काठमाडौं– प्रतिनधिसभा तथा प्रदेशसभा चुनावको मतपरिणाम लगभग अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेसका ठूला नेताहरूले हार्नु यो निर्वाचनका लागि कुनै नौलो कुरा रहेन । किनकी विउको रुपमा केही नेताहरु जोगिएको भए पनि प्रत्यक्षतर्फको निर्वाचन परिणामले कांग्रेसलाई रसातलमै पुर्याइदिएको छ ।
यो बीचमा बलियो ठानिएको वाम गठबन्धनका दुई ठूला नेता पनि निर्वाचनमा नराम्रोसँग पछारिएका छन् । यी दुई नेता वाम गठबन्धनका ठूला नेताहरु मात्रै होइनन्, एमाले र माओवादीलाई मिलाएर वाम गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरू हुन् ।
संसदीय प्रणालीमा गएपछि देशमा दुई ठूला कम्युनिष्ट पार्टी नचाहिने भन्दै एमाले नेता वामदेव गौतमले माओवादी र एमाले एकिकरणको डिस्कोर्ष शरु गरेका थिए । अहिलेको वाम गठबन्धन बनाउन गौतमले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको एमाले नेताहरू बताउँछन् । तर निर्वाचन परिणाममा ७ सय ७ मत अन्तरले हार्दै एमाले नेता गौतम ब्याक भएका छन् ।
एमाले र माओवादी मिलाउने सवालमा अरु नेताको भूमिका शायदै गौतमसँग तुलना होला । धेरै वर्ष पहिले दुई पार्टीको एकिकरणको कुरा चलाएका उनी केपी ओली एमालेको नेतृत्वमा पुगेपछि पार्टी भित्र महत्वपूर्ण भूमिकामा थिए ।
अन्तत उनले ओलीलाई कन्भिन्स गरेर माओवादीसँग सहकार्यमा ल्याए । एमाले र माओवादीकै सहकार्यले गर्दा अहिले नेपाली कांग्रेसलाई रोक्न वामपन्थीहरु सफल भएका छन् । तर एमालेका हाइप्रोफाइल गौतमले बर्दिया क्षेत्र नम्बर एकबाट चुनाव हारेपछि वाम गठबन्धनमा तरंग उत्पन्न भएको छ ।
आफूलाई एमालेका तर्फबाट गौतमले प्रधानमन्त्रीको उम्मेदवार दावी समेत गरिरहेका थिए । ओली प्रधानमन्त्री भइसकेको अवस्थामा एमालेमा ओली गुटको सबैभन्दा सिनियर नेता आफू नै भएकोले प्रधानमन्त्री बन्न पाउनुपर्ने उनको चाहाना थियो ।
तर उनको यो यात्रामा कम्तिमा पाँच वर्षका लागि विश्राम लागेको छ । निर्वाचनमा जाँदै गर्दा माओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले ओलीलाई प्रधानमन्त्रीकै रुपमा अघि सारेका छन् । यद्यपी गौतमले प्रधानमन्त्री पद दावी गरिरहेका थिए ।
आइतवार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार गौतम पराजित भए ।
उनी भन्दा अघि माओवादी केन्द्रमा दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भएका छन् । प्रचण्डलाई ओलीसँग नजिक बनाउन कोशिश गर्ने श्रेष्ठले पनि आफ्ना पुराना दौंतरीसँग चुनाव हारेका छन् ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर दुईमा श्रेष्ठलाई पराजित गरेका छन् । वाम गठबन्धन बन्दै गर्दा भट्टराई पनि गठबन्धनमा आएका थिए । तर माओवादी नेता श्रेष्ठले गोरखा क्षेत्र नम्बर दुई बाबुरामलाई छोड्न चाहेनन् ।
आफूले जितिरहेको क्षेत्र नपाउने भएपछि बाबुराम गठबन्धनबाट बाहिरिए तर उनले गोरखा क्षेत्र नम्बर दुईमा नारायणकाजीलाई पराजित गरे । भट्टराईले श्रेष्ठलाई क्षेत्र नम्बर एकमा चुनाव उठ्न सुझाव दिएका थिए । जहाँ वाम गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । तर बाबुराम भट्टराईसँग पंगा लिन चाहेका श्रेष्ठ एक नम्बर क्षेत्रमा गएनन् । अन्तत उनले पनि चुनाव हारेका छन् ।
यसरी वाम गठबन्धनका मुख्य दुई शुत्रधारकर्ताले चुनाव हारेका छन् । योसँगै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यी दुई ठूला नेता व्यवस्थापन गर्नका लागि सजिलो भएको समेत नेताहरुले विश्लेषण गर्न थालेका छन् ।
अब निर्वाचन हारेका श्रेष्ठलाई प्रचण्डले दोस्रो बरियताका नेता भएपनि सहजै व्यवस्थापन गर्ने अनुमान गरिएको छ । त्यस्तै एमाले भित्र आफ्नो गुटमा मुख्य व्यक्ति भएपनि ओलीले गौतमलाई व्यवस्थापन गर्ने नेताहरु बताउँछन् । पछिल्लो समय गौतमले ओलीसँग आफूले पनि लाभको पद पाउनुपर्ने वार्गेनिङ गरिरहेका थिए । lokantar