इँटाभट्टामा कार्यरत १५ वर्षमुनिका २७ जनाको उद्दार

400

भक्तपुर जिल्लाका विभिन्न इँटाभट्टामा कार्यरत १५ वर्षमुनिका बाल श्रमिकको उद्धार गरिएको छ । जिल्ला बाल कल्याण समितिको नेतृत्वमा बाल विकास समाजको सहयोगमा विभिन्न सङ्घ संस्थाको टोलीसहित गएको इँटाभट्टाको अनुगमनका क्रममा भेटिएका बाल श्रमिकको उद्धार गरिएको हो ।
जिल्ला बाल कल्याण समिति, महिला बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, महानगरीय प्रहरी परिसर भक्तपुर, जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, चाँगुनारायण नगरपालिका बाल संरक्षण समिति, बाल विकास समाज र सञ्चारकर्मीको टोलीले गरेको अनुगमनमा अधिकांश इँटाभट्टामा बाल श्रमिकको प्रयोग गरेको पाइएको थियो ।

टोलीले चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा रहेका इँटाभट्टाको अनुगमन गरेको थियो । टोलीले यहाँको जेपी, त्रिपुरा सुन्दरीलगायतका पाँच वटा भट्टाको अनुगमन गरेको थियो ।

टोलीले दाङ धनवरी–१ घर भई हाल दुवाकोटको जेवी इँटाभट्टामा कार्यरत वर्ष १३ का विवेक राणा, रोल्पा घर भई सोही इँटाभट्टामा काम गर्ने वर्ष १४ का लोकेन्द्र विष्ट र रोल्पा घर्तीगाउँ घर भई सोही इँटाभट्टामा काम गर्दै आएको वर्ष १२ का डिप्लव घर्तीको उद्धार गरेको छ ।
उद्धारकै क्रममा रोल्पा गुम्चाका ११ वर्षका देवेन्द्र रोक्का, रोल्पा कै १३ वर्षका अर्जुन केसी भने शौचालय जाने बाहनामा भागेका छन् । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका सल्लाहकारसमेत रहेका प्रकाशराम जाकीबञ्जारले सञ्चालन गरेको उक्त इँटाभट्टामा अत्याधिक रुपमा बाल श्रमिकको प्रयोग भएको पाइएको छ । अनुगमनका क्रममा भेटिएका अधिकांश बालबालिकाले आफ्नो उमेर ढाटेर १६ वर्ष भन्ने गरेको पाइएको छ । कम उमेरका बालबालिकाले पनि उमेर बढाएर भन्ने गरेका छन् ।

इँटाभट्टामा आउने बालबालिकामध्ये धेरैजसो बालबालिकालाई नाइकेले नै फकाएर ल्याउने गरेको, केहीलाई परिवारले पठाउने गरेको, केही आफन्त र परिवारसँग आउने गरेको तथा कोही गरिबीका कारण भागेर आउने गरेको पाइएको छ ।
बालबालिकालाई श्रममा लगाउने इँटाभट्टा सञ्चालकलाई कारबाहीका लागि श्रम कार्यालयलाई जानकारी गराई आवश्यक कारबाही अगाडि बढाउने जिल्ला बाल कल्याण समितिका सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख निला घिमिरेले जानकारी गराइन् ।

उद्धार गरेको बालबालिकालाई बाल विकास समाजले आफ्नो संरक्षणमा राखेर परिवारसँग पुनर्मिलन गराउने बाल विकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बताए। उनले उद्धार गरेको बाल बालिकालाई लुगाको व्यवस्था गरी खान बस्ने सुविधा दिएर राख्ने र सम्बन्धित जिल्लाको बाल कल्याण समितिको रोहबरमा परिवारको जिम्मा लगाउने बताए । उद्धार गरिएका बाल बालिकाले इँटाभट्टामा गरेका कामको पारिश्रमिकसमेत परिवारलाई दिलाइ दिने भएको छ । यस वर्ष मात्रै भक्तपुर जिल्लाका विभिन्न इँटाभट्टाबाट २७ जना बालबालिकाको उद्धार गरेको छ ।