भक्तपुरमै गुमनाम छन् एचआइभी सङ्क्रमित

21

सञ्जीव दुलाल
भक्तपुर । ‘म भक्तपुरको परम्परागत परिवारमा जन्मेको किसानको छोरा । हाम्रो भक्तपुरमै आफ्नै सानो व्यवसाय छ । म एचआइभी सङ्क्रमित हुँ तर समाजमा अहिलेसम्म कसैलाई पनि यसबारे भन्न सकेको छैन्’ सुमन श्रेष्ठ (परिवर्तित नाम) को समस्या हो यो । उनी भक्तपुरमै परम्परागत रूपमा मिल सञ्चालन गर्दै आएका छन् । त्यसैले उनको आफ्नै व्यवसाय छ जसबाट कमाइ पनि हुन्छ । तथापि बाहिर त के, आफ्नै समुदायमा पनि उनको सङ्क्रमण बारे कसैलाई थाहा छैन ।
यस्तै कहानी छ– रमाकान्त श्रेष्ठ (परिवर्तित नाम)को पनि । ड्राइभर पेसाका रमाकान्त मात्र हैन, उनको परिवारलाई पनि एचआइभी सङ्क्रमण छ । तर उनी पनि समाजमा खुलेर आफूलाई सङ्क्रमण भएको बताउन सकिरहेका छैनन् ।
भक्तपुरमै जन्मिएका उनीहरू दुवैलाई सामाजिक संस्कारले लागु पदार्थ सेवनकर्ता बनायो । ख्यालख्यालमा सुरु गरेका उनीहरू बिस्तारै अम्मली बने । एक प्रकारले भनौँ, उनीहरू नराम्ररी फसे । त्यहीकारण उनीहरूलाई यति बेला हाल एचआइभी सङ्क्रमण(एड्स) ले गाँजेको छ । यसर्थ उनीहरू डरमा त बाँचेका छन् तर विकल्प पनि भेटिरहेका छैनन् ।
नेवार परिवार, घरमा जाँड÷रक्सी त हुने नै भइहाल्यो । जात्रा, पर्व, भोज भतेर आदिका लागि जहाँ गए पनि जाँड वा रक्सीले स्वागत गर्ने संस्कार नै थियो । यद्यपि छ । यसरी जाँड÷रक्सी कुनै नौलो कुरा भएन दुवैका लागि ।
एकदिनको कुरा हो,शिवरात्रिको दिन थियो । साथी भाइले गाँजा खानुपर्छ भने । सबैले खाएको देखेर सुमनले पनि ताने मज्जैले । निकै रमाइलो पनि भयो । त्यसको केही समयपछि आएको होली पनि गाँजा तान्ने बहाना बन्यो सबैका लागि । सुमनले शिवरात्रिको स्वाद सम्झै र पुनःमज्जालिए गाँजाको ।
त्यस पछि त के चाहियो र ?जुनसुकै बेला पनि खाउँखाउँ लाग्ने हुन थाल्यो । अनि अब एकपटक तानौँ, अब अर्को एकपटक तानौँ भन्ने बानी बस्यो । यहीबानी बिस्तार नशामा परिणत भयो । यो नशा यसरी बढ्दै गयो कि अब त सर्कोले पनि नभ्याउने भयो । अरू नशालु पदार्थ प्रति पनि आकर्षण बढ्न थाल्यो । हुँदाहुँदा नशाको सुइ नै लगाउनु पर्ने स्थिति आइलाग्यो ।
पछि गल्ती गरिएछ भनेर होस् त खुल्यो नि’, सुमनले बताए तर त्यतिबेला ढिलो भइसकेको थियो । अर्थात मलाई एचआइभी सङ्क्रमण भइसकेको रहेछ ।
उनले यो थाहा पाएपछि मर्न पनि धेरै पटक प्रयास गरेछन्,धन्न परिवारको मायाले अहिलेसम्म उनलाई जीवितै राखेको छ । अहिले पनि उनी आफ्नो परम्परागत पेसामै आबद्ध छन् । काम गरिरहेको, आम्दानी पनि भइरहेको हुँदा उनी एक प्रकारले चिन्तान्यून गराउन सफल भएका छन् तर उनको सबैभन्दा ठूलो चिन्ताको विषय भने अरूले केही गरी थाहापाएमा आफ्नो थात थलो छाड्नुपर्ने त हैन’भन्नेमा छ ।
भक्तपुर मुलुकको राजधानीसँग जोडिएको जिल्ला हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सबै हिसावले सम्पन्नपनि छ । तर सुमनलाई डर हुनुको कारण चाहिँ अर्कै छ यति भइकनपनि भक्तपुर सङ्कुचित छ । त्यसैले मेरो समस्या थाहा भएमा म प्रति राम्रो व्यवहार हुने छैन । यहीकारण खुल्ने अवस्था छैन । पोल खुले पुख्र्यौलीथलो छाडेर जाउँकहाँ ?
रमाकान्त श्रेष्ठको पीडा पनि पृथक छैन । र, भक्तपुरमा जति पनि खुल्न नसकेका सुमन, रमाकान्तहरू छन्, ती सबैको पीडामा समानता छ । जो जीवितै रहनकालागि र आफ्नो पुख्र्यौली थात थलो नछाड्नकालागि सङ्क्रमणभन्दा पनि ठूलो चिन्ता पालेर बसिरहेका छन् ।
एचआइभी सङ्क्रमितहरू समाजमा खुल्न नसक्नुका कारणमा भक्तपुरमा व्याप्त पुरानो विचारधारायुक्त समाज, लाञ्छना लगाउने प्रवृत्तिका साथै भेदभाव समेत रहेको भक्तपुरमा एचआइभीको क्षेत्रमा कामगर्दै आएको एकमात्र संस्था‘सुरुवातका समुदायमाआधारित हेरचाह कार्यक्रम’का समुदाय परिचालक गोविन्द कार्की बताउँछन् । उनका अनुसार भक्तपुर इतिहासका हिसावले जति पुरानो छ यस्ता सोच पाल्नेमा पनि त्यो भन्दाकम छैन ।
यो संस्थाका अनुसार सुइ मार्फत लागु पदार्थ लिनेमा एचआइभीको सङ्क्रमण जोखिम बढी छ । कार्कीका अनुसार हाल भक्तपुरमा सुरुवात मार्फत नियमित औषधि सेवन गर्नेको सङ्ख्या७२ छ । जसमध्ये ६० प्रतिशत भक्तपुर बाहिरका हुन् । भक्तपुरमा यस्ता सङ्क्रमित नभएका हैनन् तर समाजले थाहा पाउलान् भन्ने डरले उनीहरू भक्तपुरमा उपचार गराउन तयार हुन्नन् ।बरु काठमाडौँका विभिन्न महँगा अस्पताल धाउँछन् ।
हामी औषधि वितरण गर्छौँ तर अरूले थाहा पाउलान् भनेर उनीहरू नजिकैपाइने औषधिलिन पनि टाढा टाढा पुग्छन्’, कार्कीले बताए ‘भक्तपुरमा एकै परिवारका ३ जनासम्म सङ्क्रमित छन् ।’यदि उनीहरूको विषयमा समाजले थाहा भएमा सानानानीहरू विद्यालय जाने सम्म अवस्था हुँदैन । त्यहीकारण पनि उनीहरू रोग लुकाउन बाध्य छन् । कार्कीका अनुसार हाल भक्तपुरमा १३ बालबालिकामा एचआइभी सङ्क्रमण छ भने यसको सिकार हुनेमा एकल महिला बढी छन् ।
सुन्दै आङैसिरिङ्ग हुने वास्तविकता पनि उनले सुनाए भक्तपुरमा हाल दैनिक ५ सयभन्दा बढी सिरिन्ज लागुपदार्थ सेवनकर्ताले लैजाने गरेका छन् । सुरुवातको सर्भे अनुसार भक्तपुरमा हाल १२ सयभन्दा बढी लागुपदार्थ सेवनकर्ता छन् ।अझ यो संस्थाको सम्पर्कमै नआएका त झन् कति होलान् ? यसबाट पनि यहाँको लागु पदार्थ समस्या कति भयाबह छ भन्ने प्रस्टिन्छ ।
राष्ट्रिय एचआइभी एड्स महासङ्घका पूर्व अध्यक्ष राजेश दिदियाका अनुसार भक्तपुरमा एचआइभी एड्सको अवस्था दयनीय छ ।जहाँ एकै परिवारका २३ जनासम्मयसको सिकार छन् तर उनीहरू डरकै आहालमा पौडन बाध्यछन् । हाल विभिन्न सरुवा रोग मध्येपनि एचआइभीको क्षेत्रमा कामगर्ने ५ सयभन्दा बढी संस्था,स्वास्थ्य निकाय,प्रदेश, केन्द्रीय र स्थानीय सरकार भए पनि एचआइभी सङ्क्रमित भने समाजको डरमै पिल्सन बाध्य छन् । जुन एक्काइसौँ शताब्दीकालागि विडम्बना नै मान्नुपर्छ ।
हाल प्रदेश र स्थानीय सरकारको पहलको कमीले गर्दा पनि उनीहरू बाहिर निक्लन नसकेका उनको दाबी छ । भक्तपुरमा हाल सम्म एचआइभीसँग सम्बन्धित सिडी ४ परीक्षण गर्ने उपकरण छैन । अर्को विकराल समस्या भनेको भक्तपुरका सङ्क्रमित एआरटी लिन काठमाडौँ पुग्छन् । यसको मुख्यकारण भनेको स्थानीय स्तरमा लाग्न सक्ने लाञ्छना र स्थानीयतहको उदासीनता नै हो ।यसको समाधानकालागि स्थानीय सरकार एवं प्रदेश सरकारले उनीहरूका लागि जीवन उपयोगी कार्यक्रमहरू लागु गर्नुपर्ने उनको भनाइछ ।
भक्तपुरमा सन् २००३ मा न्यु एराले गरेकोएक सर्भे अनुसार सुइमार्फत लागु पदार्थ लिनेको प्रतिशत ६१ थियो । त्यसपछि सुरुवात नामक संस्थाले विभिन्न समयमा गरेको सर्भेले पनि ६० प्रतिशत भन्दामाथिको संख्यामा सुइमार्फत लागुपदार्थ लिनेको सङ्ख्या पाइएको छ ।
स्थिति यस्तो विकराल बनिसकेको छ तर विडम्बना,उनीहरू मध्ये कतिलाई के रोगको सङ्क्रमण छ भन्ने वास्तविकताबाट भक्तपुरका चारै नगरपालिका बेखबर छन् । समस्या यसर्थ पनि बढ्दो क्रममा छ । त्यसैले सङ्घीय सरकारमात्र हैन, स्थानीयतहहरू नै यसकालागि सजग भएमात्र एचआइभी सङ्क्रमितको समस्याले डाँडो काट्नेछ । साथै सङ्ख्या पनि न्यूनीकरणको यात्रामा लाग्नेछ ।