‘हिमाली गोरेटो सुधारले पोषण र खाद्य सुरक्षामा सुधार ल्याउनसक्ने’

291

काठमाडौं ।
हिमाली क्षेत्रमा सडक र गोरेटोमा सुधार ल्याउँदा दुर्गम तथा ग्रामीण समुदायको खाद्य सुरक्षा र पोषणमा सुधार आउनसक्ने राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को एक अनुसन्धानले देखाएको छ । सो कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहकार्यमा हालै गरेको सो अनुसन्धान गरेको थियो ।

डब्लुएफपीले शुक्रबार सार्वजनिक गरेको “नेपालमा सडक तथा बजार पहुँच र घरपरिवार खाद्य सुरक्षा” शीर्षकको अनुसन्धान प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

सुधारिएको सडक तथा गोरेटो पूर्वाधारको घरपरिवार खाद्य सुरक्षामाथिको प्रभावबारे जनचेतना वृद्धि गर्नु अनुसन्धानको उद्धेश्य रहेको बताइन्छ । नेपालमा खाद्यन्न मुल्य, बजार एकीकरण र बाल पोषणको अवस्थामा सडक र पूर्वाधारको प्रभाव अध्ययनमाथि सो अनुसन्धान आधारित रहेको बताइएको छ ।

सो अध्ययनले ग्रामीण सडक, गोरेटो र पुलसहितका पूर्वाधारमा सुधार ल्याउँदा ग्रामीण हिमाली समुदायहरूका लागि जीविकोपार्जनका विविध अवसर उजागर हुने र खाद्य सुरक्षामा सुधार आउने पाएको छ ।

यसका साथै अध्ययनमा यो पनि पाइयोे कि जहाँ मानिसहरूको बजारमा पहुँच द्रुत र सहज हुन्छ, त्यहाँ घरपरिवारहरूले प्रमुख खाद्यान्न बाहेकका खानामा बढी पैसा खर्च गर्छन् र विविधतापूर्ण तथा पोषक खाना खाने हुँदा बालबालिकाहरूमा पुड्कोपनाको सम्भावना कम भएर जान्छ । सुधारिएको सडक र गोरेटोमार्फत समुदायहरूले मालसामानको ढुवानी गर्ने आफ्नो क्षमता बढाए र सामाजिक सेवा तथा बजारमा सहज पहुँच प्राप्त गरे ।

नेपालभरीका अधिकांश हिमाली समुदायले आफ्नो घरपरिवारको आवश्यकता केही महिनाका लागि पर्याप्त हुने भन्दा बढी उत्पादन गर्न सक्दैनन् । बोकेर या खच्चडको सहयोगमा ढुवानी गरिने खाद्यान्न त्यसको उत्पत्ति हुने ठाउँ तराईको तुलनामा तेब्बरभन्दा बढी मुल्य पर्न जान्छ । त्यसैले हिमाली समुदायका ६० प्रतिशतसम्म वालवालिकाले पर्याप्त पोषक खाना पाउँदैनन् र जीवनभर पुड्कोपना र न्यूनपोषणको असर बहन गर्दै बाँच्नुपर्ने अवस्था आश्चर्य होइन—डब्लुएफपीको नेपालस्थित राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भनीन ।

देशका ग्रामीण तथा पुग्न कठिन क्षेत्रहरूमा केन्द्रित हुँदै विभिन्न जिल्लामा सडक र गोरेटोहरूको सुधार गरी पहुँच विस्तार गर्ने कार्यमा डब्लुएफपी संलग्न हुँदै आएको छ । हाल सञ्चालित विभिन्न कार्यक्रमहरू मार्फत ४४५ किमी भन्दा बढी ग्रामीण सडक तथा गोरेटो निर्माण वा पुनस्र्थापित गरिएका छन्, जसले ग्रामीण समुदायहरूका लागि महत्वपूर्ण पहुँच स्थापित गर्ने काम गरेको छ । यी कार्यक्रमहरूका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी), दक्षिण कोरियाको सहयोग नियोग (कोइका) र अन्य साझेदारबाट सहयोग प्राप्त रहेको छ ।