एकाएक यसरी चमक्कै चम्कियो सेयर बजार ४४.२२ अंकले बढेर १४३४.८० विन्दुमा

264

काठमाडौं : लामो समयको धैर्यतापछि अंग्रेजी नयाँ वर्षको दिन पुँजी बजारले लगानीकर्ताको मुहार चम्काइदिएको छ । निरन्तरजसो बजार घट्दा दिक्क भएका लगानीकर्ताको मुहारमा सोमबार चमक देखिएको हो ।

अस्वस्थ हिसाबले बैंक ब्याजदर बढ्दा बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । तर आइतबार बैंकरहरुले अब तत्कालका लागि साढे १२ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने भद्र सहमति गरेपछि त्यसको सीधा र सकारात्मक प्रभाव पुँजी बजारमा परेको हो ।

अब यो भन्दा माथि ब्याजदर जाँदैन भन्नेमा लगानीकर्ता ढुक्क देखिएका हुन् । तर बैंकहरुको भद्र सहमति कार्यान्वयन कसरी हुन्छ भनेर चाहिँ हेर्न बाँकी नै छ ।

गत वर्ष पनि बैंकहरुले यसरी नै सहमति गरेको भए पनि अन्तिम प्रहरमा गएर त्यसलाई तोडेका थिए ।

यद्दपि, बजारमा आएको यो एउटै भए पनि सकारात्मक खबरले लगानीकर्तालाई थोरै भए पनि राहत दिएको छ ।

यो सहमतिलाई बजार र लगानीकर्ताले सकारात्मक हिसाबले नै बुझ्नु उचित हुनेछ । सोमबार बजारमा हरियाली आउनुमा अल्पकालीन कारोबारीको पनि उत्तिकै हात छ ।

 बजार घटेका बेला सेयर किनेका यस्ता कारोबारीले अहिले नाफा सुरक्षित गर्ने मौका पाइरहेका छन् ।

अल्पकालीन कारोबारीले बजारलाई अनावश्यक तलमाथि हुनबाट जोगाउने भएकाले यस्तो बेला उनीहरुको कामले बजारमा सहयोग नै पुगेको बुझ्न सकिन्छ ।

यसबाहेक निरन्तर बजार तल झर्दा अधिकांश कम्पनीहरुको सेयर भाउ निकै सस्तो भएको छ । भाउ सस्तो भएकाले साना, नयाँ वा ठूला सबै खाले लगानीकर्तालाई सेयर किन्ने आँट पनि बढेको देखिन्छ ।

यसले पनि बजारलाई माथि लैजान सहयोग पुगेको हो । त्यसो त बजार निरन्तर घट्ने वा बढ्ने मात्र गरिरहँदैन ।

घटबढ बजारको नियम नै हो । हामीकहाँ अधिकांश लगानीकर्ताले बजार घट्दै जाँदा आत्तिएर बेच्ने गरेका छन् । अनि बढ्न थालेपछि किनिहाल्ने प्रवृत्ति हावी छ । तर पुँजी बजारमा धैर्यताको पनि महत्वपूर्ण स्थान हुने गर्छ ।

बेस्सरी बजार घटेका बेला सेयर जोगाउन सकेमा बढेका बेला बेच्ने अवसर प्राप्त हुन्छ । त्यस्तै, बढेका बेला बेच्दा नाफा सुरक्षित गर्ने मौका मिल्छ ।

पछिल्लो डेढ वर्षयता बजारमा अलि बढी नै उतारचढाव देखिएको छ । नेप्से १८८१ विन्दुमा पुगेर फर्किए यता अलि बढी अस्थिर देखिएको हो ।

समग्रमा बजार वियरिस ट्रेन्डमा भए पनि सूचक ठूलै अंकले तलमाथि गरिरहेको छ । यसबाट अल्पकालमा पनि कतिपयले राम्रै नाफा गरिरहेको अनुमान लगाउन सकिन्छ ।

बैंक र बिमा कम्पनीहरुको भारी मात्रामा पुँजी वृद्धि गरिएकाले बजारमा सेयर आपूर्ति अधिक छ ।

आपूर्ति धेरै भएकाले यसलाई व्यवस्थापन गर्ने दीगो संयन्त्र तय भएको छैन । यसैगरी, बेलामा देखाइने गरिएको तरलता अभाव अनि सूचीकृत कम्पनीहरुको नाफामा केही गिरावट आएका कारण पनि बजार प्रभावित बन्ने गरेको हो ।

नेप्से सूचक सोमबार ४४.२२ अंकले बढेर १४३४.८० विन्दुमा आइपुगेको छ । समग्रमा बजार ३.१८ प्रतिशतले बढेको हो ।

कुल ११ लाख ४१ हजार ४६३ कित्ता कारोबार भएका छन् । १६३ कम्पनीको ४९ लाख ८४ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । अन्य बाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ ।

सबैभन्दा धेरै बिमा समूहको सूचक २७०.८ अंकले बढेको छ । यसैगरी, होटेल समूहको सूचक १११.५७ अंक र वाणिज्य बैंक समूहमा ४२.५२ अंकले तेजी आएको छ ।

कारोबार रकममा स्टान्डर्ड चार्टर्ड बैंकले अग्रता लिएको छ । चार्टर्डको २ करोड ८८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

         कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी