काठमाडौं । अहिले विवादको केन्द्रमा रहेको रानीपोखरी निर्माणको कामलाई सम्पदाको विषयमा बहस गर्ने र यसलाई व्यवसायिक रुपमा अघि बढाउनेपर्ने बहस चलिरहँदा यसको विवादको सुरुवात कहाँबाट आयो ? भन्ने कुरा पनि एउटा बहसको विषय बन्न थालेको छ । अहिले महानगरपालिकाका मेयरलाई यसको मुख्य दोषी मानिनेहरुले भनेजस्तो मेयर विद्यासुन्दर शाक्यले पुरातत्व सम्पदाको महत्व घटाउनको लागि गरेको निर्णय अवश्य पनि होईन । मेयर विद्यासुन्दर शाक्य महानगरपालिकाको प्रमुखको हैसियतमा उनले आफ्ना सहयोगी र कर्मचारीहरुलाई आफ्नो योजना अनुरुपको काममा सहयोगीको रुपमा परिचालन गर्न नसक्नु उनको पनि कमजोरी हो । यो एकठाउँमा छ । तर, यो पुरातात्विक महत्वको रानीपोखरीमा यो विवादको पछाडि मेयर विद्या सुन्दर शाक्य मात्रै भन्दा पनि उनलाई सहयोग गर्ने कर्मचारीहरुको नियतका कारण नै मेयर शाक्य अहिले यति धेरै विवादित बन्न पुगेका छन् ।
रानीपोखरी तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको ड्रिम प्रोजेक्टको रुपमा अघि बढाईएको आयोजना हो । तत्कालीन समयमा ईआईए र आईईए समेत नगरी ठेक्का स्वीकृत गर्दादेखि नै रानीपोखरीमा कानून विपरितको काम सुरु भएको हो । अहिले अफ्टेरो पर्दाखेरी महानगरपालिकालाई दोष लगाएर पन्छिएको तत्कालीन पुरातत्व विभागका नेतृत्वले समेत मिलेमतोमा सो ठेक्काको लागि स्वीकृति दिएका थिए । त्यतिबेला पनि अहिले कंक्रिट राखिएको र आरसिसि पर्खाल लगाईएको भनेर विवाद भएको सो ठाउँमा ढुंगाको पर्खाल लगाउने र त्यसको बीचमा सिमेन्ट राख्ने डिजाईन तयार भएको थियो ।
पुरातत्वले समेत स्वीकृति दिएको सो आयोजनाको ईस्टिमेट कन्स्ट्रक्सन प्लाानिङको लागि भनेर सात करोड रुपैयाँ दिएको थियो । सो डिजाईन अनुसार ढुंगाको बीचबीचमा पनि सिमेन्ट राख्ने डिजाईन चाहिँ पहिले नै पनि स्वीकृत भएको थियो । तर त्यसो सिमेन्ट कसैले पनि नदेख्ने गरी सिमेन्ट राख्ने डिजाईनमा समावेस गरिएको थियो । सो डिजाईनमा पछि ३ करोड रुपैयाँ थप गरेर पहिलो कन्स्ट्रक्सन प्लानिङबापतको रकममै पनि महानगरपालिकाका कर्मचारीहरुले हिनामिना गरी कामको प्रगति देखाएका छन् । यो काममा महानगरपालिकाका सुरेश राई र उत्तर कुमार रेग्मीले मुख्य भूमिका खेलेका छन् । त्यहाँ ८० सेन्टिमिटरको पर्खाल लगाउने व्यहोरा डिजाईनमा उल्लेख भएपनि आरसीसी पर्खाल झण्डै आधा मिटरको लगाईएको छ । तत्कालीन कार्यकारी प्रमुख तामाङकै समयदेखि यहाँ कमिसन र गैरकानूनी कामको सुरुवात भएको हो । रानीपोखरी भित्रको वाटर फाउन्टेनको हिनामिनाको कुरा पनि सँगै आउँछ । यसलाई भने अर्कै अंकमा छलफल गरौंला ।
किन लगाउन थालियो आरसीसी पर्खाल ?
आरसीसी पर्खाल लगाउने विषय पनि राई र रेग्मीकै सुझावमा भएको हो । आरसीसी पर्खाल बनाउँदा ढुंगाको भन्दा पनि धेरै कमिसन आउने देखेपछि डिजाईनमा नै नभएको रानीपोखरीको चारैतिर आरसीसी पर्खाल लगाउन थालियो । महानगरपालिकाका एक अधिकारी भन्छन् त्यहाँ त टनेलपनि सडकमा हाल्नेजस्तो हालिएको छ । पर्खालपनि त्यस्तै भद्दा छ । कामै सुहाउँदो भएको छैन ।
उता आरसीसी पर्खाल निर्माणको ठेक्का नै १ घनमिटरको २८ हजारको दरमा पर्न आउँछ । यसरी चारैतर्फ त्यति अग्लो पर्खाल लगाउने हो भने त्यसबाट कमिसनबापत नै लाखौं रुपैयाँ हिनामिना गर्न सकिने देखेर नै महानगरपालिकाका कर्मचारीहरुले आरसीसी पर्खालतिर बढी जोडबल गरेका हुन् । उनीहरुले पहिले १० करोड रुपैयाँ लिईसकेकोमा त्यो आरसिसी पर्खाल बनाउने विषयमा मात्रै पनि सात करोड रुपैयाँको ठेक्का दिने तयारी गरिरहेका थिए । त्यसैमा विवाद सुरु भएपछि त्यो ठेक्का दिने तयारी नै अहिले रोकिएको हो । अहिलेसम्म ३ चरणमा बनाएको डिजाईनबापतको करिबकरिब ७ करोड रुपैयाँ रानीपोखरीकै नाममा स्वाहा भएको महानगरपालिकाका अधिकारीहरु बताउँछन् ।
यसमा मेयर विद्यासुन्दर शाक्यको मिलेमतो भएको थिएन भने यसरी बलबुताले त्यसैको पक्षमा वकालत गरिरहनु पर्ने पनि थिएन होला । यसरी विवाद सुरु भएपछि महानगरका कर्मचारीहरु आत्तिएर पुरानै शैलीमा रानीपोखरी बनाउने निर्णय गरेर यस अघिका ठेक्का प्रक्रियामा भएका हिनामिनाबाट बच्नको लागि यस्तो गरिएको आरोप समेत लाग्ने गरेको छ । यो ठेक्का प्रक्रियालाई रोकेसँगै तत्कालीन कार्यकारी तामाङको समयदेखि सुरु भएको रानीपोखरीको हिनामिनाको फाईल त्यसै अन्त्य हुन्छ कि अख्तियारले यसमा केही चासो दिन्छ त्यो भने हेर्न बाँकी नै छ ।
के हो बालुवा हराएको विषय ?
हाम्राकुरामा आएको बालुवा हराएको विषय वास्तवमा त्यही आरसीसी पर्खाल बनाउन ठेकेदारले नै तस्करी गर्ने गरेको भेटिएको छ । रातीराती रानीपोखरीबाट बालुवा बाहिर लैजाने र त्यही बालुवालाई नम्बरी बालुवा ल्याएको देखाएर कर्मचारीहरुकै मिलेमतोमा तस्करी गर्ने गरेको भेटिएको हो । सोही मेसोमा केही बालुवा बाहिर पनि बेचिएको भेटिएको छ । यसबारे महानगरपालिकाका मेयरलाई समेत जानकारी भएपनि उनले केही बोल्ने गरेका छैनन् ।
के हुन्छ आरसीसी पर्खाल राख्दा ?
महानगरपालिकाका मेयर शाक्यले भनेजस्तो आरसीसी पर्खाल लगाउँदा त्यो पोखरीमा ताजा पानी आउने ठाउँ हुँदैन । जमिनभित्र पानी जाने र आउने गरेर पानीलाई सधैं ताजा बनाईराख्नको लागि ढुंगाको पर्खालको अवधारणा बनाईएको भएपनि अरुले नदेख्नेगरी भन्दै ती ढुंगाको बीचमा पनि सुरुकै डिजाईन अनुसार समेत सिमेन्ट राख्ने तयारी गरिएको थियो । यसरी पानी र जमिनबीच पानी आवतजावत गर्ने वातावरण मिलाईएन भने यस अघि जसरी त्यहाँ भित्र माछा लगायतका जलचर प्राणीहरु निर्वाध रुपमा ताजा पानीमा रमाईरहेका थिए । त्यो हुन नसक्ने जानकारहरु बताउँछन् । नजिक नजिक ठूला ठूला भवन बनाउने र ईनार मार्फत् पानी तान्ने गर्दा त्यहाँ सीधा माटोमुनीको स्रोतबाट पानी आउने गरेको पनि छैन । त्यसैमा पनि आरसीसी पखाएल लगाउँदा उनीहरुको जलचर प्राणीहरु बाच्नै समस्या पर्ने जानकारहरु बताउँछन् ।