कविताः एउटा परदेशीको कथा

22

 

? प्रकाश तजले

१. पुत्रमोहले उचाई छुँदा

त्यसमाथि सहारा र कूलकै चिन्ताले छोप्दा

३३ कोटी देवता भाकेर, ३३ किलो लड्डू चढाएपछि

भगवान खुशी भएका थिए रे !

अनिमात्र बाबाले म अर्थात् वारिस पाएका थिए रे !

कति दिन त बुवाको खुट्टा भुईँमा थिएन रे !

जेहोस्, बुवा निक्कै खुशी थिए रे !

 

२. तर देशले युवा लखेटेका बेला

त्यसमाथि सरकार मरेको देशमा

बुवाको खुशी मात्र कसरी दीर्घायु हुन्थे र ?

आफुसँगै राख्ने सपना कसरी साकार हुन्थे र ?

 

३. बुवा-आमाको भरोसा, परिवारको जिम्मेवारी

लाला-बालाका सपनाका भारी

पिठ्यूँमा बोकी,

म पनि पुगेँ- रेगिस्तानको त्यो देशमा ।

 

४. रेगिस्तानको ताता हावा बहिरहने त्यो भुमिमा

भेँडाका बथान चराउँदै गर्दा

एक्कासी फोनको घण्टी बज्छ ।

सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन्-

“बाबा दशैँ आयो, घर कहिले आउनुहुन्छ?”

म झसङ्ग हुन्छु,

ए ! दशैँ पो आएछ ।

 

५. के गर्नु?

हरेक साल नानीबाबुहरुको मनमा

उमङ्ग लिएर आउने दशैँ,

विचरा, आमाबुवाको सामु भने

बहिखाता लिएर आउँछ दशैँ ।

अबोध सानीलाई चाँडै आउने बचन बाहेक

जवाफमा मसँग के पो थियो र?

 

 

६. यस्तैगरी ८-१० दिनअघि,

जतिबेला मालिक कड्किएका थिए मसँग

कोर्रा बर्सिएका थिए बेजोडसँग ।

मेरा आहतका चिच्याहतलाई पनि

दबाएर फोनको घण्टी बजेथ्यो ।

बंगालको खाडीबाट मिसनमा हिँडेको वायुले

वर्षाको रुप लियो रे !

र बाढीको कहर बर्स्यो रे !

घर र एक जोडा गाई पनि बगायो रे !

अझ पिडा – आमा त अझै बेपत्ता छिन रे !

हिराले हिरा काट्छ सुनेको थिएँ,

साँचै त्यहाँ पिडाले पिडा खाएथ्यो ।

कोर्राको चोट पनि फिक्का लागेथ्यो ।

 

७. देशमा कहिले जनताको सरकार हुने हो?

डोजरे विकास र अव्यवस्थित योजना कहिले हट्ने हो?

युवाको श्रम परदेशमा बेच्न कहिले रोकिने हो?

 

८. युवाको पौरख र मेहनतको पसिनाले मात्र

देशमा ईन्द्रेणी खुल्छ ।

अध्ययन र निश्चित योजनाले मात्र

विकासको मूल फुटाउँछ ।

अनिमात्र भावी पुस्ता दङ्ग हुनेछ ।

सारा युवाले परिवारसँग देशैमा रमाउनेछ ।

सबैले वास्तविक दशैँ मनाउँनेछ ।

यति चेतना नेतृत्वमा कहिले आउने हो?

 

२१ असोज २०८१

भक्तपुर ।