ट्रम्पमाथि महाभियोग लाग्ने हल्लाले बाजी थाप्नेको घुइँचो

482

ट्रम्प भन्छन्– मिडियाले मलाई जस्तो इतिहासमा कसैलाई खेदेका थिएनन्

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइन थालेको हल्ला चलेपछि अमेरिकाको अनलाइन बजारमा बाजी थाप्नेहरूको घुइँचो लागेको छ । बाजीमा निकै धेरै रकम थापिएको बताइन्छ । अनलाइन पोलिटिकल स्टक मार्केटका अनुसार, २०१७ मा ट्रम्पमाथि महाभियोग लगाइन सक्छ । यस कुरालाई लिएर गत मंगलबार राति अबेरसम्म सबैभन्दा धेरै ३० प्रतिशतसम्म बाजी थापिएको थियो ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसको भूमिकाबारे छानबिन गरिरहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईका निर्देशक जेम्स कोमीलाई अचानक पदबाट हटाएपछि ट्रम्प सबैतिरबाट आलोचित हुन थालेका छन् । त्यसो त उनका अन्य निर्णय पनि विवादित भैरहेका छन् र उनको कार्यशैलीलाई स्वयं उनकै पार्टीले पचाउन नसकिरहेको बताइन्छ । यो स्थितिमा ट्रम्पले आफ्नो पूरा कार्यकाल काम गर्न नसक्ने सम्भावना बढेर गएको बताइन्छ । भनिन्छ, परिस्थिति यसैगरी बिगिँदै गयो भने ट्रम्पले या त आफै पद छाड्नेछन् या महाभियोग लगाएर उनलाई हटाइनेछ । दुबै स्थितिमा विश्व राजनीति र आन्तरिक व्यवस्थापनमा समेत अमेरिका कमजोर हुनेछ ।

अहिले अमेरिकाका स्थानीय सञ्चार संस्थाहरूमा ट्रम्पलाई हटाइन लागेको कुरा व्यापक चर्चामा रहेको बताइन्छ । समाचारअनुसार उनी संलग्न रिपब्लिकन पार्टीका कतिपय व्यक्तिहरू पनि यही चाहन्छन् । यस स्थितिमा महाभियोग लगाएर अमेरिकी राष्ट्रपतिलाई हटाउने कुरा कत्तिको सहज छ त भन्ने चर्चा पनि चल्न थालेको छ ।

अमेरिकाको संविधानको सेक्सन ४ को आर्टिकल २ मा महाभियोगको प्रक्रियाबारे स्पष्ट बयान गरिएको छ । उक्त प्रावधानअनुसार कंग्रेसका एक तिहाई सदस्यहरूको समर्थन प्राप्त भएपछि राष्ट्रपतिलाई पदबाट हटाउन सकिन्छ । तर यसका लागि उनलाई राजद्रोह, घुसखोरी या अरू कुनै गम्भीर अपराध र दुराचारको महाभियोग लगाउनु पर्छ । अमेरिकामा राष्ट्रपतिमाथि महाभियोग लगाउनका लागि निकै बलियो कारण हुनुपर्छ  । आर्टिकल १, सेक्सन २ अनुसार हाउस अफ रिप्रिजेन्टिभमा मात्रै महाभियोग या आधिकारिक रूपमा आरोप लगाउने शक्ति छ । यसपछि मात्रै सिनेटमा छलफल हुन्छ ।

महाभियोगको प्रस्ताव पेस गरेर मात्र हुँदैन । आरोपका बारेमा अमेरिकी कंग्रेसले गम्भीरतापूर्वक छानबिन गर्छ र यसरी महाभियोग लगाउने पर्याप्त प्रमाण छन्, छैनन् भनेर केलाउने गर्छ । यसपछि मात्रै संसद्ले मतदानमार्फत अन्तिम निर्णय गर्छ ।

यदि यसो गर्दा सिनेटमा एक तिहाई भोट महाभियोगको पक्षमा पर्यो भने ट्रम्पमाथि महाभियोग लाग्न सक्छ । ट्रम्पका सम्बन्धमा यसो भने उनलाई तत्काल पदबाट हटाएर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई जिम्मेवारी दिइनेछ ।

महाभियोगबाहेक अमेरिकामा राष्ट्रपतिलाई पदबाट हटाउने एक अर्को तरिका पनि छ । संविधानको २५ औं संशोधनमा यसको व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार यदि उपराष्ट्रपति र मन्त्रिमण्डलका अन्य सदस्यहरूलाई राष्ट्रपति आफ्नो जिम्मेवारी पूरा अक्षम रहेको लाग्यो भने उनलाई हटाउन सकिन्छ  । यस्तो स्थितिमा कुनै अभियोग लाग्दैन, तर राष्ट्रपतिको कुर्सीचाहिँ खोसिन्छ ।

यसैबीच ट्रम्पले बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारमाध्यमले आफूप्रति गरेजस्तो नराम्रो व्यवहार इतिहासमा अरू कुनै राजनेताप्रति नगरेको आरोप लगाएका छन् । न्यु लन्डन कनेक्टिकटमा आयोजित अमेरिकी तटरक्षक बलको शुभारम्भ समारोहमा बोल्दै उनले भने, ‘‘हाल मसँग, विशेषगरी सञ्चारमाध्यमहरूले जस्तो व्यवहार गरे, इतिहासमा कुनै पनि राजनेतासँग त्यस्तो व्यवहार गरिएको थिएन । मैले पूरै जिम्मेवारीपूर्वक भनिरहेको छु, मप्रति निकै नराम्रो व्यवहार गरियो ।’’ उनले राष्ट्रपतिका रूपमा निकै थोरै समयमा आफूले राम्रो उपलब्धि प्राप्त गरेको दाबीसमेत गरे ।

उनले भने, ‘‘कहिल्यै पनि काम गर्नु सजिलो छैन । तपाईँको लडाइँ कहिल्यै अधिक सुसंगत हुँदैन र तपाईँले अधिक सशक्त विपक्षको सामना गर्नुपर्छ । त्यसैले कहिल्यै पनि हार नमान्नोस् । यसो गर्नुभयो भने तपाईँका विरोधीहरू झुक्नै पर्छ ।’’

उनले आफ्नो चयन वासिंगटनको कुनै सञ्चारमाध्यम या अरू कसैको विशेष हित पूर्ति गर्न नभएको बताए । उनले जोड दिएर भने, ‘‘म आफ्नो देशका सबैले बिर्सेका र उपेक्षा गरेका पुरुष र महिलाहरूको सेवा गर्नका लागि चुनिएको हुँ ।’’