तयार भयो नवदुर्गा देवगणको मुकुण्डो

159

लक्ष्मी गारू, भक्तपुर । भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ७७ वर्षिय पुर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ वटा ख्वापा तयार गर्नुभएको हो ।
तयार भएको ख्वापालाई बडादशैको महानवमी साँझ याछें स्थित पुर्ण चित्रकारको घरमा स्थानीयलाई दर्शनको लागि प्रदर्शनीमा राख्छ । यसरी राखिएको ख्वापालाई देवगण बन्ने गाथा (वनमाला) समूहले परम्परागत पुजासहित लिन आउने परम्परा रहेको छ ।
प्रत्येक वर्ष नयाँ बनाउनु पर्ने ख्वापा तयार नभए नवदुर्गा नाच समेत प्रभावित हुन्छ । विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त नगरे भक्तपुरको बडादशैं अपुर्ण हुने र यसले भक्तपुर नगरका साथै उपत्यकाको विभिन्न स्थानको साँस्कृतिक जीवन समेत प्रभावित हुने संस्कृतिविदहरुको भनाई छ । ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ ।
मुकुण्डो यसरी बनाइन्छ
नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’ भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ । सुकाएको माटोलाई धूलो पार्नेगरी कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ । मुछिएको माटोलाई डल्ला डल्ला बनाई राखिन्छ । डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाएर ख्वापा बनाउने कार्य शुरु हुने पुर्ण चित्रकारले बताउनुभयो । “बनाइसकेको ख्वापा घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ । एउटा मुकुण्डो सुकाउन कम्तिमा दुई हप्ता लाग्छ,” चित्रकाले भन्नुभयो ।
ख्वापा बनाउन बोचासहित विभिन्न किसिमका ढुङगाबाट बनेको रङ्ग, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामाग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदार पाउन निकै मुस्किल हुने चित्रकार बताउनुभयो ।


तन्त्र प्रधान र गोप्य विधि
नवदुर्गा देवगणको नाच मात्र होईन यसको ख्वापा निर्माणदेखी सिद्ध प्राप्तीसम्मको कार्यमा समेत तान्त्रिक विधि विधान अनुरुप पुजा गर्ने परम्परा छ । शुभ साइत हेरेर ल्याएको ख्वापा बनाउने माटोलाई समेत थप साइतमा बाजागाजासहितको टोलीले पुजा गर्नुपर्ने परम्परा रहेको छ ।
तन्त्र विद्या प्रधान नाच नाच्ने भएकाले ख्वापा निर्माण गरेको दृष्य जो कोहीले हेर्न नहुने चित्रकार बताउँछन । ख्वापालाई अन्तिम रुप दिने क्रमका केही शिप गोप्य राखी परिवारलाई समेत थाहा नदिई आफुसँग मात्र राख्नुपर्ने चित्रकारले बताउनुभयो । काका विष्णुबहादुर चित्रकारबाट गोप्य तरिकाले शिप प्राप्त गरेका चित्रकारले गोपनियताका लागि केही वर्षसम्म सञ्चारकर्मीहरुलाई समेत तस्विर खिच्न मनाही गरेको बताउनुभयो । “समय अनुसार अहिले केही खुकुलो बनाउँदै लगेको छु खास शिप आफुसँग राखेर अरु धेरै कुरा खुल्ला गरेको छु,” उहाँले भन्नुभयो “धेरै गोप्य बनाउँदा ख्वापा बनाउने कार्य र जात्रा नै संकटमा पर्नसक्ने भएकाले केही खुकुलो बनाएको हुँ”।


२५ लाखको अक्षय कोष
यो वर्ष नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यसवर्ष करिव साढे तीन लाख खर्च भएको पुर्ण चित्रकारले जानकारी दिनुभयो । ख्वापा तयार गर्न सबैभन्दा बढी कालिगढको ज्यालामा नै खर्च हुने गरेको र यसको रंगरोगनमा पनि उत्तिकै खर्च हुने गरेको उहाँले बताउनुभयो ।
खर्च व्यवस्थापनको लागि पुर्णले २०३६ सालदेखी अनेक समस्या झेल्दै आएको बताउँछन । उहाँका अनुसार २०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक ६ सय चार रुपैयाँ सहयोग गरेको थियो । त्यो रकम बढेर २०४५ सालमा ५ हजार, २०६८ सालदेखी १५ हजार दिन थालेको छ । यो वर्ष ७० हजार दिएको छ । त्यसैगरी केही वर्षदेखी संस्कृति मन्त्रालयले वार्षिक ५० हजार दिन थालेको छ । नपुग अन्य रकम सहयोगी आफन्त साथीभाईसँग सहयोग लिनेगरेको उहाँले बताउनुभयो ।
ख्वापा निर्माणको खर्च जोहो गर्न अक्षय कोष समेत स्थापना गरिएको छ । कोषमा २५ लाख नगद जम्मा भइसकेको छ ।
मानविय जीवनमा गरिने सबै संस्कार र भावप्रधानयुक्त नवदुर्गा नाच
नवदुर्गा नाच तान्त्रिक विधिविधान मात्र नभएर मानविय जीवनमा गरिने सबै संस्कार र भावप्रधानयुक्त नाच हो । जसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्धारा संवाद प्रस्तुत गरिन्छ । नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ ।
नवदुर्गा नाचले मल्लकालिन समयको संयुक्त परिवारलाई इंगित गर्ने ईतिहासविद एवम् संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । प्रा. डा.श्रेष्ठका अनुसार समाजमा घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना देवगण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउने देखि निस्कासित गर्ने सम्मको कार्यभार सम्भालछ । नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश नवदुर्गा देवगण नाचले दिने गरेको प्रा. डा. श्रेष्ठको भनाई छ ।
मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमध्ये १३ जना देवी देवताहरु हुन्छ । नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः(महालक्ष्मी को प्रतिक) हो । यो नाचमा देवगणले भैरव(कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । नवदुर्गा देवगणमा १३ मुकुण्डो, खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ ।