कुलमानले रुँदै भनेः जनताको पैसा किन खानु ?, लोडसेडिङ गरेरै करोडौँ कमाउँथेँ

392

काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशको लोडसेडिङ अन्त्य अभियानलाई दिगो बनाउन सफा मनले एलइडी बल्ब किन्न लागेको बताएका छन् ।

करिब २ अर्ब ८ करोड रुपैयाँको एलइडी बल्ब खरिदमा ऊर्जामन्त्री जनार्दन शर्मासँग मिलेर करोडौँ अनियमितता गर्न खोजेको आरोप लागेपछि कार्यालयमै पत्रकार सम्मेलन गरेर यसो भनेका हुन् ।

‘नेपाली जनताको एक-दुई रुपैयाँ किन खानु ?’, कुलमानले रुँदै भने, ‘पैसा  नै खानु परेको भए दुई चार घन्टा लोडसेडिङ गरेर करोडौँ कमाउँथेँ ।’

कुलमानले देशमा रहेको लोडसेडिङको चरम समस्या हटाउन आफू र आफ्नो टिमले सफा मनले काम गरेको बताउँदै एलइडीमा पैसा खान लागेको आरोप लगाउँदा दुःख लागेको उल्लेख गरे ।

‘हामी सबैको प्रयासले देशलाई लोडसेडिङमुक्त बनाउन सकेका हौँ । लोडसेडिङ अन्त्य दीगो बनाइराख्न अझ धेरै गर्न बाँकी छ’, उनले भने, ‘हामीले कुनियतले काम गरेको होइनौँ, इमानी भएर काम गरेका छौँ । हामीले दायाँबायाँ गरेर काम गरेको भए लोडसेडिङ हट्ने पनि थिएन ।’

प्राधिकरणले एलइडी बल्ब सिधै भारत सरकारको कम्पनीबाट ल्याइने पनि उनले स्पष्ट पारेका छन् । ‘बजारको भन्दा दोब्बर सस्तोमा एलइडी बल्ब हामी किन्छौँ’, उनले भने, ‘
चीनको साधरण गुणस्तरवाला बल्बबाट पनि ठुलो ठगी भइरहेको छ । सरकारीस्तरबाट हुने खरिदमा नियत खराब भयो भन्नु अफबाह हो ।’

‘बजारको भन्दा दोब्बर सस्तोमा एलइडी बल्ब हामी किन्छौँ’, उनले भने, ‘चीनको साधरण गुणस्तरवाला बल्बबाट पनि ठुलो ठगी भइरहेको छ । सरकारीस्तरबाट हुने खरिदमा नियत खराब भयो भन्नु अफबाह हो ।’

उनले प्राधिकरणलाई एलइडी किन्ने पर्ने बाध्यता नरहेको बताउँदै तर अहिलेको लोडसेडिङ अन्त्य अभियानलाई सफल बनाउन तथा उपभोक्तालाई गुणस्तरीय बल्ब दिनका लागि यस्तो प्रयास गरिएको स्पष्ट पारे ।

‘हामीले किन्न लागेको एलइडी बल्बको रिप्लेसमेन्ट वारेन्टी तीन वर्षको छ । हामीले भारतीय सरकारी कम्पनीसँगै किन्ने हो’, उनले भने, ‘त्यो पनि मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै कार्यान्वयन हुन्छ ।’

आफूहरुले सफा नियतले ल्याएको यो कार्यक्रमलाई सञ्चारमाध्यमले अनेक अर्थ लगाएर पैसा खान लागेको आरोप लगाएकोमा पनि उनले चित्त दुखाए ।

‘एलइडी बल्बमा पैसा खान लागेको भन्ने आरोपलाई पनि सञ्चारमाध्यमले खण्डन गर्न सक्नुपर्छ’, उनले भने, ‘हाम्रो इमान्दार प्रयासलाई गलत हिसाबले हेर्नुहुन्छ भने भोलिको दिन कसरी काम हुन्छ ? यस्तै अवस्थाले नेपालमा काम गर्न गाह्रो छ ।’

कुलमानले लोडसेडिङ हटाउने आफूहरुको प्रयासमा असहयोग गर्ने हो भने काम गर्न गाह्रो हुने पनि स्पष्ट पारे ।

‘हामीले एकैचोटी लोडसेडिङ हटाउँदा इन्भर्टर र जेनेरेटरका व्यापारीलाई ठुलो चोट लागेको छ’, उनले भने, ‘हामीले पैसा कमाउन चाहेको भए लोडसेडिङ गरेरै व्यापारीबाट पनि उठाउन सक्थ्यौँ, हाम्रो इमानदार प्रयासलाई अन्य अर्थले नहेरिदिनु होला ।’

कार्यकारी निर्देशक घिसिङले अबको दुई वर्षभित्र माथिल्लो तामाकोशीसहितका ठुला आयोजना निर्माण सम्पन्न भएर देशको लोडसेडिङको समस्या सदाका लागि हट्ने पनि उल्लेख गरे ।