एक वर्षमा ५५ अर्ब १४ करोडको सेयर निष्कासन अनुमति

412

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा विभिन्न ९७ संस्थाले अर्बौं रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पाएका छन् ।

धितोपत्र बोर्डले गतवर्ष साधारण सेयर (आईपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद गरी कुल ९७ संस्थालाई ५५ अर्ब १४ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति दिएको छ । यसमध्ये २१ संस्थाले ९ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबरको ५ करोड ४१ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।

यस्तै ७६ संस्थाले ४५ अर्ब ७४ करोड २४ लाख रुपैयाँ बराबर ४५ करोड ७४ लाख २४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।
गतवर्ष बोर्डले जलविद्युत, बिमा, बैंक तथा वित्तीय संस्थालाई आईपीओ एफपीओ र हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो । अनुमति पाएका अधिकांसले निष्कासन गरिसकेका छन् भने केहीले तयारी गरिरहेका छन् ।

गतवर्ष बैंक तथा वित्तीय संस्था, बिमा र जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पुँजी बढाउने हकप्रद निष्कासन गर्नका लागि बोर्डबाट स्वीकृति पाएका हुन । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने वाध्यकारी व्यवस्था ल्याएपछि संस्थाले हकप्रदलाई पुँजी वृद्धिको माध्यम बनाएका हुन् । यस्तै बिमा समितिले पनि बिमा कम्पनीको चुक्तापुँजी बढाउन निर्देशन दिएपछि उनीहरु पनि धमाधम चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

यता पुँजीबजारमा विभिन्न क्षेत्रका डेढ दर्जन कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । गत असार ३० गतेसम्म बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत गरी १८ कम्पनीले साधारण सेयर (आईपीओ) र थप सेयर निष्कासन (एफपीओ) निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । सेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत कम्पनी रहेका छन् ।

१८ कम्पनीले ५ करोड ६२ लाख ३ हजार ८५ कित्ता आईपीओ र एफपीओ निष्कासन गर्न लागेका हुन् । यी मध्ये ३ अर्ब २९ करोड १४ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख १४ हजार कित्ता आईपीओ र १ करोड ७० लाख कित्ता भन्दा बढी एफपीओ निष्कासनका लागि निवेदन परेको धितोपत्र बोर्डले जनाएको छ ।

३५ अर्बको बोनस सेयर सुचिकृत 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा र होटल गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ हजार रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार कित्ता सूचिकृत भएको बोर्डले जनाएको छ ।

अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर निष्कासन गरेका थिए । गतवर्ष कुनै पनि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई नगद लाभाँश दिएनन् ।

बैंक तथा वित्तीय संस्था बाहेक सोल्टी होटल्स लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनील लिमिटेडको नगद लाभाँश वितरण नगरेर बोनस सेयर निष्कासन गरेका थिए ।

४ सामूहिक लगानी परियोजना स्वीकृत

बोर्डले गत वर्ष विभिन्न ४ वटा सामूहिक लगानी परियोजना (म्युचल फन्ड) लाई स्वीकृत गरेको छ । बोर्डले ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ४२ करोड ५० लाख कित्ता म्युचल फण्ड परियोजना स्वीकृत गरेको हो । नविल इक्युटि फण्डलाई १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख एकाई, एनएमबी हाइब्रिड फन्ड एल १ लाई १ अर्ब रुपैयाँ बरोबरको १० करोड, एनआईबीएल प्रगति फन्डलाई ७५ करोड रुपैयाँको ७ करोड ५० लाख र लक्ष्मी इक्वीटी फन्डलाई १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख कित्ता स्वीकृत गरेको बोर्डले जनाएको छ ।बाह्रखरी