काठमाडौं ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले चालु शैक्षिक सत्रदेखि नेपालमै पहिलोपल्ट स्नातकोत्तर तहको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम(Masters in Technical and Vocational Education and Training, MTVET) विषयमा अध्ययन शुरू गर्ने भएको छ ।
बदलिँदो परिवेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा देशमा विद्यमान समस्या र चुनौतीलाई समाधान गर्न सो कोर्ष दक्षिण एसियाकै स्नातकोत्तर तहमा नयाँ र नौलो शैक्षिक कार्यक्रम भएको विश्वविद्यालयले जनाएको छ ।
प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृध्दि गर्नुका साथै प्राविधिक क्षेत्रलाई सबल र सुदृढ बनाउन सहयोग पु–याउनु नयाँ शैक्षिक कार्यक्रमको लक्ष्य रहेको विश्वविद्यालयको शिक्षा संकायका डीन प्रा.डा.महेशनाथ पराजुलीले बताए । यसको लागि विश्वविद्यालयले अलग्गै पाठ्यक्रम बनाएको छ ।
देश संघीय संरचनामा गईसकेको वर्तमान अवस्थामा संघीय, प्रान्तीय र स्थानीय सरकारका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको महत्व बढी भएकोले काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।
विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा अध्ययन अनुसन्धान पनि गरिरहेको र सो क्षेत्रमा आवश्यक पर्ने स्तरीय नेतृत्व, व्यवस्थापक तथा शिक्षक उत्पादन गर्ने उद्देश्य रहेको बताइएको छ ।
अगष्ट २०१८ बाट शुरू गर्ने गरी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विषयमा स्नातकोत्तर तहको अध्ययन हुने र अध्ययनका लागि स्नातक तहमा कम्तिमा सि.जि.पि.ए.२ अंक ल्याउने सबैले आवेदन दिन पाउँनेछन् ।
देशका हरेक क्षेत्रमा अभाव भइरहेको कुशल जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ यसको अध्ययन शुरूवात भएको हो । दुईवर्ष अवधिको सो कोर्षमा एउटा प्राविधिक तथा व्यावसायिक शिक्षाको पठनपाठन र अर्को व्यवस्थापन तथा नेतृत्वमा आधारित गरि २ समूह रहने बताइएको छ ।
सो कोर्ष अध्ययन गरेपछि भविष्यमा आफ्नो वृत्ति विकासमा थप फलदायी हुने र प्राविधिक तथा व्यावसायिक क्षेत्रमा सो कोर्ष कोसेढुङ्गा सावित हुने अनुमान गरिएको छ ।
विश्वव्यापीकरणको आजको युगमा सो कोर्ष अन्तर्गत उत्पादित जनशक्ति तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी हुने साथै अन्य मुलुकहरुबाट समेत यस कार्यक्रममा विद्यार्थीहरु अध्ययनका लागि आउने जानकारी प्राप्त भएको छ ।
दुईवर्षमा चार सेमेष्टरमा अध्ययन हुने सो कोर्षको पठनपाठनका लागि विश्वविद्यालयसँग सहकार्य गरिरहेका स्वीजरल्याण्ड, चिली, कोस्टारिका लगायतका मुलुकबाट समेत सो शैक्षिक कार्यक्रममा सम्बन्धित विषयका विज्ञहरुले योगदान गर्ने कुरा समेत विश्वविद्यालयले जनाएको छ ।