नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च, कसरी भयो सम्भव ?

580

काठमाडौं—चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) ६.९४ प्रतिशत हुने भएको छ । चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा यस्तो अनुमान गरिएको तथ्यांक विभागले मंगलबार जनाएको छ ।

गत आर्थिक वर्ष ०७२-७३ मा यस्तो वृद्धिदर ० दशमलव ०१ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । यसअघि सो आवमा ० दशमलव ७७ प्रतिशत आर्थिक वृद्धि भएको तथ्यांक सरकारले सार्वजनिक गरेको थियो । अघिल्लो आव ०७१-७२ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ९७ प्रतिशत रहेको पनि विभागले जनाएको छ ।

चालू आवमा कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्र (कृषि)को योगदान ३० प्रतिशत, द्वितीयक (उत्पादन)को योगदान १४ प्रतिशत र सेवा क्षेत्रको योगदान ५६ प्रतिशत छ । अर्थतन्त्रमा कृषिको योगदान घटेको तथा उत्पादन र सेवा क्षेत्रको योगदान बढेको विभागको तथ्यांक छ । यो आर्थिक वर्षमा कृषि क्षेत्रको बृद्धि ५.२९ प्रतिशत र गैर कृषि क्षेत्रको ७.७४ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको तथ्यांक विभागले गरेको छ ।

चालू आवमा प्राथमिक क्षेत्रको वृद्धिदर ५ दशमलव ३२ प्रतिशत रहने अनुमान तथ्यांक विभागले गरेको छ । चालु आर्थिक बर्षमा मौसम अनुकुल भएको, कृषि व्यवसायीकरणमा उल्लेख्य प्रगति हुदै गएको, पुनर्निर्माणका लागि वन पैदावरका सामाग्री उत्पादनमा बृद्धि भएको तथा खानी तथा उत्खनन् क्षेत्रको उत्पादन बृद्धि जस्ता कारणहरुले यस क्षेत्रको उत्पादनमा निकै बृद्धि भएकोे विभागले जनाएको छ । त्यस्तै, मूलतः उत्पादनमूलक क्षेत्र (निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी) समेटिने द्वितीयक क्षेत्रको मूल्य अभिवृद्धिदर उत्साहजनक हुने समेत विभागको तथ्यांकमा उल्लेख छ ।

अर्थतन्त्रमा १४ प्रतिशत योगदान दिएको यो क्षेत्रको वृद्धिदर १०.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान विभागले गरेको छ । पुनर्निर्माण कार्यको तिव्रता, उर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन बृद्धिलगायतका कारण यस क्षेत्रको कुल मूल्य अभिबृद्धि बृद्धिदरमा उल्लेख्य प्रगति भएको विभागले उल्लेख गरेको छ । यस क्षेत्रमा पर्ने प्रशोधनमूलक उद्योगको वृद्धि ९ दशमलव ७ प्रतिशत रहने अनुमान विभागको छ । अघिल्लो वर्षका उद्योगको वृद्धि ८ प्रतिशतले नकारात्मक रहेको थियो ।

थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात संचार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेटसेवा क्षेत्रको वृद्धिदर ६ दशमलव ९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । व्यापार क्षेत्र फष्टाउनु, पर्यटनहरुको आगमनमा बढ्नु, होटल, रेष्टुरेण्ट, यातायात तथा संचार क्षेत्रको आर्थिक प्रगति उल्लेखनिय हुनुले यस क्षेत्रमा योगदान गरेको तथ्यांक विभागले जनाएको छ ।

सरकारले बजेटमार्फत चालू आवमा ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । केही समयअघि नेपाल राष्ट्र बैंकले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विश्वबैंक, अन्तरर्राष्ट्रिय मुद्रा कोष तथा एशियाली विकास बैंकले समेत चालू आवमा नेपालको आर्थिक वृद्धि ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण गरेका छन् ।

चालू आवमा सरकारको अपेक्षाअनुरुपको वृद्धिदर हासिल भए २३ वर्षयताकै उच्च वृद्धि हुनेछ । यसअघि आर्थिक वर्ष ०५०–५१ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत भएको थियो । त्यसपछि चालू वर्ष मात्रै आर्थिक वृद्धिदर सात प्रतिशत पुग्ने देखिएको हो । ०४६ पछि आव ०४७–४८ र ०५६–५७ मा नेपालमा ६ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल भएको थियो ।

गत आर्थिक वर्ष ०७२-७३ मा नेपालको अर्थतन्त्र लगभग स्थिर रहेको तथ्यांक विभागले जनाएको छ । सो आवमा आर्थिक वृद्धिदर ० दशमलव ०१ प्रतिशत रहेको विभागको भनाइ छ । यसअघि सो आवमा ० दशमलव ७७ प्रतिशत आर्थिक वृद्धि भएको तथ्यांक सरकारले सार्वजनिक गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण आक्रान्त भएका कारण सो आर्थिक वर्षमा आर्थिक वृद्धि सीमान्त मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकले नाकाबन्दीको प्रभाव सम्बन्धमा गरेको एक अध्ययनले सो आवमा आर्थिक वृद्धिदर नकारात्मक हुने प्रक्षेपण गरेको थियो । यसअघि आव ०५८-५९ मा ० दशमलव १६ मात्रै भएको थियो । यसअघि सन् १९८० र १९८३ मा नेपालको आर्थिक वृद्धि नकारात्मक बनेको थियो । ती दुई वर्ष आर्थिक वृद्धि क्रमशः माइनस २ दशलमव ३२ र माइनस २ दशमलव ९८ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्ष आर्थिक वृद्धिका हिसाबले त्यसपछिकै सबैभन्दा कमजोर रहन पुगेको हो आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।