काठमाडौं । आफ्नो रोग पहिचानका लागि र डट्स प्लसको उपचारको लागि दिनहूँ दुईसयको हाराहारीमा विरामीहरु राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, भक्तपुर धाउने गर्छन । तर आइतबारदेखि त्यहाँ धाएका विरामीहरुको सास्ती कसले सम्वोधन गर्ने ? जवकि केन्द्रका प्रमुखदेखि प्रशासनका आधाजसो र नर्सि¨ कर्मचारीहरु चितवनको सौराहा र वुटवलको रमझममा व्यस्त छन ।
अधिकाँश कर्मचारी गयल हुँदा विरामीलाई मर्का परेको कुरा स्वास्थ्य मन्त्रालयमा गुनासो परेपछि सोमबार मन्त्रालयले यसबारे छानवीन शुरु गरेको छ । मन्त्रालयले समयमै चासो नदिँदा केन्द्रमा हुनेगरेका अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीबारे आफ्नो कार्यकाल सकिनै लाग्दा स्वास्थ्यमन्त्री दिपक वोहोराले यसबारे चासो दिएका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट रहेको केन्द्रमा कर्मचारीहरु विभिन्न शिर्षकमा त्यहाँको बजेट कसरी सक्ने भनेर अनुगमन र सुपरिवेक्षणको नाँऊमा भ्रमण आदेश बनाएर पटकपटक विभिन्न जिल्ला चहारिराखेका छन् ।
केन्द्रमा हुने गरेका आर्थिक अनियमितताका कारण सन् २०१५ देखि शुरु गरि २०१८ सम्म सक्नुपर्ने क्षयरोगको प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्वे) ३ वर्षपछि अर्थात २०१८ जनवरीदेखि मात्रै शुरु हुन लागेको हो । तीनवर्षको अवधिमा सर्भेक्षणको नाउँमा करोडौ रुपैयाँ आर्थिक अनियमितिता भएपछि राष्ट्रिय सर्तकर्ता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रमा छुट्टाछुट्टै अनुसन्धान गरिराखेको छ ।
सो सर्भेक्षणको लागि आवश्यक तालीम दिने भन्दै सो केन्द्रका प्रमुख डा.केदार नरसिंह केसी, वरिष्ठ छातीरोग विशेषज्ञ डा.मोहन प्रसाई, खरीद शाखाका उपसचिव अनिल थापा, लेखा शाखाका उपसचिव नारायणप्रसाद दाहाल, प्रशासन शाखाकी अधिकृतद्वय रिता खतिवडा र नमुना कार्की दाहाललगायत यतिखेर सौराहामा छन् । प्रशासनका अधिकृत घुम्न पाइने र भत्ताको लोभमा सौराहा गएपछि केन्द्रको प्रशासन नासु भक्तराम आचार्यले हेरिराखेका छन भने केन्द्रमा चिकित्सक नहुँदा हेल्थ असिस्टेण्टले धेरै विरामी जाँच्दै आएका छन् ।
यसैगरि पव्लिक हेल्थ नर्स कमला वाग्ले, यशोदा राजभण्डारीलगायतको केन्द्रको अर्काे समुह सोही प्रयोजनको लागि भन्दै वुटवलमा पुगेको छ । क्षेत्रीय क्षयकुष्ठ अधिकृत (आरटिएलओ) र जिल्ला क्षयकुष्ठ अधिकृत (डिटिएलओ) लाई सहभागी बनाइएको भनिएको सो तालीम राष्ट्रिय क्षयरोग केन्द्रमा रहेका सुविधासम्पन्न सभाहलमा आयोजना नगरि सौराहाको महंगो होटेलमा आयोजना गरिएको हो ।
होटेलमा तालीम सञ्चालन गर्दा कमिशन लगायत अन्य कमाई पनि हुने भएकोले त्यता तालीम आयोजना गरिएको केन्द्रका असन्तुष्ट कर्मचारी बताउँछन । तर यसबारे केन्द्रका निर्देशक डा.केसी भने सहभागीहरुको सजिलोको लागि तालीम बुटवल र सौराहामा गरेको दावी गर्छन ।
आर्थिक अनियमितताकै कारण केन्द्रका यसअघिका निर्देशक डा.विकास लामिछानेलाई मन्त्रालयले अन्यत्र सारेको थियो भने ज्वाँई गगन थापा स्वास्थमन्त्री भएपछि डा.केसी केन्द्रको निर्देशक बनेका थिए ।
गत भदौं ९ को मन्त्रीस्तरको निर्णय अनुसार डा.केसीलाई सिराहा जिल्ला अस्पतालको मेडिकल सुपरिण्टेण्टको रुपमा नियुक्त गरिएतापनि उनी एकदिन पनि सो अस्पतालमा हाजीर नभई राष्ट्रिय क्षयरोग केन्द्रमा काम गर्दै आएका छन ।