ अन्डरग्राउण्ड सडक बनाउनुपर्ने विकल्प पेश गरेका थिए ।
‘प्राविधिक र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुन्छ भने टनेल खनेर सडक बनाउँदा अहिलेको मात्रै नभई भविष्यमा यसक्षेत्रमा हुनसक्ने सडक जामलाई व्यवस्थित गर्न सकिन्छ’ उनले भने ।
नागरिक उड्डयन प्राधिकरण र डिभिजन सडक कार्यालयका प्रमुखसंग वडाध्यक्ष पराजुलीले ती विकल्प राख्दै त्यसलाई सरकारले समयमै कार्यान्वयन गर्ने हो भने दिनानुदिन बढ्दै गएको कोटेश्वर चोकदेखि जडिबुटीसम्मको जामको समस्या समाधान गर्न सक्ने बताएका थिए ।
यसैगरि जडिबुटीचोक नजिकको मनोहरा पुल मुनिबाट बालकुमारी पुलसम्मको मनोहरा करिडोरको निर्माण कार्य तत्काल सम्पन्न गरी भक्तपुरबाट ललितपुरतर्फ आउने÷जाने सवारी साधन चलाउन सकिने तथा कोटेश्वर चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयको दक्षिणतर्फबाट सिधै मोटरबाटो निकालेर त्यहाँबाट चक्रपथ हुँदै ललितपुरतर्फ जाने सवारी साधन पठाउन सकिने विकल्प प्रस्तुत गरे ।
नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको सो जग्गामा विमानस्थलको राडारसंग प्रत्यक्ष सम्वन्ध राख्ने उपकरणसहितको टावर (भिओआर डिएमई) छ, जसलाई नेपाली सेनाको जगदल गणले सुरक्षा दिईराखेको छ ।
उपकरण रहेको टावरभन्दा निकै पर पर्ने सो ठाउँबाट सडक खोल्दा उपकरणलाई कुनै हानीनोक्सानी नहुने पनि वडाध्यक्ष पराजुलीको दावी छ । ‘बरु सडक खोलेर बाँकी रहने ४ रोपनी खाली जमीनलाई वडाले खुला पार्किंगस्थल बनाउन सकिने’ उनको विचार थियो । यसो गर्दा कोटेश्वरमा रहेको जथाभावी पार्किग पनि व्यवस्थित गर्न सकिने र जाम घटाउनका लागि सडक पनि बन्ने उनले बताए ।
यसैगरि कोटेश्वरबाट जडिबुटी हुँदै पुरानो सिनामंगलतर्फ जाने सवारी साधनलाई विमानस्थलको पुर्वतर्फ रहेको तारवार बाहिरको कच्ची सडकलाई तत्कालैदेखि प्रयोगमा ल्याउन र जडिबुटीबाट कामाख्या पेट्रोलपम्प हुँदै बालकुमारी पुलतर्फ सवारी साधन पठाउन सकिने योजना प्रस्तुत गरे ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रभाग कोटेश्वर र ट्राफिक प्रभाग कोटेश्वरका प्रमुखहरुको पनि सहभागिता रहेको सो छलफल कार्यक्रममा डिभिजन सडक कार्यालयका डि.ई अधिकारीले कोटेश्वर चोकमा ओभरहेड आकासेपुल बनाउने विषयमा भने पहल गर्न सकिने बताए ।
नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक बाबुराम पौडेलले विमानस्थलको पुर्वतर्फ तारबार बाहिरको सडकलाई कालोपत्र गर्न नमिलेता पनि सवारी साधन चलाउन मिल्नेगरि ग्राभेल गरेर त्यसलाई तत्काल सञ्चालनमा ल्याउन सकिने बताए ।