बुधवार शेयर बजारमा सुधार

574

काठमाडौं । बुधवार शेयर बजारमा सुधार देखिएको छ । अघिल्लो दुई दिनमा ३५ दशमलव १५ अङ्कले घटेको बजार बुधवार भने १३ दशमलव ६८ अङ्क बढेको छ । पहिलो १ घण्टा ३० मिनेटसम्म ओरालो लागेको बजार त्यसपछि भने बढ्न थालेको थियो । बजेटमा पूँजीबजारबारे केही पनि नयाँ व्यवस्थाहरु घोषणा नभएपछि मङ्गलवार निराश भएका लगानीकर्ताहरु यस दिन भने सम्हालिएको देखिन्छ । मध्यान्तरमा न्यून विन्दुमा झरेको बजारमा खरीदकर्ताहरुको चाप बढेपछि शेयर बजार उकालो लागेको एक ब्रोकरले बताए । मधेशी दलहरुको आन्दोलन स्थगित हुने भन्ने खबरले पनि बजार प्रभावित भएको उनको भनाई छ ।

बुधवार शेयर बजार १ हजार ६ सय ८ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ । यो परिसूचक अघिल्लो व्यापार दिनको तुलनामा शून्य दशमलव ८६ प्रतिशत बढेको हो । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७८ प्रतिशत बढेर ३ सय ४१ दशमलव २७ अङ्क पुगेको छ । कारोबार रकम न्यून प्रतिशत घटेर रू. ६७ करोड ९३ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ अर्ब ८३ करोड बढेर रू. १८ खर्ब ८१ अर्ब पुगेको छ । यस दिन १ सय १० कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, २३ कम्पनीको शेयर मूल्य घट्यो र ११ कम्पनी स्थिर रहेको हो ।

ग्रीन डेभलपमेण्ट बैङ्कको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस बैङ्कले १ बराबर ४ अनुपातको हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । साथै, मिर्मिरे माइक्राफाइनान्स डेभलपमेण्ट बैङ्क, हिमालयन डिस्टिलरी, कर्णाली डेभलपमेण्ट बैङ्क र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य करीब १० प्रतिशत बढेको छ । मिर्मिरे माइक्राफाइनान्स डेभलपमेण्ट बैङ्कको ५० प्रतिशत हकप्रद शेयरलाई धितोपत्र बोर्डले वैशाख ६ गते स्वीकृति दिएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू. ५ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । यस वाणिज्य बैङ्कको शेयर मूल्य स्थिर रहेर अन्तिम मूल्य रू. २ हजार १ सय ९० मा सिमित रहेको छ । यस बैङ्कको ७ सय ४५ पटकको व्यापारमा २४ हजार ९ सय ७९ कित्ता शेयर किनबेच भएको हो । साथै, बैङ्क अफ काठमाडौं, प्रभु बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, सिद्धार्थ बैङ्क, प्राइम कमर्शियल बैङ्क र एनएमबी बैङ्कको रू. १ करोड ६२ लाखदेखि रू. २ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको हो । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत बढेको छ ।
त्यस्तै, बीमा समूहको परिसूचक १ दशमलव ४३ प्रतिशतले बढेको छ । हिमालयन जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको रू. १ करोड ५२ लाखदेखि रू. २ करोड ४९ लाख बराबरको कारोबार भएको हो । ‘अन्य’ समूहको परिसूचक १ दशमलव २२ प्रतिशत र विकास बैङ्कको १ दशमलव शून्य ८ प्रतिशत बढेको छ । साथै, होटल समूह र जलविद्युत समूहको परिसूचक शून्य दशमलव ८९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव १७ प्रतिशत बढेको हो । बोटलर्स नेपाल (तराई) को शेयर मूल्य घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशत घटेको छ ।

सो दिन १ सय ४४ कम्पनीको ६ हजार ४ सय ७ पटकको व्यापारबाट ११ लाख ५३ हजार ४ सय ९४ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४४ दशमलव ८२ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो ४ दशमलव ७८ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।